हरिश्चन्द्र बाग, कञ्चनपुर, २० साउन । स्थानीय तहहरूले न्याय निरूपण गर्दा मेलमिलापको नीति अवलम्बन गर्नुपर्नेमा सरोकारवालाहरूको जोड रहेको छ । जिल्ला समन्वय समिति कञ्चनपुरसँगको समन्वयमा प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालले बिहीबार महेन्द्रनगरमा आयोजना गरेको स्थानीय तहमा शान्ति निर्माण सम्बन्धमा निर्वाचित जनप्रतिनिधिहरूसँग अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाहरूले समुदाय स्तरमा मेलमिलापको भावनालाई प्राथमिकतामा राख्न सके शान्ति निर्माणका लागि महत्त्वपूर्ण भूमिका खेल्न सकिने धारणा राख्नु भएको हो ।
विधानतः प्रत्येक स्थानीय तहहरूमा स्थानीय न्यायिक समिति रहने व्यवस्था छ । जसको संयोजकत्व स्थानीय तहका उपप्रमुखले गर्ने गरी न्यायिक समिति रहने प्रावधान छ । स्थानीय तहको न्यायिक समितिमा आउने विवादहरूलाई मेलमिलापबाटै समाधान गर्न प्राथमिकता दिने गरेको पुनर्वास नगरपालिकाका उपप्रमुख भुलिया रानाले बताउनु भयो । न्यायिक समितिले विवाद निरूपण गर्दा मेलमिलाप केन्द्र तथा सरोकारवाला निकायहरूसँग समेत सहकार्य गर्न सकेमा त्यसको प्रभावकारिता र प्रतिफल अझै राम्रो हुने कुरामा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले जोड दिनुभयो । प्राकृतिक स्रोत सम्बन्धी विवादहरूलाई समाधान गर्ने पक्षमा प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्रको भूमिका महत्त्वपूर्ण रहने हुँदा त्यसतर्फ सक्रियता बढाउन समेत नगर प्रमुख लिम्बुले आग्रह गर्नुभयो ।
पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा, लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना, बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरी, शुक्लाफाँटा नगरपालिकाका उपप्रमुख कल्पना पन्त, दोधारा चाँदनी नगरपालिकाका उपप्रमुख गङ्गा देवी जोशी, कृष्णपुर नगरपालिकाका उपप्रमुख द्रोपति राना, लालझाडी गाउँपालिकाका उपाध्यक्ष सपना चौधरी राना सहित विभिन्न स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिबाट सहभागी प्रमुख प्रशासकीय अधिकृतहरू तथा प्रतिनिधिहरूले पनि आआफ्नो धारणा, जिज्ञासा तथा सुझाव प्रस्तुत गर्नुभएको थियो । अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाहरूले न्याय निरूपणमा स्थानीय तहहरू थप सक्रिय हुनु पर्ने, धेरै मुद्दाहरू मेलमिलापबाटै समाधान गर्न तयार रहेकोले स्थानीय तहहरू र मेलमिलाप केन्द्रहरूको समन्वय थप बढाउनु पर्ने र मेलमिलापबाट विवाद समाधान गर्दा समाजमा शान्ति निर्माण गर्न सकिने निष्कर्ष निकाल्नु भएको छ ।
स्थानीय तहको न्यायिक समितिमा आउने मुद्दाहरूलाई सकभर न्यायिक समितिबाटै निरूपण गर्ने, तथापि त्यहाँ समाधान हुन नसकेका मुद्दाहरू प्रकृति हेरी समुदाय स्तरमा रहेका मेलमिलाप केन्द्रहरू वा अदालत सम्म पनि पठाउने गरिएको छ । समुदाय स्तरमा रहेका मेलमिलाप केन्द्रहरू तथा मेलमिलापकर्ताहरूले न्यायिक समितिबाट पठाइएका मुद्दाहरू हेर्न सम्बन्धित स्थानीय तहहरूमा सूचीकृत हुनुपर्ने व्यवस्था रहेको छ । बेलौरी नगरपालिकाले समेत सूचीकृतका लागि सूचना जारी गरिसकेको बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशीला लेखकले जानकारी दिनुभयो । समुदाय स्तरमा देखिएका जल, जङ्गल र जमिन सम्बन्धी बहुसरोकारवाला विवाद समाधानका लागि प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालले भूमिका निर्वाह गर्दै आइरहेको केन्द्रका राष्ट्रिय स्रोत व्यक्ति लक्ष्मी साउँदले बताउनु भयो ।
यसका साथै स्थानीय तहमा रहेका न्यायिक समितिहरूले विवाद समाधानका लागि मेलमिलापको आवश्यकता महसुस गरेमा त्यस किसिमका विवाद निरूपण गरी शान्ति निर्माणका लागि समेत केन्द्रले कार्य गर्ने गरेको प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालका सहजकर्ता विशाल चौधरीको भनाइ छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ बमोजिम स्थानीय न्यायिक समितिबाट निरूपण हुने विवाद वा प्रचलित कानुन बमोजिम मेलमिलापको माध्यमबाट समाधान गर्न सकिने विवादमा मेलमिलाप गराउनु पर्ने व्यवस्था छ । त्यसका लागि सम्बन्धित न्यायिक समितिहरूले पनि मेलमिलापका लागि प्रोत्साहन गर्नुपर्ने हुन्छ । जसले समुदाय स्तरमा शान्ति निर्माण गर्न सकिन्छ ।
जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराको प्रमुख आतिथ्य र उपप्रमुख राम कुमारी रानाको अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रममा प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालका पश्चिम क्षेत्रीय संयोजक बल्लु चौधरीले केन्द्रका बारेमा जानकारी, केन्द्रले गरेका कार्य उपलब्धि, सहकार्यको पाटो र भावी रणनीतिका बारेका कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । पूर्वदेखि पश्चिमसम्मका विभिन्न २४ जिल्लामा केन्द्रले शान्ति अभियान सञ्चालन गरिरहेको छ । केन्द्रले बहुसरोकारवाला द्वन्द्व रूपान्तरण अभियान र मेलमिलाप अभियानलाई प्राथमिकतामा राखेको केन्द्रका पश्चिम क्षेत्रीय संयोजक चौधरीको भनाइ छ । अन्तरक्रिया कार्यक्रममा केन्द्रका सहजकर्ता धर्मानन्द पन्तले कञ्चनपुर जिल्लामा केन्द्रले गरेका गतिविधिका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने अर्का सहजकर्ता भुवन राज शर्माले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।