स्थानीय खबर सहयात्री, बेलौरी- कञ्चनपुर, १० कार्तिक । राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशको आयोजना एवं बेलौरी नगरपालिकाको समन्वयमा कञ्चनपुर जिल्लामा महिला तथा बालबालिकाको मानव अधिकारको अवस्था सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम बेलौरी नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा बेलौरी नगरपालिका भित्रका विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधि, जनप्रतिनिधि, आमा समूह, एकल महिला समूह, रेडक्रस, बाल सञ्जालका प्रतिनिधिहरूको उल्लेख्य उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिमका प्रमुख मोहनदेव जोशीको सभापतित्वमा भएको सो कार्यक्रममा बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी प्रमुख अतिथि रहनु भएको थियो भने उपप्रमुख चित्र कुमारी चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र कुमार चौधरीको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा अहिले महिला एवं बालबालिकाहरू विभिन्न हिंसा जस्तै घरेलु हिंसा, बाल विवाह, दुर्व्यसन आदिबाट समाजमा नकारात्मक असर परिरहेको र सो को निराकरण गर्नुपर्नेमा सबैले जोड दिनुभयो ।
बेलौरी नगरपालिका महिला तथा बालबालिका शाखाले अहिले बेलौरी नगरपालिका भित्र ४४ वटा महिला समिति गठन गरेको र सो समिति भित्र पनि ५ देखि ७ सदस्यीय निगरानी समूह रहेको शाखा प्रमुख विमला बजगाईँले बताउनु भयो । पीडितलाई न्याय दिन नगरपालिका भित्र सेवा केन्द्रको स्थापना हुनुपर्नेमा उहाँले जोड दिनुभयो । यस्तै न्यायिक समितिले नेपालको संविधानको धारा २१७ अनुसार काम गरिरहेको र हिंसा सम्बन्धी जनचेतना कार्यक्रम गाउँ गाउँसम्म लैजानु पर्ने उहाँको भनाइ छ ।
प्रमुख अतिथि नगर प्रमुख पोतिलाल चौधरीले यो सबै समस्या श्रम शोषण घरेलु हिंसा आदि सबै खाले हिंसा अन्त्य गर्न नगरपालिका सदैव तयार रहेको र विभिन्न पहल समेत गरिरहेको जानकारी गराउनु भयो । उहाँले भन्नुभयो, “हामी सबैको कर्तव्य हो जब हामी आआफ्नो ठाउँबाट पहल गर्दैनौँ, तबसम्म यस्ता हिंसा अन्त्य नहुने र सबै खाले हिंसा अन्त्य गर्न सबै एक भएर लाग्नु पर्ने देखिन्छ ।” नगर प्रमुख चौधरीले छिट्टै बेलौरीमा सेवा केन्द्र स्थापना गर्न पहल गर्ने समेत बताउनु भएको छ । उक्त एक दिने अन्तरक्रियाको सहजीकरण सुदूरपश्चिम प्रदेश मानव अधिकारकर्मी प्रकृति सिंहले गर्नु भएको थियो ।