हरिश चन्द्र बाग, कञ्चनपुर, १२ फागुन । कञ्चनपुरको बेलडाँडीमा सोमबार कञ्चनपुर खबर साप्ताहिक पत्रिकाको बिमोचन गरिएको छ । बेलडाँडी गाउपालिकाको सभाहलमा आयोजित उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका प्रमुख सचेतक तारा लामा तामाङले पत्रिकाको बिमोचन गर्नुभएको हो । सोही कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पत्रकारिता जगतलाई व्यवस्थित र मर्यादित बनाएर लैजानु पर्नेमा जोड दिनुभयो । साथै उहाँले मिडियालाई सबै पक्षबाट उत्तिकै सहयोग गरेर जोगाउन सके मात्र पत्रिकाले दीर्घजीवन पाउने उल्लेख गर्नुभयो ।
त्यस्तै, कार्यक्रममा बेलडाँडी गाउपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीले सञ्चारमाध्यम संग गाउँपालिका सहकार्य गरेर अगाडी बढ्ने बताउँदै हरेक विकास र परिवर्तनका सवालमा आफ्नो जोड रहने दाबी गर्नुभयो । सोही कार्यक्रममा सम्बोधन गर्दै गाउँपालिकाका उपाध्यक्ष कमला कार्कीले यस भेगमा भएका समस्याहरुलाई उत्थान गरेर राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरसम्म पुगाउन र सत्यतथ्यमा आधारित भएर निष्पक्ष रुपबाट कलम चलाउन आग्रह गर्दै पत्रिकाको प्रगतिको शुभकामना व्यक्त गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कञ्चनपुरका जिल्ला सदस्य एवं संघीय निर्वाचन क्षेत्र नम्बर १ का क्षेत्रीय संयोजक पल्लब राज भट्टले छापा सञ्चारमाध्यमको प्रयोग दैनिक रुपमा कम हुँदै गएकोले समयसापेक्ष अनुरुप परिवर्तन गर्दै लैजानुपर्ने सुझाव दिनुभयो । उहाँले पछिल्लो समय विश्व डिजिटलाजेशन भइरहेको हुँदा समयानुसार परिवर्तन आवश्यक रहेको औँल्याउनु भयो । त्यस्तै, नेपाली कांग्रेस कञ्चनपुरका जिल्ला सदस्य जनक धामी लगायतले पत्रिकाको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा बेलडाँडीका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख एवं प्रतिनिधि, विद्यालयहरुका प्रधानाध्यापक तथा प्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार लगायतको सहभागिता रहेको थियो । कञ्चनपुर खबर साप्ताहिक पत्रिकाका संरक्षक इन्द्र दत्त भट्टको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य पत्रिकाका कार्यकारी सम्पादक रमेश प्रसाद भट्टले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन मान बहादुर चन्दले गर्नु भएको थियो ।