कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा १० जना युवाले तीनमहिने ब्यान्डबाजा तालिम पूरा गरेका छन् । कला, संस्कृति र सङ्गीतको संरक्षणसँगै युवालाई सीप सिकाएर स्वरोजगार बनाउने उद्देश्यले शुक्लाफाँटा नगरपालिका–३ को आयोजनामा सञ्चालन गरिएको तालिम सम्पन्न भएको हो ।
तालिम समापन कार्यक्रममा नगरप्रमुख रणबहादुर महराले कला, संस्कृति र सङ्गीतको संरक्षण गर्नुका साथै युवालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन यस्ता सीपमूलक कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो । उहाँले वडा कार्यालयले सञ्चालन गरेको कार्यक्रम प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
वडा नम्बर ३ का अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले स्थानीय युवाको भविष्य र आर्थिक समृद्धिलाई ध्यानमा राखेर तालिम सञ्चालन गरिएको बताउनुभयो । उहाँका अनुसार तालिमबाट १० जना युवाले ब्यान्डबाजा बजाउने सीप हासिल गरेका छन् । उनीहरूले अब आफ्नै ठाउँमा व्यावसायिक रूपमा सेवा दिएर आम्दानी गर्न सक्ने अपेक्षा गरिएको छ ।
तालिमका प्रशिक्षक गोकर्ण जैरुका अनुसार सहभागीहरूले नेपाली, हिन्दी, स्थानीय तथा थारू भाषाका गीतमा ब्यान्डबाजा बजाउन सक्ने सीप विकास गरेका छन् । विवाह, व्रतबन्धलगायत विभिन्न सांस्कृतिक तथा सामाजिक समारोहमा ब्यान्डबाजा बजाउन सक्ने गरी उनीहरूलाई प्रशिक्षित गरिएको उहाँले जानकारी दिनुभयो ।
तालिममा सहभागी युवाहरूले सीप सिक्ने अवसर पाएसँगै आफ्नै ठाउँमा आम्दानीको सम्भावना खुलेको बताएका छन् । उनीहरूले अब ब्यान्डबाजाको समूह गठन तथा दर्ता गरी व्यावसायिक रूपमा सेवा सञ्चालन गर्ने तयारी गरेका छन् ।
स्थानीयस्तरमै सीप र रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिमले युवालाई स्वरोजगार बन्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । कला र संस्कृतिको संरक्षणसँगै स्थानीय युवाको आयआर्जनमा समेत योगदान पुर्याउने विश्वासका साथ वडा कार्यालयले तालिम सञ्चालन गरेको जनाएको छ ।