हरिश्चन्द्र बाग, कञ्चनपुर, २३ पुस । कञ्चनपुर उद्योग वाणिज्य सङ्घले सुदूरपश्चिम प्रदेश सरकार समक्ष विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको छ । सङ्घको टोलीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मान बहादुर धामी, आर्थिक मामिला मन्त्री तारा लामा तामाङ र सामाजिक विकास मन्त्री लाल बहादुर खड्का, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनीता देवी चौधरी, राज्यमन्त्री मान बहादुर सुनारसँग भेटघाट गरी ज्ञापन पत्र बुझाएको सङ्घका अध्यक्ष जङ्ग बहादुर मल्लले बताउनु भयो ।

भारतसँग जोडिएका सीमा नाका व्यवस्थित तथा क्वारेनटाइन स्थापना, प्रदेशको पर्यटन प्रवर्द्धन, कोरोनाले व्यावसायिक क्षेत्रमा पारेको प्रभाव, राहतका कार्यक्रम, नाकामा सहज आवागमन, मझगाउँ विमानस्थल सञ्चालन लगायतका विषयमा मन्त्रीहरूसँग छलफल गरिएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष मल्लले जानकारी दिनुभयो ।
