कञ्चनपुर । १३ औं गणतन्त्र दिवस कञ्चनपुरमा फरक कार्यक्रमको आयोजना गरी मनाइएको छ । कञ्चनपुरको गड्डाचौकीमा राष्ट्रिय झण्डा फहराइएको हो । १३ औं गणतन्त्र दिवसको अवसर पारी नेपाल प्रवेशको पश्चिमी सीमा नाका नजिकै रहेको गड्डाचौकीमा ७७ फिटको स्तम्भमा नेपाली झण्डा फहराइएको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले जानकारी दिनुभयो । नेपाल र नेपालीको पहिचानका लागि भीमदत्त नगरपालिकाले पश्चिमी सीमा नाका नजिकै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाको प्रमुख आतिथ्यतामा झण्डोत्तोलन गरिएको हो । झण्डोत्तोलन पछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी खतिवडाले पश्चिमी नाकामा राखिएको झण्डाले राष्ट्रको प्रतिनिधित्व गरेको बताउनु भयो ।
कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले पश्चिमी नाकामा फहराएको झण्डाबाट नेपाल र नेपालीको पहिचानलाई विश्वभर थप बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कोरोना भाइरसको महामारीका कारण १३ औं गणतन्त्र दिवस विशेष कार्यक्रमलाई सामान्य रुपमा मनाइएको उल्लेख गर्दै नगर प्रमुख विष्टले सो कार्यक्रमबाट देशभर भावानात्मक एकताको सन्देश प्रवाह भएको दाबी गर्नुभयो । नगर प्रमुख विष्टले नाकामा झण्डा फहराउन वडा कार्यालय सहित विभिन्न क्षेत्रका सरोकारवालाको सहयोग रहेको बताउनु भयो । भीमदत्त नगरपालिकामा गत वर्षदेखि झण्डा फहराउने कार्य सुरु गरिएको थियो । नगरपालिकाले झण्डासंगै पार्क निर्माण गर्ने योजना समेत बनाएको छ ।
गणतन्त्र दिवसको शुभकामना दिदैं नगर प्रमुख विष्टले कोरोना महामारी तेस्रो विश्वयुद्ध भन्दा पनि खतरनाक देखिएकाले सबैले एकजुट भएर सामना गर्नु पर्नेमा जोड दिनु भयो । ‘अहिले कोरोना जित्नु एक साथ जान आवश्यक छ, तेस्रो विश्वयुद्ध भन्दा पनि बढी यसको जोखिम छ’ नगर प्रमुख विष्टले भन्नु भयो ।’ नगर प्रमुख विष्टले दार्चुलाका अतिक्रमित लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितका सबै भूमि सम्मानपूवर्क फिर्ता हुनु पर्नेमा जोड दिनु भयो । भीमदत्त नगरपालिकाका नगर उप प्रमुख सुशिला चन्द सिहले कार्यक्रम स्वागत मन्तव्य राख्दै पश्चिमी नाकामा राष्ट्रिय झण्डा फहरिन सबैका लागि गौरब भएको बताउनु भयो । ‘आज ऐतिहासिक दिनमा झण्डा फहराइएको छ, झण्डा फहराउन सान र गौरबको कुरा हो’ नगर उप प्रमुख चन्दले भन्नु भयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मुकुन्द मरासिनी, सशस्त्र प्रहरी उपरीक्षक बिर बहादुर शाहु, सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्यय, भीनपा १८ का अध्यक्ष एवम् नगर प्रवक्ता हिमाल बहादुर चन्द, कार्यपालिका सदस्य गीता ओली, भीनपाका प्रमु्ख प्रशासकीय अधिकृत पुस्कर प्रसाद भट्ट लगायत जनप्रतिनिधि, सुरक्षाकर्मी, स्थानीय सहभागी भएका छन् । भारतमा अंंग्रेजहरुले आफ्नो शासन कालामा सन् सन् १९२० मा महाकाली नदीमा शारदा बाँध बनाएपछि पश्चिमी नाका प्रयोगमा आएको हो ।