हरिश्चन्द्र बाग, कञ्चनपुर, ३० जेठ । स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत जिल्ला समन्वय समिति कञ्चनपुरमा निर्वाचित प्रतिनिधिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । जिल्ला समन्वय समिति कञ्चनपुरमा निर्विरोध निर्वाचित प्रमुख दुर्गादत्त बोहरा, उपप्रमुख रामकुमारी राना तथा सदस्यहरू जयसिंह बिष्ट, रामसिंह भण्डारी, मोहन महता, अन्जुदेवी राना, लीला चौधरी, चन्द्रवती थापा र विमला कुमारी सार्कीलाई सोमबार आधिकारिक रूपमा निर्वाचित भएको प्रमाण पत्र दिई पद तथा गोपनीयताको शपथ र पदभार ग्रहण समेत गराइएको मुख्य निर्वाचन अधिकृत मदन बहादुर धामीले जानकारी दिनुभयो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको कार्य तालिका अनुसार जेठ २५ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने समयावधिमा नेपाली काँग्रेसका तर्फबाट मात्रै मनोनयन दर्ता भएपछि आवश्यक प्रक्रिया पूरा गरी उहाँहरूलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो । यसैबिच, जिल्ला समन्वय समिति कञ्चनपुरको सभा हलमा सोमबार दिउँसो समन्वय समितिका सबै पदाधिकारी, ९ वटै पालिकाहरूका प्रमुख-उपप्रमुखहरू, प्रमुख जिल्ला अधिकारी सहित कर्मचारीहरू तथा सबै सुरक्षा अधिकारीहरूको उपस्थितिमा स्वागत तथा परिचयात्मक कार्यक्रम गरिएको छ ।