कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले पाँचौँ राजस्व सुधारका कार्य योजना तयार पारेको छ । नगरपालिकाले आन्तरिक आय तथा राजस्व सुधारका लागि निर्माण गरेको कार्य योजनालाई चालु आर्थिक वर्षका लागि अद्यावधिक गरेको हो । क्षेत्रीय सहरी विकास आयोजना, संस्थागत परामर्शदाताद्वारा निर्माण गरिएको उक्त कार्य योजना अद्यावधिक गरिएको वित्त विज्ञ दामोदर सुवेदीले बताउनु भयो । उहाँका अनुसार समयानुकूल परिमार्जन गर्दै राजस्व नीतिलाई अद्यावधिक गरिएको हो ।
संस्थागत परामर्शदाताका वित्त विज्ञबाट हालसम्म नगरपालिकाका पाँच वटा राजस्व सुधार कार्य योजना निर्माण भइसकेका छन् । नगरपालिकाले हरेक आर्थिक वर्षको कार्य योजना निर्माण गरी सोही अनुसार नीति कार्यक्रम निर्माण तथा कार्यान्वयनको चरण पु¥याउँदै आएको छ । आर्थिक वर्ष २०७२÷७३ देखि राजस्व सुधार कार्य योजना तयार हुँदै आएको छ । नगरपालिकाले स्थानीय सरकारको नेतृत्वपछि कार्य योजनाका सिफारिसलाई कार्यान्वयन गरी आर्थिक वर्ष २०७४÷७५ मा ६ करोड राजस्व सङ्कलन गरेको थियो । त्यस्तै आर्थिक वर्ष २०७५÷७६ मा १२ करोड, आर्थिक वर्ष २०७६÷७७ मा २० करोड र आर्थिक वर्ष २०७७÷७८ मा २३ करोड राजस्व सङ्कलन गरेको छ ।
राजस्व सुधार कार्य योजना निर्माणपछि नगरपालिकाको आन्तरिक आयमा उल्लेख्य सुधार भएको छ । राजस्व परामर्श समिति, राजस्व उपशाखा, आर्थिक प्रशासन शाखा र अन्य शाखाहरूसँगको समन्वय सहकार्यमा कार्य योजना निर्माण गरिएको हो । राजस्व सुधार कार्य योजनाले श्रोत साधनको प्रभावकारी र अधिकतम् परिचालन, समयानुकूल कर प्रणाली परिवर्तन, निजी क्षेत्रलाई प्रोत्साहन, करका दायरामा वृद्धि, दीर्घकालीन कर नीति तथा रणनीति निर्माण, पालिकाका कामहरू पारदर्शी, मितव्ययी र औचित्यपूर्ण बनाउनु पर्ने, आर्थिक ऐन र राजस्व ऐन पारित गर्नुपर्ने, बक्यौता सङ्कलन, राजस्वको क्षेत्र विस्तार गर्नु पर्ने लगायतका सुझाव दिएको थियो ।
कार्य योजनाको सुझावलाई कार्यान्वयन गर्दै नगरपालिकाले आन्तरिक आय श्रोेतको प्रभावकारी परिचालन, प्रगतिशील कर प्रणालीको विकास, सक्षम कर प्रशासन, करका दायरामा वृद्धि तथा क्षेत्र विस्तार, कर पुनरावलोकन र कर चुहावट नियन्त्रण गर्ने नीति लिएको छ । त्यस्तै कार्य योजनाले आन्तरिक आय सङ्कलन कार्यविधि, जनचेतनामूलक कार्यक्रम, आर्थिक ऐनमा भएको छुट, जरिवानाको कार्यान्वयन, सम्पत्ति र मालपोत करको दरमा सुधार र बहाल कर लगायतमा राजस्व प्रशासनले ध्यान दिनुपर्ने उल्लेख छ । कार्य योजनाका क्रियाकलापलाई राजस्व प्रशासन सुधार, कर राजस्व सुधार र गैर कर राजस्व सुधार योजना गरी तीन भागमा बाँडिएको छ । कार्य योजनाले नगरपालिकाको अगामी पाँच वर्षको आयको प्रक्षेपण पनि गरेको छ । जस अनुसार आर्थिक वर्ष २०८३÷८४ मा भीमदत्तको आन्तरिक आय २८ करोड पुग्ने प्रक्षेपण गरिएको छ ।
त्यस्तै कार्य योजनाले सुधार गर्नुपर्ने क्षेत्रहरू, समिति, शाखाको जिम्मेवारी र समयावधि पनि सिफारिस गरेको छ । वित्त विज्ञ सुवेदीले कर नीतिलाई आम करदातालाई बुझाउनु पर्ने बताउँदै कार्य योजनाको पूर्ण कार्यान्वयन भएको खण्डमा पालिका सबल बन्ने बताउनु भयो । साथै नगरपालिकाको अगामी नेतृत्वले वर्तमान नीतिलाई आत्मसाथ गरी अघि बढ्नु पर्ने उहाँको सुझाव छ ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले पालिकालाई आन्तरिक आयमा बलियो बनाउन राजस्व सुधार योजना बनाइएको बताउनु भयो । उहाँका अनुसार नगरपालिकाले कार्य योजनाले दिएका सुझावलाई नीतिगत रूपमा कार्यान्वयन गरी राजस्वको अवस्थामा उलेख्य सुधार गरेको छ । कार्य योजनाले सुझाएका कुराहरूलाई पूर्ण कार्यान्वयनमा लैजाने नगर प्रमुख बिष्टले प्रतिबद्धता व्यक्त गर्नुभयो ।