हरिश्चन्द्र बाग / प्रकाश भट्ट, कञ्चनपुर, ०२ मंसिर । अन्डर-१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८३ यही मंसिर ७ देखि २१ गतेसम्म सञ्चालन हुने भएको छ । प्रतियोगिता कञ्चनपुरको महेन्द्रनगरस्थित कवर्डहल मैदान र कैलालीको धनगढीस्थित फाप्ला मैदानमा संयुक्त रूपमा आयोजना हुने भएको हो । प्रतियोगिताको तयारी तीव्र पारिएको छ । कञ्चनपुर क्रिकेट संघका अध्यक्ष वीरेन्द्रबहादुर चन्दका अनुसार प्रतियोगिता सञ्चालन हुने महेन्द्रनगरको कवर्डहल मैदान तयार गर्ने काम अन्तिम चरणमा पुगेको छ ।
"मैदानको पिच र आउटफिल्ड सम्म्याउने काम लगभग सकिएको छ भने मैदान परिसरको सरसफाइसमेत भइरहेको छ," चन्दले भने, "प्रतियोगितामा सातै प्रदेशका टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको उद्घाटन धनगढीस्थित फाप्ला मैदानमा र फाइनल खेल महेन्द्रनगरस्थित कवर्डहल मैदानमा गर्ने तयारी छ । प्रतियोगिताका अन्य खेल दुवै मैदानमा सञ्चालन हुनेछन् ।" अध्यक्ष चन्दका अनुसार प्रतियोगिताका लागि महेन्द्रनगरमा दुई वटा पिच निर्माण गरिएको छ । पिच निर्माण र मैदान व्यवस्थापनको काम अन्तिम अवस्थामा पुगेको छ । प्रतियोगिता सुरु हुनुअघि बाँकी कामसमेत सम्पन्न गरिसक्ने लक्ष्य राखिएको उनले बताए ।
प्रतियोगितामा सहभागी सातै प्रदेशका खेलाडी तथा अफिसियलको बसोबासका लागि होटेलको व्यवस्था गरिएको छ । खेलाडीहरूको खानपान व्यवस्थापनअन्तर्गत होटेलमै बसोबासको व्यवस्था गरिएको र दिउँसो खेलको बीचमा खाना भने खेल मैदानमै उपलब्ध गराइने अध्यक्ष चन्दले जानकारी दिए । प्रतियोगिताको पुरस्कार तथा अन्य प्राविधिक विवरण भने आयोजकले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी गरेको छ । प्रतियोगिता सफल बनाउन अध्यक्ष चन्दले सुदूरपश्चिमवासीसँग सहयोग र समर्थनको अपिल गरेका छन् । खेल मैदानमै उपस्थित भएर खेलाडीको हौसला बढाउन उनले क्रिकेटप्रेमी दर्शकलाई आग्रह गरेका छन् ।
महेन्द्रनगरस्थित कवर्डहल मैदानमा प्रतियोगिता सञ्चालनका लागि दुई वटा क्रिकेट पिच निर्माण गरिएको छ । पिच निर्माणसँगै मैदानको मर्मतसम्भार र आउटफिल्ड व्यवस्थापनको काम पनि भइरहेको छ । कञ्चनपुर क्रिकेट संघका पिच क्युरेटर गणेशबहादुर थापाका अनुसार पिच निर्माण गर्दा यसको आधारदेखि नै विशेष ध्यान दिइएको छ । "पिचलाई बलियो र खेलका लागि उपयुक्त बनाउन आवश्यक ढुङ्गा, बालुवा तथा विशेष प्रकारको माटो प्रयोग गरिएको छ," थापाले भने, "पिच निर्माणका लागि आवश्यक माटो सहजै उपलब्ध नहुने भएकाले खोजी गरेर वेदकोटबाट ल्याइएको हो ।"
पिच निर्माणको अन्तिम चरणमा फिनिसिङको काम भइरहेको र दुई-तीन दिनभित्र सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य रहेको उनको भनाइ छ । थापा भन्छन्, "क्रिकेट पिच निर्माण सामान्य मैदान सम्म्याएजस्तो मात्र नभई प्राविधिक पक्षमा समेत उत्तिकै ध्यान दिनुपर्ने काम हो । पिचको आधार, प्रयोग गरिने माटो र त्यसको व्यवस्थापनले खेलको गुणस्तरमा प्रभाव पार्ने भएकाले निर्माणमा सावधानी अपनाइएको छ ।"
कञ्चनपुरमा पनि राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना हुनु जिल्लाको क्रिकेट विकासका लागि महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ । सातै प्रदेशका खेलाडीको सहभागिताले स्थानीय खेलाडीलाई राष्ट्रिय स्तरको प्रतिस्पर्धा नजिकबाट हेर्ने र सिक्ने अवसर मिल्ने जिल्लाका क्रिकेटप्रेमी तथा पूर्वखेलाडीहरूको भनाइ छ । स्थानीय खेलाडीले आफ्नो क्षमता देखाउने र नयाँ अनुभव हासिल गर्ने अवसर पाउने उनीहरूको अपेक्षा छ । तर प्रतियोगिता सम्पन्न भएपछि पनि क्रिकेट गतिविधि निरन्तर सञ्चालन हुनुपर्ने चुनौती छ । खेलाडी उत्पादन, नियमित प्रशिक्षण, प्रशिक्षकको व्यवस्था र क्रिकेटका लागि आवश्यक पूर्वाधार निर्माणमा ध्यान दिन सके मात्रै यस्ता प्रतियोगिताको दीर्घकालीन उपलब्धि हासिल गर्न सकिनेछ ।
राष्ट्रिय महिला क्रिकेट टिमकी पूर्वखेलाडी माया रावत साउदले कञ्चनपुरमा प्रतियोगिता हुन लागेकोमा खुसी व्यक्त गरिन्। उनका अनुसार महेन्द्रनगरमा लामो समयदेखि राष्ट्रिय स्तरका क्रिकेट प्रतियोगिता हुन सकेका थिएनन् । धनगढीमा पनि पछिल्लो समय केही राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना भए पनि कञ्चनपुरमा यस्ता गतिविधि नियमित हुन सकेका छैनन् । उनले प्रतियोगिता आयोजना हुनु सकारात्मक भए पनि क्रिकेटको दीर्घकालीन विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने बताइन् । साउदका अनुसार कञ्चनपुरमा क्रिकेटका लागि छुट्टै व्यवस्थित मैदानको अभाव छ । एउटै मैदानमा हक्की, फुटबललगायत विभिन्न खेल सञ्चालन गर्नुपर्ने अवस्था छ । यसले क्रिकेटको नियमित अभ्यास र विकासमा चुनौती सिर्जना गरेको उनको भनाइ छ ।
उनले जिल्लामा क्रिकेटको पूर्वाधार विकासका लागि बजेट छुट्टाइएको भन्ने जानकारी भए पनि त्यसको कार्यान्वयन र निर्माणको समयबारे स्पष्टता नरहेको बताइन् । क्रिकेटको विकासका लागि छुट्टै मैदान, आवश्यक संरचना र नियमित प्रशिक्षणको व्यवस्था गर्नुपर्ने उनको सुझाव छ । "अन्डर १९ राष्ट्रिय प्रतियोगिताले नयाँ पुस्ताका खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नेछ," उनले भनिन्, "खेलाडीले अवसरको प्रतीक्षा गरेर मात्र नहुने भएकोले निरन्तर मेहनत र अभ्यासमा जोड दिनुपर्ने देखिन्छ ।" खेलमा सफलता हासिल गर्न धैर्य, अनुशासन र निरन्तरता आवश्यक रहेको उनको भनाइ छ ।
उनले लामो समयसम्म क्रिकेटमा सक्रिय रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको अनुभव पनि सुनाइन् । करिब १०-१२ वर्षअघि खेल्न छाडे पनि उनी महिला क्रिकेटसँग जोडिइरहेकी छन् । अहिले खेलाडीका रूपमा मैदानमा नदेखिए पनि महिला क्रिकेट टोलीको व्यवस्थापन पक्षमा काम गरिरहेको उनले बताइन् । उनले महिला क्रिकेटको विकासका लागि विद्यालय तहबाटै खेलाडी पहिचान र प्रशिक्षणको व्यवस्था गर्नुपर्ने बताइन् । महिला खेलाडीको सङ्ख्या बढाउन विद्यालयमा पुगेर क्रिकेट प्रशिक्षण सञ्चालन गर्ने, खेलप्रति रुचि भएका छात्रालाई अवसर दिने र उनीहरूलाई परिवार तथा समाजबाट प्रोत्साहन मिल्ने वातावरण बनाउनुपर्ने उनको सुझाव छ ।
उनका अनुसार महिला खेलाडीलाई खेलमा अघि बढाउन स्थानीय तह, विद्यालय, अभिभावक तथा खेलकुदसँग सम्बन्धित निकायको सहयोग आवश्यक छ । पुरुष क्रिकेटमा व्यावसायिक प्रतियोगिताको विस्तार भइरहेका बेला महिला क्रिकेटमा पनि त्यस्तै अवसर सिर्जना हुनुपर्ने उनले बताइन् । महिला क्रिकेटका लागि पनि व्यावसायिक प्रतियोगिता र अवसर विस्तार हुने अपेक्षा व्यक्त गर्दै उनले खेलाडीलाई क्रिकेट नछोड्न र निरन्तर खेल्न आग्रह गरिन् ।