हरिश्चन्द्र बाग, कञ्चनपुर, ०३ माघ । नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली सीमा समस्या समाधान लगायतका विषयमा छलफल गर्न भारत भ्रमणमा रहेकै बेला कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० सडकघाटमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अर्को बखेडा झिकेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० को सडकघाट संगै जोडिएको दशगजा क्षेत्रमा आवागमन गर्न रोक लगाएको छ ।
सीमा स्तम्भ नम्बर ३५ आसपासको क्षेत्रमा एसएसबीले आवागमन गर्न नदिएपछि नेपाली र भारतीय दुवै तर्फका किसानहरुले लगाएको उखु, तोरी सहितका अन्नबाली खेतमै सुक्न लागेको छ । केही दिन पहिले भारतीय एसएसबीले कञ्चनपुरको बेलौरी १० स्थित दशगजामै अस्थाई पोष्ट स्थापना गरेपछि नेपाली पक्षले हटाउन लगाएको रिसको झोकमा विस्तारवाद नीति लागु गर्न दादागिरी शैलीमा भारतीय पक्षले दशगजा क्षेत्रमा नेपाली पक्षलाई आवागमन गर्न रोक लगाएको हो ।
दुवै देशका नागरिकहरुले विगत चार दशक देखि प्रयोग गर्दै आएको सडकमा एकाएक भारतीय एसएसबीले अवरोध गरेपछि किसानले लगाएको उखु, तोरी लगायतका अन्नबाली खेतमै सुक्न थालेका छन् । सीमा नजिकै खेतीपाती गर्ने किसानहरु समेत त्रासमा रहेका हुन्छन् । यो क्षेत्रमा भारतीय पक्षले लागू गर्न खोजेको स्ट्रीप नक्सामा भने नेपाली भूमि झन्डै १५० मिटर दक्षिण भारततिर पर्ने देखिएको छ ।
नेपाली र भारतीय दुवै पक्षले सोही बाटो प्रयोग गर्दै आएको भएपनि भारतीय एसएसबीले एकाएक मानवता बिर्सिएको किसानहरुको गुनासो छ । दुवै देशबीच सिमांकन बारे भएको सम्झौता अनुसार सीमा विवादको अन्तिम टुंगो नलागुन्जेलसम्म जुन रुपमा प्रयोग भएको छ, त्यही रुपमा प्रयोग गरी राख्ने भनिएको छ । सीमानामा “नो मेन्स लेण्ड“ को यकिन नभएको बेला हालसम्म दुवै पक्षले प्रयोग गर्दै आएको बाटोमा अवरोध सृजना गर्नु भारतीय पक्षको पुर्वाग्रहपूर्ण र हेपाहा प्रवृती भएको अन्तर्राष्ट्रिय सीमा सरोकार समिति कञ्चनपुरका संयोजक पल्लब राज भट्टको भनाइ छ ।
कानुनी रूपले दशगजा क्षेत्रको सडक दुवै देशले उपभोग गर्न नपाउने भएपनि व्यावहारिक रूपमा दुवै देशका नागरिकले विगत लामो समयदेखि प्रयोग गर्दै आएको हुँदा दशगजा क्षेत्रको सडक प्रयोगको विषयमा विवाद आएको हो । सीमा क्षेत्रमा यस्ता समस्या बारम्बार दोहोरिने गरेका छन् । सीमा समस्या सम्बन्धी दीर्घकालीन समाधानका लागि सरोकारवाला निकाय गम्भीर हुन आवश्यक छ ।
कञ्चनपुरको बेलौरी स्थित सीमा विवाद सम्बन्धी एभिन्युज खबर टेलिभिजनबाट विभिन्न समाचार बुलेटिनहरूमा प्रशारित विशेष रिपोर्ट...