हरिश्चन्द्र बाग, कञ्चनपुर, २५ कार्तिक । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१ तारापुरस्थित आरक्षपीडित शिविरमा तिहारको मुखैमा शोक छाएको छ । जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएपछि सिङ्गो शिविर शोक र त्रासमा डुबेको छ । घरभित्र सुतिरहेका बेला आएको जङ्गली हात्तीको आक्रमणले ६० वर्षीया लक्ष्मी डगौरा चौधरीको ज्यान लिएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्र सिंह थापाका अनुसार गएराति करिब १ बजेको समयमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको जङ्गली हात्तीले लक्ष्मीमाथि आक्रमण गरेको थियो । आफ्नै कच्ची घरमा सुतिरहेका बेला हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । तारापुरस्थित आरक्षपीडित शिविरमा बस्दै आएका मोहनबहादुर डगौराकी श्रीमती लक्ष्मीको मृत्युले परिवार मात्रै होइन, छरछिमेक र सिङ्गो बस्तीलाई स्तब्ध बनाएको छ । रातको समयमा बस्तीमा पसेको हात्तीले घरमै आक्रमण गरेपछि स्थानीयमा थप असुरक्षा बढेको छ ।
आरक्षपीडित सङ्घर्ष समितिका अध्यक्ष मोतीराम डगौराका अनुसार हात्ती घरमै आक्रमण गर्न आएको थियो । सुतिरहेका बेला थाहा पाएर उठ्दा हात्ती देखेपछि ज्यान जोगाउन मोहन डगौरा भागेर सुरक्षित हुन सफल भए पनि भाग्ने क्रममा रहेकी लक्ष्मीलाई हात्तीले आक्रमण गरेको थियो । ‘हात्ती घरमै आक्रमण गर्न आएको रहेछ । ज्यान जोगाउन उनका श्रीमान् भागेर सुरक्षित भए, तर भाग्ने क्रममा लक्ष्मीलाई हात्तीले आक्रमण गरेपछि ज्यान गयो,’ अध्यक्ष डगौराले भने, ‘तिहारको मुखमा भएको यो घटनाले सिङ्गो शिविरलाई शोकमा डुबाएको छ ।’
यो शिविरमा जङ्गली हात्तीको आक्रमणबाट मानवीय क्षति भएको पहिलो घटना भने होइन । यसअघि गत वर्ष माघ २४ गते राति पनि सोही क्षेत्रको ढक्का चानदेवस्थित आरक्षपीडित शिविरमा जङ्गली हात्तीको आक्रमणबाट ६ वर्षीया बालिका रोजिना साउदको मृत्यु भएको थियो । उक्त घटनामा उनकी ५५ वर्षीया हजुरआमा पार्वती साउदसमेत गम्भीर घाइते भएकी थिइन् । हात्तीको आक्रमणबाट घाइते भएकी पार्वतीले त्यसयता शारीरिक अपाङ्गताको समस्या व्यहोर्नुपरेको छ ।
एक वर्ष नबित्दै एउटै क्षेत्रका बस्तीमा जङ्गली हात्तीको आक्रमणबाट दुई जनाले ज्यान गुमाउनुपरेको छ । बालिकाको मृत्यु र वृद्धा घाइते भएको घटनाको पीडा सेलाउन नपाउँदै फेरि अर्की महिलाको मृत्यु भएपछि स्थानीयमा वन्यजन्तुको त्रास झनै बढेको छ । रात परेपछि घरबाहिर निस्कनसमेत डराउनुपर्ने अवस्था रहेको स्थानीयको भनाइ छ । निकुञ्ज र वन क्षेत्र आसपासका बस्तीमा वन्यजन्तुको आवागमन नयाँ विषय होइन । तर, पछिल्लो समय बस्तीमै पसेर घर तथा मानवीय जीवनमाथि आक्रमण गर्ने घटनाले स्थानीयको चिन्ता बढाएको छ । खेतबारीमा वन्यजन्तुले बालीनाली नष्ट गर्ने, घरगोठमा क्षति पुर्याउने र मानिसमाथि आक्रमण गर्ने घटनाले वन क्षेत्र आसपासका बासिन्दाको दैनिकी नै जोखिमपूर्ण बन्दै गएको छ ।
विशेषगरी रातको समयमा हात्ती बस्तीमा पस्ने भएकाले स्थानीयलाई रातभर जाग्राम बस्नुपर्ने बाध्यता छ । हात्ती आएको सूचना पाएपछि परिवारका सदस्यलाई सुरक्षित स्थानमा लैजाने, बालबालिका र वृद्धवृद्धालाई जोगाउने तथा घरसम्पत्ति बचाउने चुनौती एकैपटक आइपर्ने गरेको छ । कतिपय अवस्थामा भाग्ने क्रममा समेत मानिसले ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना भएको छ । तारापुर र ढक्का चानदेवका घटनाले वन्यजन्तुको आवागमन नियन्त्रण तथा मानव सुरक्षाका लागि गरिएका प्रयास पर्याप्त नभएको देखाएको छ । वन्यजन्तुको प्राकृतिक वासस्थान र विचरण क्षेत्र आसपास बसोबास गर्ने समुदायको सुरक्षालाई प्राथमिकतामा नराखेसम्म यस्ता घटना दोहोरिइरहने जोखिम छ ।
स्थानीयका लागि यो घटना वन्यजन्तु संरक्षणको विषय मात्रै होइन, बाँच्न पाउने अधिकारसँग जोडिएको गम्भीर सवाल हो । वन्यजन्तुको संरक्षण हुनुपर्छ भन्नेमा स्थानीयको विमति छैन । तर, संरक्षणका नाममा मानव जीवन नै जोखिममा पर्न नहुने उनीहरूको माग छ ।
नेपालले वन्यजन्तु संरक्षणलाई प्राथमिकतामा राख्दै राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रको व्यवस्थापन गर्दै आएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जैविक विविधता र वन्यजन्तुका दृष्टिले महत्त्वपूर्ण क्षेत्र हो । तर, निकुञ्ज आसपासका बस्तीमा वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण गर्न प्रभावकारी व्यवस्थापन हुन नसक्दा संरक्षण र मानव सुरक्षाबीचको चुनौती थप जटिल बन्दै गएको छ । वन्यजन्तु आफ्नो प्राकृतिक वासस्थानबाट बाहिर निस्कँदा त्यसको प्रत्यक्ष असर आसपासका बस्तीमा पर्ने गरेको छ । हात्ती जस्ता ठुला वन्यजन्तुको आक्रमणमा परेपछि मानिसले तत्काल प्रतिकार गर्नसमेत नसक्ने अवस्था हुन्छ । त्यसैले घटना भइसकेपछि राहत र क्षतिपूर्तिको व्यवस्था गर्नु मात्रै पर्याप्त हुँदैन । सम्भावित जोखिम पहिचान, पूर्वसूचना प्रणाली, सुरक्षित आश्रयस्थल, जोखिमयुक्त क्षेत्रमा निगरानी र समुदायस्तरमा पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्ने स्थानीयको माग छ ।
वन्यजन्तु बस्तीमा प्रवेश गर्न सक्ने जोखिम भएका स्थानमा समयमै सूचना पुग्ने व्यवस्था, हात्तीको आवागमन निगरानी, स्थानीयलाई सुरक्षित स्थानमा सार्ने संयन्त्र र जोखिमयुक्त बस्तीको भौतिक सुरक्षामा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ । हात्तीको आवागमनबारे जानकारी दिने पूर्वसूचना प्रणाली प्रभावकारी भएमा सम्भावित मानवीय क्षति कम गर्न सकिने विज्ञहरूको भनाइ छ । वन्यजन्तुबाट प्रभावित परिवारलाई उपलब्ध गराइने राहत तथा क्षतिपूर्तिको प्रक्रिया सहज, छिटो र प्रभावकारी हुनुपर्ने सङ्घर्ष समितिका उपाध्यक्ष प्रेम बहादुर शाहीको अपेक्षा छ । वन्यजन्तुको आक्रमणबाट घाइते भएका व्यक्तिको उपचार, दीर्घकालीन अपाङ्गता भएका व्यक्तिको पुनर्स्थापना तथा प्रभावित परिवारको जीविकोपार्जनमा समेत राज्यले ध्यान दिनुपर्ने उनको माग छ ।
तारापुर र ढक्का चानदेवका घटनाले एउटा गम्भीर प्रश्न खडा गरेका छन्, वन्यजन्तुको आक्रमणबाट बर्सेनि मानवीय क्षति भइरहँदा बस्तीलाई सुरक्षित बनाउन राज्यले के गरिरहेको छ ?
एकातिर दुर्लभ वन्यजन्तुको संरक्षण आवश्यक छ भने अर्कोतिर निकुञ्ज आसपास बसोबास गर्ने नागरिकको जीवन रक्षा पनि राज्यकै दायित्व हो । वन्यजन्तु संरक्षण र मानव सुरक्षालाई एकअर्काको प्रतिस्पर्धी विषयका रूपमा नभई परिपूरक ढङ्गले अघि बढाउनुपर्ने आवश्यकता रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रशासनको तर्क छ । विशेषगरी निकुञ्ज आसपासको बसोबास, भौतिक संरचना र सुरक्षाको अवस्थालाई ध्यानमा राखेर जोखिम न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्न लागिएको बताइएको छ । अहिले हानिकारक हात्तीमा रेडियो कलर जडान गर्ने कार्य भइरहेको निकुञ्ज प्रशासनले जनाएको छ ।
२५ वर्षभन्दा लामो समयदेखि विस्थापनको पीडा भोगिरहेका आरक्षपीडितहरूले अहिले वन्यजन्तुको आक्रमणको जोखिमसमेत सामना गर्नुपरेको छ । पटकपटक मानवीय क्षति हुँदा पनि उस्तै प्रकृतिका घटना दोहोरिनुले वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरणका लागि अपनाइएका उपायको प्रभावकारितामाथि प्रश्न उठाएको छ । घटना भएपछि दुःख व्यक्त गर्ने र राहतको व्यवस्था गर्ने परिपाटीभन्दा घटना हुनै नदिने गरी दीर्घकालीन सुरक्षा रणनीति आवश्यक छ । लक्ष्मी डगौरा चौधरीको मृत्युले फेरि एकपटक वन्यजन्तु संरक्षणसँगै मानव जीवनको सुरक्षालाई उत्तिकै महत्त्व दिनुपर्ने सन्देश दिएको छ । वन्यजन्तु जोगाउने अभियानसँगै निकुञ्ज आसपासका बस्तीका नागरिकले पनि ढुक्कसँग रात बिताउन पाउने अवस्था कहिले बन्छ ? तारापुर र ढक्का चानदेवका बासिन्दाले राज्यसँग खोजिरहेको जवाफ यही हो ।