हरिश चन्द्र बाग, कञ्चनपुर, २३ फागुन । संघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले कञ्चनपुरको डोकेबजार देखि बेलौरी - बेलडाँडी हुँदै दैजीसम्म जोड्ने निर्माणाधीन हुलाकी सडकखण्डको स्थलगत अनुगमन गरेको छ । उक्त समितिको मुख्य कार्यक्षेत्रको रुपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, शहरी विकास मन्त्रालय, राष्ट्रिय पुननिर्माण प्राधिकरण र यी अन्तर्गतका विभाग तथा कार्यालयहरु रहेका छन् । प्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री, सञ्चार तथा सूचना प्रविधि मन्त्री, खानेपानी मन्त्री, शहरी विकास मन्त्री यस समितिको पदेन सदस्य रहने कानुनी व्यवस्था रहेको छ । पदेन सदस्य बाहेक २७ जना प्रतिनिधि सभा सदस्यहरु समितिमा रहनु भएको छ ।
समितिका सभापति कल्याणी खड्का नेतृत्वको उक्त टोलीले बिहीबार साँझ हुलाकी सडकखण्डको स्थलगत अनुगमन गर्नुका साथै समसामयिक विषयवस्तुमा सरोकारवाला पक्षसंग छलफल पनि गरेको बताइएको छ । उक्त टोलीमा समितिका सदस्यहरू गौरीशंकर चौधरी, यज्ञराज सुनुवार र आशा कुमारी विक, सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठान सिंह बोहरा, संविधान सभा सदस्य गरिमा शाह, उच्च स्तरीय प्रशासन सुधारका अध्यक्ष काशी राज दाहाल, पूर्वाधार विज्ञ आशिष गजुरेल, विकास समिति सचिवालयका प्रताप खड्का र धिरेन्द्र बस्नेत, हुलाकी सडक धनगढीका इन्जिनियर पदम बहादुर मडै सहितको सहभागिता रहेको थियो ।
टोलीले कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा विविध विषयवस्तुमा गहन छलफल समेत गरेको थियो । उक्त छलफलमा बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्री, उपाध्यक्ष कमला देवी कार्की, पाँचवटै वडाका वडाध्यक्ष लगायत सरोकारवालाहरूले हुलाकी सडकखण्ड सहित अन्य खडकखण्डको अवस्था, भौतिक पूर्वाधारको अवस्था, सञ्चार सुविधा, यहाँका नागरिकहरूको जीवनशैली, यहाँको भौगोलिक परिस्थिति, अहिलेका काम, कर्तव्य र परिणाम तथा प्रदेश तथा संघीय सरकारसंग गरिएको मागको बारेमा समितिलाई अवगत गराइएको छ ।
त्यसअघि कञ्चनपुरकै बेलौरीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का क्षेत्रीय संयोजक पल्लव राज भट्ट, नेकपा बेलौरी नगर अध्यक्ष बाबुराम न्यौपाने, सचिव हर्क भुल, बेलौरी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष रतन बहादुर शाही सहितका प्रतिनिधिहरूले पनि उक्त टोली संग समसामयिक विषयवस्तुमा संक्षिप्त छलफल गरेको थियो । बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी, उपप्रमुख चित्र कुमारी चौधरी सहितका जनप्रतिनिधि काम विशेषले बाहिर रहनु भएका कारण टोली संघ भेटघाट हुन नसकेको नेकपाका क्षेत्रीय संयोजक पल्लव राज भट्टले जानकारी दिनुभयो ।