कञ्चनपुर, ०६ असार । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा कोभिड १९ महामारीको बेलामा प्रभावित समुदायहरूको लागि पुनरुत्थान (रिकोभर) परियोजना अन्तर्गत गरिएका कार्यहरूको अनुगमन तथा समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ । कृष्णपुर नगरपालिका अन्तर्गत रहेका स्वास्थ्य संस्थालाई अति आवश्यक परेको ठाउँमा परियोजनाले कोभिड १९ जस्ता महामारी तथा भविष्यमा आउन सक्ने महामारीबाट बच्न सहयोग गरेको थियो ।
कृष्णपुर नगरपालिकाको वडा नं १, ४ र ५ मा सो कार्यक्रम सञ्चालनमा रहेको बताइएको छ । पालिकाका ३०२ जना कृषकहरूलाई कृषि बिउ विजन र स्प्रे ट्याङ्की वितरण, ४० जना आप्रवासीहरूलाई मागमा आधारित सामानहरू सहयोग र वडा नं. १ मा ६३, ४ मा ६१, ५ मा ८९ जना गरी जम्मा २१६ जनालाई स्वास्थ्य बिमा सहयोग गरिएको परियोजना संयोजक विनोद सिंह कडाराले जानकारी दिनुभयो । हालसम्म ३६ जनालाई सुनौलो न्यानो माया विपन्न सीमान्तकृत परिवारलाई सहयोग गरिएको छ ।
फिल्ड अवलोकन कार्यक्रममा कृष्णपुर नगरपालिकाका नगर उपप्रमुख द्रोपति राना, स्वास्थ्य शाखाका सिर्जना शाह, वडा नं. ५ का अध्यक्ष टेक पाण्डे, सूचना अधिकारी प्रेम बोगटी, महिला तथा बालबालिका शाखाका चन्द्रकला तिमिल्सेना, पशु शाखाका किरण थापा, कृषि शाखाका दिल बहादुर चौधरी लगायतको उपस्थिति रहेको थियो । रिकोभर कार्यक्रम एलडब्लुआरको प्राविधिक तथा आर्थिक सहयोग र निड्स नेपालको सहकार्यमा कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका, कृष्णपुर नगरपालिका र पुनर्वास नगरपालिकामा सञ्चालित छ ।
