हरिश चन्द्र बाग, कञ्चनपुर, २१ मंसिर । कञ्चनपुरको कलुवापुर - बेलौरी सडकखण्ड कालोपत्रेको काम शुरूवात गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार तथा योजना मन्त्री पठान सिंह बोहरा र प्रदेश सभा सदस्य लाल बहादुर खड्काले शनिबार संयुक्त रूपमा रिबन काटेर कालोपत्रेको काम थालनी गर्नुभएको हो ।
यसै क्रममा मन्त्री बोहराले यथाशीघ्र सडक कालोपत्रे गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । उहाँले काममा फेरि पनि ढिलासुस्ती गरे कार्वाहीको भागेदार हुनुपर्ने चेतावनी दिनुभएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेश सभा सदस्य लाल बहादुर खड्काले म्याद सकिएको लामो समयसम्म पनि काममा चाँसो नदेखाएकोले तत्काल म्याद थप गर्न नहुने बताउनु भयो । निर्माण कम्पनीले कामलाई तीब्रता दिएमा मात्रै म्याद थप गर्ने बारे सोच्न सकिने उहाँको जिकिर छ ।
सडक निर्माण कम्पनी सन्तोषी–थेगिम जेभी कैलालीले सम्झौता सकिएको झण्डै १५ महिना पछि सडक कालोपत्रे गर्न तदारुकता देखाएको छ । २७.५ किलोमिटर मध्ये तत्काललाई कलुवापुरको जंगल देखि करीब ११.५ किलोमिटर दक्षिण तिर कालोपत्रे गर्ने योजनामा निर्माण कम्पनी छ । त्यस्तै आउँदो बैशाख सम्म पूरै सडक कालोपत्रे गरिसक्ने निर्माण कम्पनीले जनाएको छ ।
संघीय सरकारले तीन वर्ष पहिले ठेक्का दिएको सडकखण्ड एकाएक गतवर्ष प्रदेश सरकारलाई हस्तान्तरण गरिएपछि उक्त सडकखण्ड निर्माणको कार्य अलपत्र अवस्थामा रहेको थियोे । केन्द्रले दिएको ठेक्का अवधि नसकिँदै बिना बजेट उक्त सडकखण्ड प्रदेश सरकारलाई हस्तान्तरण गरिएको प्रति यहाँका जनता आक्रोशित बन्दै आएका छन् ।
प्रदेश सरकारले समेत चालुआर्थिक वर्षको बजेटमा बेलौरी–कलुवापुर–नाइल–बुडर सडकखण्ड नाम दिई प्रदेशको गौरवको योजनामा राखेपनि जम्मा तीन करोड मात्रै बजेट विनियोजन गरेको छ । झण्डै चार दशकदेखि कालोपत्रेको पर्खाइमा रहेको कलुवापुर-बेलौरी सडकखण्ड निर्माणमा बारम्बार यहाँका नेताहरुले चुनावी नारा बनाएर जनतालाई झुक्क्याउने र ठेकेदारले समेत बेलाबेलामा सडक निर्माण गर्छु भन्दै प्रतिबद्धता जनाएर सर्वसाधारणलाई ठग्ने कार्य गर्ने गरेको प्रति स्थानीयले आक्रोश पोख्दै आएका छन् ।
कलुवापुर–बेलौरी सडकखण्ड कालोपत्रेका लागि वि.सं. २०७३ भदौ १७ गते सन्तोषी थेगिम जेभि, कैलाली नामको निमार्ण कम्पनीसंग वि.सं.२०७५ भदौ १५ गतेसम्म कालोपत्रे गरिसक्नु पर्ने ठेक्का सम्झौता भएको थियो । भ्याट बाहेक १६ करोड ११ लाख सम्झौता रकम रहेको उक्त सडकखण्ड ७.५ मीटर चौडाई रहनुपर्ने र ५.५ मीटर चौडाई कालोपत्रे गरिनुपर्ने उल्लेख छ ।
पूर्वपश्चिम राजमार्गसँग दक्षिणी क्षेत्र जोड्ने जम्मा २७.५ किलोमिटर लम्बाई रहेको उक्त महत्वपूर्ण सडकखण्ड स्तरोन्नती नहुँदा यहाँका नागरिक कष्टकर यात्रा गर्न बाध्य छन् । हिउँदमा धुलाम्य र वर्षातमा हिलाम्य हुने उक्त सडकखण्डका कारण उनीहरुको दैनिकीमा नै नराम्रो असर परिरहेको छ ।