धनगढी, ०३ मङ्सिर । सर्प दंशको जोखिम न्यूनीकरण, सुरक्षित सर्प उद्धार तथा स्थानीय स्तरमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले कञ्चनपुरका तीन स्थानीय तहका लागि तीन दिवसीय उन्नत सर्प उद्धार तथा व्यवस्थापन तालिम बिहीबारदेखि धनगढीस्थित होटेल ज्ञानमा सुरु भएको छ ।

PESWAN र Prosper Global को समन्वयमा M-RED परियोजनाअन्तर्गत आयोजित तालिमको उद्घाटनसत्र शुक्लाफाँटा नगरपालिकाका उपप्रमुख कल्पना कुमारी जोशीको अध्यक्षतामा भएको हो । कार्यक्रममा PESWAN का उपाध्यक्ष मञ्जु नेगी, कार्यकारी निर्देशक योगेन्द्र शाही, एकराज भट्ट तथा प्रशिक्षक लक्ष्मण तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो ।

स्थानीय तहमा सर्प उद्धारसम्बन्धी दक्ष जनशक्ति विकास र प्रभावकारी प्रतिकार्य प्रणाली निर्माण गर्ने लक्ष्यसहित PESWAN/M-RED परियोजनाका वरिष्ठ अधिकृत अभिषेक ओझाको संयोजनमा तालिमको योजना, व्यवस्थापन तथा सञ्चालन गरिएको हो ।

तालिममा पुनर्वास र शुक्लाफाँटा नगरपालिकाका नगर प्रहरी, लालझाडी गाउँपालिकाका सक्रिय सर्प उद्धार स्वयंसेवक, स्वास्थ्य संस्थाका कर्मचारी, सुरक्षा गार्ड तथा विपद् जोखिम न्यूनीकरण (DRR) फोकल व्यक्तिहरू गरी २४ जनाको सहभागिता रहेको छ ।

तीन दिनसम्म सञ्चालन हुने तालिममा सर्पको पहिचान, सुरक्षित उद्धार तथा नियन्त्रण, उद्धार उपकरणको प्रयोग, सुरक्षित स्थानान्तरण तथा प्राकृतिक वासस्थानमा छोड्ने विधि र सर्प दंशको प्राथमिक उपचारसम्बन्धी सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अभ्यास गराइनेछ ।

तालिमले स्थानीय तहमा दक्ष सर्प उद्धार जनशक्ति तयार गर्नुका साथै मानव-सर्प द्वन्द्व न्यूनीकरण, जैविक विविधता संरक्षण र समुदाय स्तरमा सुरक्षित तथा प्रभावकारी विपद् प्रतिकार्य क्षमता विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ । तालिम मङ्सिर ५ गते सम्पन्न हुनेछ ।
