हरिश्चन्द्र बाग, कञ्चनपुर, १६ पुस । कञ्चनपुरको बेलौरीमा चोरी डकैती तथा लुटपाट गर्ने भारतीय एक गिरोहका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पछिल्लो केही समययता रातिको समयमा नेपाल प्रवेश गरेर चोरी, डकैती र लुटपाटमा सक्रिय गिरोहका मध्ये तीन जना भारतीयहरूलाई शुक्रबार राति र शनिबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । भारतको लखिमपुर खिरी जिल्लाको मिलौली बस्ने ३२ वर्षीय राजु ईन्द्रिसी, सोही ठाउँ बस्ने २७ वर्षीय मुजिवा बञ्जारा र पलिया हसिम राना गाउँ बस्ने ४२ वर्षीय यसप अलीलाई प्रहरीले पक्राउ गरेको हो ।
बेलौरी नगरपालिका वडा नम्बर १ फटियामा लुटपाट गर्न आएको उक्त गिरोहलाई स्थानीय र सुरक्षाकर्मीहरूले घेराबन्दीमा पारेका थिए । लुटेराहरूको गिरोह गए राति पनि लुटपाट गर्न गाउँ पसेपछि स्थानीयहरू एकजुट भएर घेराबन्दीमा पारेको र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई खबर गरेको स्थानीय गजेन्द्र पन्तले बताउनु भयो । लुटेराहरू गाउँ पसेको गाउँलेहरूले थाहा पाएपछि उखुबारी भित्र लुकेर बसेका लुटेराहरूलाई एक थान पेस्तोल र त्यसमा प्रयोग हुने सात थान गोली सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिनुभयो ।
यस अघि यही पुस ६ गतेको मध्यरातमा बेलौरी नगरपालिका वडा नम्बर १ फटिया स्थित राजेन्द्र भट्टको घरमा पनि लुटपाट भएको थियो । भट्टको घरबाट तीन लाख बिस हजार नगद सहित सुनको औँठी, कानको बाली, नाकको नथिया गरी करिब दुई तोला बराबर सुनका गरगहना लगायत दुई किलोग्राम घ्यू समेत चोरी भएको थियो । लुटपाटमा संलग्न रहेको आशङ्कामा दुई जना शङ्कास्पद व्यक्तिहरूलाई यसअघि नै नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । चोरीमा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक भण्डारीले बताउनु भयो । सोही समयमा बेलौरी नगरपालिका वडा नम्बर ४ बुटावारी बस्ने ६५ वर्षीय दयाराम सुनारको घरबाट अज्ञात व्यक्तिले २२ हजार मूल्य पर्ने सिँचाइ मोटर र फलामको पाइप चोरी गरी लगेको थियो । माटोले चिनाई गरेको घरको भित्ता फोडेर चोरी गरी उक्त सामान लगेको पीडित सुनारको भनाइ छ ।
त्यस्तै यही पुस ११ गते राति मात्रै पनि बेलौरी नगरपालिका वडा नम्बर २ बैजुडाँडाका दुइटा घरमा पनि उक्त समूहले लुटपाट गरेको थियो । मध्यरातमा हतियार सहित गाउँ पसेको लुटेराहरूको समूहले बैजुडाँडाका प्रेमनाथ चौधरी र मनोज चौधरीको घरबाट डेढ लाख नगद रुपैयाँ, सुनका गरगहना, मोबाइल सहितका सामग्री लुटपाट गरेको पीडित परिवारलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक भण्डारीले जानकारी दिनुभयो । लुटेराहरूले लगेको मोबाइल सेट भने नजिकैको उखुबारीमा फेला परेको थियोे ।