हरिश्चन्द्र बाग, कञ्चनपुर, १८ असार । कञ्चनपुरको बेलौरी नगरपालिकालाई साक्षर नगर घोषणाको तयारी भइरहेको छ । सोही अभियान अन्तर्गत शनिबार मात्रै पनि बेलौरीका ४ वटा वडाहरूलाई साक्षर वडा घोषणा गरिएको छ । बेलौरी नगरपालिका वडा नम्बर ३, ४, ६ र ७ लाई शनिबार भिन्नाभिन्नै कार्यक्रम गरी साक्षर वडा घोषणा गरिएको बताइएको छ । नवयुग सामुदायिक सिकाइ केन्द्रले वडा नम्बर ३ र ४ लाई साक्षर वडा घोषणा गरेको नवयुगका अध्यक्ष पल्लवराज भट्टले बताउनु भयो । उहाँका अनुसार, बेलौरी नगरपालिका र नवयुग सामुदायिक सिकाइ केन्द्र बेलौरीको साझेदारीमा वडा नम्बर १ देखि ४ सम्म सञ्चालित साक्षरता अभियान अन्तर्गत बेलौरी नगरपालिका वडा नम्बर १ मा ९५.५७ प्रतिशत, वडा नम्बर २ मा ९६.८९ प्रतिशत, वडा नम्बर ३ मा ९६.८१ प्रतिशत र वडा नम्बर ४ मा ९७.३३ प्रतिशत जनसङ्ख्या साक्षर रहेको छ ।
वडा नम्बर ५ देखि ७ सम्म साक्षरता अभियान सञ्चालन गरिरहेको सूर्योदय सामुदायिक सिकाइ केन्द्रले बेलौरी नगरपालिका वडा नम्बर ६ र ७ लाई शनिबार नै साक्षर वडा घोषणा गरेको छ । आइतबार वडा नम्बर ५ लाई समेत साक्षर वडा घोषणा गर्ने योजना रहेको सूर्योदय सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष हरेन्द्र सिंह बिष्टले जानकारी दिनुभयो । वडा नम्बर ८ देखि १० सम्म साक्षरता अभियान सञ्चालन गरिरहेको सम्झौता सामुदायिक सिकाइ केन्द्रले सोमबार साक्षर वडा घोषणा गर्ने सम्झौताका अध्यक्ष राजेन्द्र सिंहले जानकारी दिनुभयो । प्राप्त जानकारी अनुसार समग्र बेलौरी नगरपालिका भित्र ९५ प्रतिशत भन्दा बढी जनसङ्ख्या साक्षर रहेको छ ।
नवयुग सामुदायिक सिकाइ केन्द्र र वडा नम्बर ३ को आयोजनाका शनिबार वडा कार्यालय खिरियामा आयोजित साक्षर वडा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै बेलौरी नगरपालिकाका नगर प्रमुख पोती लाल चौधरीले यसै असार अन्तिम साता बेलौरी नगरपालिकालाई नै साक्षर नगर घोषणाको तयारी भइरहेको बताउनु भयो । १५ वर्षदेखि ६० वर्ष उमेर समूहको ९५ प्रतिशत भन्दा बढी जनसङ्ख्या साक्षर भएसँगै साक्षर घोषणा गर्ने अभियान थालिएको र केही दिनमै बेलौरी नगरपालिकालाई समेत साक्षर पालिका घोषणा गरिने उहाँको भनाइ छ । नगर क्षेत्र भित्रका निरक्षर नागरिकलाई समेत साक्षर बनाउन बेलौरी नगरपालिकाले नयाँ रणनीतिक योजना बनाइरहेको नगर प्रमुख चौधरीले उद्घोष गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले निरक्षर नागरिकहरूलाई साक्षर बनाउन सोही परिवारका साक्षर व्यक्तिहरूलाई उत्प्रेरित गर्न सकिने धारणा राख्नुभयो । पालिकाबाट आवश्यक सामग्री उपलब्ध गराई सोही घरपरिवारका साक्षर व्यक्तिहरूको सहयोगमा निरक्षरलाई साक्षर बनाउने अभियान थालनी गर्न कार्य योजना बनाउने उहाँको भनाइ छ । साक्षर पालिका भएसँगै बेलौरी नगरपालिकाको सूचकाङ्कमा समेत थप सुधार आउने र यसले धेरै कोणबाट सहयोग पुग्ने भएकोले साक्षरता दर बढाउन अभियानकै रूपमा अग्रसर हुनुपर्ने उहाँले आवश्यकता औँल्याउनु भयो ।
कार्यक्रममा ज्येष्ठ नागरिक फुल चरण चौधरी र शिक्षक केदार भण्डारीले साक्षरता अभियान र यसको आगामी योजनाका विषयमा आफ्ना धारणा सहित सुझाव दिनुभयो । बेलौरी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष सिताराम रिजालले साक्षर वडा घोषणा गर्ने बेलासम्म आआफ्नो क्षेत्रबाट सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले आगामी दिनमा समेत थप कार्य योजना बनाई साक्षर हुन बाँकी नागरिकलाई समेत साक्षर बनाउने अभियान थालिने बताउनु भयो । स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, शिक्षक, अभिभावक, कर्मचारी, समाजसेवी र पत्रकार लगायतको उपस्थितिमा साक्षर वडा घोषणा कार्यक्रम गरिएको हो ।