हरिश चन्द्र बाग, कञ्चनपुर, २४ श्रावण । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले पञ्चवर्षीय आवधिक योजनाको सार्वजनिकीकरण कार्यक्रम गरेको छ । शुक्रबार बेलडाँडी गाउँपालिकाको आयोजनामा गरिएको कार्यक्रममा आर्थिक वर्ष २०७६।०७७ देखि २०८१।०८२ सम्मका लागि जनता केन्द्रित, उत्पादन वृद्धि, आयआर्जन, रोजगार सृजना, वातावरण संरक्षण लगायतका योजना समेटिएको बेलडाँडी गाउँपालिकाका प्रवक्ता अमर बहादुर खत्रीले बताउनुभयो ।
गाउँवासीहरूको आत्मसम्मानमा सुनिश्चितता, स्वतन्त्रताको प्रत्याभूति, समावेशी विकास, सन्तुलित तथा द्रुत विकास आवधिक योजनाका विशेषताका रूपमा रहने बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीले बताउनुभयो । पाँच वर्षको अवधिमा व्यावसायिक कृषि, समावेशी र प्राविधिक शिक्षा, स्वास्थ्य, सरसफाइ, पोषण तथा खाद्य सुरक्षा, पर्यटन प्रवर्द्धन, संस्कृति जगेर्ना तथा जनजाति संग्रहालय निर्माण लगायतका योजनालाई प्राथमिकता दिइने बेलडाँडी गाउँपालिकाका उपाध्यक्ष कमला कार्कीले बताउनुभयो ।
बेलडाँडी गाउँपालिकाका अध्यक्ष धनबहादुर थापा क्षेत्रीका स्वकीय सचिव कृष्ण कुमार रोकायाले दिनुभएके जानकारी अनुसार बेलडाँडी गाउँपालिकाको प्रथम पञ्चवर्षीय आवधिक योजना सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुन बहादुर थापा, प्रदेश सभा सदस्य कुलबीर चौधरी र अन्य स्थानीय तहका प्रमुख उपप्रमुखहरूले समेत पञ्चवर्षीय आवधिक योजना सार्वजनिक गर्ने नीति उदाहरणीय भएको बताउनु भएको छ ।