सरकारले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले माघ २ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिनुभयो । “आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले विमान दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ, दिवङ्गतप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ, निधन भएका व्यक्तिका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ”, उहाँले भन्नुभयो, “शोकपूर्ण घटनाका सन्दर्भमा भोलि माघ २ गते शोक मनाउने र एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।”
विमान दुर्घटनामा परेर ज्यान गुमाउनेहरूको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको गण्डकी मेडिकल कलेज (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा सनाखत गर्न थालिएको छ । विमानमा रहेका यात्रीका आफन्त तथा परिवारका सदस्यलाई देखाएर शवको सनाखत गर्न लागिएको अस्पताल प्रशासनले जनाएको छ । सेती खोचमा खसेको विमानबाट ३२ वटा शव निकालेर अस्पताल पुर्याएको छ । आफन्तको खोजीमा आएकाहरुको अस्पतालमा भीड छ । परिवारका सदस्य र आफन्तको शोकमा धेरै जना ब्याकुल देखिन्छन् । शवको सनाखत गरेका आफन्तहरु झनै शोकमा छन् ।