विकास सिंह महता, कञ्चनपुर, १० फागुन । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा फुटबल खेल्न सुरुवात गरेका धीरेन्द्र शाहले आफ्नो सङ्घर्षका साथ सहिद स्मारक 'बि' डिभिजन लिग -२०७८ को यात्रालाई कायम राख्न सफल भएका छन् । बेलडाँडी गाउँपालिका वडा नम्बर ५ झिलमिला घर भएका १९ वर्षीय शाहले ग्रामीण क्षेत्रका स्थानीय क्लब, जिल्ला, प्रदेश हुँदै निरन्तर फुटबल प्रतिको लगावले काठमाडौँको टुसाल युवा क्लबबाट सहिद स्मारक 'बि' डिभिजन लिग -२०७८ का लागि छनोट भएका छन् । उनी टुसाल युवा क्लबबाट अग्रपङ्क्ति (स्टाइगर) को भूमिकामा देखिने छन् ।

ग्रामीण क्षेत्रमा रहेको हिमसागर युवा क्लबबाट आफ्नो फुटबल खेल सुरुवात गरेका शाहले स्थानीय स्तरका विभिन्न प्रतियोगितामा क्लबलाई च्याम्पियन बनाई सकेका छन् । निरन्तर खेलकुद प्रतिको लगनशीलताले उनले जिल्ला लिग, प्रदेश लिग र विद्यालय स्तरीय क्युक्स कप राष्ट्रिय फुटबल प्रतियोगिता समेत खेलिसकेको शाहले बताए । उनले भने, 'एउटा स्थानीय क्लब, जिल्ला स्तरीय प्रतियोगितामा आफूले सिकेका कुरालाई आत्मसात् गर्दै 'बि' डिभिजनका लागि छनोट हुँदा धेरै खुसी रहेको र अझै आगामी यात्रामा सङ्घर्ष गर्नु पर्ने देखिन्छ । मेरो अबको लक्ष्य भनेको क्लब र आफ्ना लागि उत्कृष्ट प्रदर्शन गर्दै नेपालको टिम देखि खेल्ने ठुलो धोको रहेको छ । आफूलाई साथ सहयोग गर्नु हुने अग्रजलाई धन्यवाद समेत दिन्छु ।'

बेलडाँडी गाउँपालिका खेलाडी उत्पादनका लागि जिल्लामा एक नम्बरमा परिचित हुँदा समेत पालिकामा कुनै खेलमैदान नहुँदा खेलाडीले सास्ती पोख्नु परेको छ । यस्तो दुःख, कष्ट र अभावका बाबजुद पनि खेलाडीले आफ्नो क्षेत्रलाई जिल्ला, प्रदेश हुँदै केन्द्रीय स्तरमा समेत चिनाउन सफल भएका छन् । बेलडाँडी गाउँपालिका क्षेत्रमै राष्ट्रिय स्तरको 'बि' डिभिजन लिग फुटबल प्रतियोगिता खेल्ने शाह पहिले नम्बरमा परेका छन् । अखिल नेपाल फुटबल सङ्घको आयोजनामा फागुन १८ गतेदेखि सञ्चालन हुने लिग चैत्र महिनाको २७ गतेसम्म चल्ने बताइएको छ ।