हरिश्चन्द्र बाग, कञ्चनपुर, १० भदौ । लालझाडी गाउँपालिकामा समुदायस्तरमै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले विभिन्न समुदायस्तरीय विपद् व्यवस्थापन समितिबीच अनुभव, अभ्यास, नवप्रवर्तन र सिकाइ आदान-प्रदान गरिएको छ । लालझाडी गाउँपालिकाको आयोजनामा बुधबार आपत्कालीन सुरक्षित आश्रय भवनको हलमा अन्तर-समुदायस्तरीय विपद् व्यवस्थापन समितिबीच ‘ग्यालरी वाक’ कार्यक्रम गरिएको हो ।
कार्यक्रममा गाउँपालिकाका विभिन्न क्षेत्रमा रहेका समुदायस्तरीय विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रतिनिधिहरूले आ-आफ्नो समुदायमा विपद्का बेला अपनाइएका अभ्यास, देखिएका समस्या र समाधानका उपायबारे अनुभव सुनाएका थिए । समुदायमा विपद् पूर्वतयारी, जोखिम पहिचान, सूचना प्रवाह, उद्धार तथा राहत व्यवस्थापनमा भएका अभ्यासबारे छलफल भएको थियो । सहभागीहरूले आफूले गरेका प्रभावकारी अभ्यास अरू समुदायमा पनि प्रयोग गर्न सकिने विषयमा अनुभव साटासाट गरेका थिए ।
सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रतिनिधिहरूले स्थानीयस्तरमा विपद्को जोखिम सबैभन्दा पहिले समुदायले नै सामना गर्नुपर्ने भएकाले पूर्वतयारीदेखि उद्धार र पुनःस्थापनासम्म समुदायको भूमिका बलियो बनाउनुपर्ने बताएका थिए । उनीहरूले समितिलाई सक्रिय राख्न नियमित अभ्यास, विपद् सामग्रीको व्यवस्थापन, जोखिममा रहेका परिवारको पहिचान तथा आपत्कालीन अवस्थामा तत्काल सूचना पुग्ने संयन्त्र आवश्यक रहेको बताएका थिए ।
पेसवानका फिल्ड अफिसर विवेक छेडालले समुदायमा भएका अभ्यास र सिकाइलाई एउटा समुदायमा सीमित नराखी अन्य समुदायमा पनि विस्तार गर्नुपर्ने आवश्यकता ठानेर कार्यक्रम गरिएको बताए । उनले स्थानीय समुदायसँग रहेको व्यावहारिक ज्ञान र अनुभवलाई विपद् व्यवस्थापनको योजनासँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिए ।
प्राक्टिकल एक्सनका सिनियर प्रोजेक्ट अफिसर रमेश गौतमले विपद् व्यवस्थापनमा बाह्य सहयोगभन्दा समुदायको आफ्नै क्षमता र तयारी महत्त्वपूर्ण हुने बताए । समुदायस्तरमा विकसित भएका नयाँ अभ्यास र स्थानीय समाधानलाई पहिचान गरी त्यसलाई थप प्रभावकारी बनाउनेतर्फ सहकार्य आवश्यक रहेको उनको भनाइ छ । त्यसका लागि पालिका स्तरीय सञ्जाल गठन र आवश्यक कार्यविधि बनाउन सके त्यसले राम्रो प्रतिफल दिने उनको बुझाइ छ । विपद्को जोखिम घटाउन स्थानीय सरकार, समुदाय र साझेदार संस्थाबीचको समन्वयलाई निरन्तरता दिनुपर्ने उनको भनाइ थियो ।
लालझाडी गाउँपालिका-२ का वडाध्यक्ष आशाराम रानाले विपद्का बेला सबैभन्दा पहिले प्रभावित हुने समुदाय नै भएकाले समुदायलाई आवश्यक ज्ञान, सीप र साधनस्रोतले सक्षम बनाउनुपर्ने बताए । उनले वडास्तरमा विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाउँदै स्थानीय जोखिमअनुसार पूर्वतयारीका काम अघि बढाउनुपर्नेमा जोड दिए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले समुदायस्तरबाट आएका अनुभव र सिकाइलाई गाउँपालिकाको विपद् व्यवस्थापन योजना तथा कार्यक्रमसँग जोडेर अघि बढाइने बताए । उनले विपद् व्यवस्थापनका लागि स्थानीय तहबाट उपलब्ध स्रोतसाधनको प्रभावकारी परिचालनसँगै समुदायका समितिहरूको क्षमता विकासमा पनि ध्यान दिइएको बताए ।
गाउँपालिका अध्यक्ष निर्मल रानाले विपद् व्यवस्थापनलाई सरकारी निकायको मात्रै जिम्मेवारीका रूपमा नहेरी समुदायको सहभागितामा अघि बढाउनुपर्नेमा जोड दिए । उनले गाउँपालिकाका विभिन्न समुदायमा भएका प्रभावकारी अभ्यासलाई एकअर्काबीच आदान-प्रदान गरी स्थानीयस्तरमै विपद् सामना गर्ने क्षमता विकास गर्नुपर्नेमा जोड दिए । समुदायस्तरका विपद् व्यवस्थापन समितिलाई थप सक्रिय र व्यवस्थित बनाउँदै आवश्यक सहयोग तथा समन्वयलाई निरन्तरता दिइने उनको भनाइ छ ।
कार्यक्रममा समुदायस्तरीय विपद् व्यवस्थापन समितिहरूले तयार गरेका विपद् पूर्वतयारी तथा व्यवस्थापनसम्बन्धी अभ्यास, सामग्री र सिकाइ प्रस्तुत गरेका थिए । प्रस्तुतिका क्रममा सहभागीबीच प्रश्नोत्तर तथा अनुभव आदान-प्रदानसमेत गरिएको थियो । समुदायका लागि जलवायु उत्थानशील कार्यक्रम (CRP), Climate Resilience Alliance, PESWAN र Practical Action को आर्थिक तथा प्राविधिक सहयोगमा उक्त कार्यक्रम गरिएको हो ।