कञ्चनपुर। मानसखण्ड फाउन्डेसन कञ्चनपुरको आयोजनामा तीन स्रष्टाका कृतिमाथि विमर्श तथा रचनावाचन कार्यक्रम सम्पन्न भएको छ । मानसखण्ड गुरुकुलको सभाकक्षमा आयोजित कार्यक्रममा कैलालीका तीन स्रष्टाका कथासङ्ग्रह तथा गजलसङ्ग्रहमाथि समीक्षा र विमर्श गरिएको हो ।
कार्यक्रममा पुष्पराज पाण्डेयको कथासङ्ग्रह ‘किनारा’ माथि साहित्यकार जगदीश ओझा, तारा पल्लवीको गजलसङ्ग्रह ‘सिरानी’ माथि उपप्राध्यापक प्रजापति नेगी र साहित्यकार रमेश पन्त मीतबन्धु तथा यज्ञराज जोशीको कथासङ्ग्रह ‘वैशाखी’ माथि उपप्राध्यापक श्यामसुन्दरले समीक्षा प्रस्तुत गरेका थिए ।
कार्यक्रमको अध्यक्षता मानसखण्ड फाउन्डेसनका अध्यक्ष नारा जोशीले गरेका थिए भने सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष तथा साहित्यकार रामलाल जोशी प्रमुख अतिथि थिए । कार्यक्रममा संविधानसभा सदस्य आनन्दी पन्त, गुगुल्डी वाङ्मय प्रतिष्ठानका अध्यक्ष वीरबहादुर चन्द ‘विश्राम’, सुदूरपश्चिम विश्वविद्यालयका पूर्वडिन प्रा. डा. मुकुन्द कलौनी, सुप गजल मञ्चका संस्थापक टोपेन्द्र शाहलगायत साहित्यिक तथा प्राज्ञिक व्यक्तित्वहरूको उपस्थिति थियो ।
फाउन्डेसनका सचिव तथा साहित्यकार हेमबाबु लेखकले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन फाउन्डेसनका सदस्य कविराज भट्टले गरेका थिए ।
कृति समीक्षा तथा विमर्शपछि तीनै जना कृतिकार, समीक्षक र प्रमुख अतिथि रामलाल जोशीलाई फाउन्डेसनका तर्फबाट सम्मान गरिएको थियो । त्यसपछि आयोजित रचनावाचन कार्यक्रममा प्रेमप्रकाश कलौनी, गङ्गा विष्ट, राधिका जोशी, रेखा अवस्थी भट्ट, सरस्वती भाट धामी, खिमानन्द बडू, बिरुवा राम लोहार, विवेक पन्त, केशव भट्ट, आनन्दी पन्त, कृष्णदत्त चटौत, कल्याण ओझा, वीरबहादुर चन्द ‘विश्राम’, नवराज ओझा, चेतन भट्ट, टङ्कप्रसाद अवस्थी, कृष्णदत्त चटौत कान्त, बलदेव अवस्थी र लछिधन अधिकारीलगायत स्रष्टाले आफ्ना रचना वाचन गरेका थिए ।
कार्यक्रममा तीनै जना कृतिकारले समीक्षकबाट प्राप्त सुझाव तथा टिप्पणीप्रति आभार व्यक्त गरेका थिए । प्रमुख अतिथि रामलाल जोशीले कृतिकारलाई बधाई दिँदै सुदूरपश्चिमको साहित्यिक विकासका लागि स्रष्टा तथा साहित्यिक संस्थाहरू आपसी सहकार्य र एकताका साथ अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रम मानसखण्ड गुरुकुलको प्रायोजनमा सम्पन्न भएको फाउन्डेसनले जनाएको छ ।