हरिश्चन्द्र बाग, कञ्चनपुर, २८ भदौ । शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन तथा बालविवाह न्यूनीकरणलगायतका क्षेत्रमा वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) ले सञ्चालन गरेका कार्यक्रमप्रति सरोकारवालाले सकारात्मक धारणा व्यक्त गरेका छन् । संस्थाको पाँचौँ वार्षिक साधारण सभा तथा सामाजिक परीक्षणमा सहभागीहरूले समुदायको आवश्यकता पहिचान गरी स्थानीय तह र सरोकारवालासँगको सहकार्यमा कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका हुन् ।

सामाजिक परीक्षणका क्रममा पेसवानले सञ्चालन गरेका कार्यक्रम, उपलब्धि तथा आर्थिक गतिविधिको समीक्षा गरिएको थियो । सहभागीहरूले शिक्षा र स्वास्थ्यसँगै विपद् व्यवस्थापन तथा बालविवाह न्यूनीकरणजस्ता समुदायका संवेदनशील सवालमा संस्थाले गरेको कामलाई सकारात्मक रूपमा लिएका थिए ।

कार्यक्रममा सहभागी सरोकारवालाले स्थानीय आवश्यकता र समुदायको सहभागितामा सञ्चालन गरिएका कार्यक्रमले प्रभावकारी नतिजा दिन सक्ने बताएका थिए । उनीहरूले आगामी दिनमा पनि समुदायका प्राथमिकता पहिचान गरेर कार्यक्रम तय गर्न तथा स्थानीय तह, जनप्रतिनिधि र साझेदार संस्थासँगको समन्वयलाई थप बलियो बनाउन सुझाव दिएका थिए ।

सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गर्दै राजेन्द्र उप्रेतीले संस्थाका गतिविधि, उपलब्धि र कार्यसम्पादनबारे जानकारी गराएका थिए । सामाजिक परीक्षणले संस्थाले गरेका कामको समीक्षा गर्नुका साथै सुधार गर्नुपर्ने पक्ष पहिचान गर्न सहयोग पुग्ने उनले बताएका थिए ।

त्यस्तै, कोषाध्यक्ष पदम पाठकले आर्थिक वर्षको आय-व्यय विवरण प्रस्तुत गरेका थिए । संस्थाका आर्थिक गतिविधिलाई पारदर्शी र जवाफदेही बनाउँदै लैजानुपर्नेमा उनले जोड दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले समुदायमा काम गर्ने संस्थाहरूले स्थानीय आवश्यकता र सरोकारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखेका थिए । सरकारी निकाय, स्थानीय तह, समुदाय र गैरसरकारी संस्थाबीचको समन्वयबाट सामाजिक विकासका कार्यक्रम थप प्रभावकारी बनाउन सकिने उनको भनाइ थियो ।

पेसवानका अध्यक्ष डा. तिलमाया ढकाल खरेलले संस्थाले समुदायको आवश्यकता र सरोकारलाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गर्दै आएको बताएकी थिइन् । आगामी दिनमा पनि प्राप्त सुझावलाई समेट्दै कार्यक्रमलाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउने प्रतिबद्धता उनले व्यक्त गरेकी थिइन् ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, परियोजना सञ्चालन भइरहेका वडाका अध्यक्ष तथा जनप्रतिनिधि, समुदायका प्रतिनिधि, विभिन्न गैरसरकारी संघसंस्था तथा साझेदार संस्थाका प्रतिनिधिको सहभागिता थियो ।

साधारण सभा तथा सामाजिक परीक्षणले पेसवानका विगतका गतिविधिको समीक्षा गर्दै आगामी कार्यदिशाका लागि सरोकारवालाको सुझावसमेत संकलन गरेको पेसवानका दमन चन्दले जानकारी दिएका छन् । प्राप्त सुझावलाई आगामी कार्ययोजनामा समेटेर समुदायसँगको सहकार्यलाई थप बलियो बनाउने संस्थाले जनाएको छ ।
