हरिश्चन्द्र बाग, कञ्चनपुर । एउटा मोबाइल र इन्टरनेटको प्रयोगबाट आफ्ना उत्पादन तथा व्यवसायलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सकिने डिजिटल युगमा कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले २५ जना युवालाई डिजिटल मार्केटिङसम्बन्धी सीप प्रदान गरेको छ ।
युवालाई प्रविधिमैत्री बनाउँदै स्वरोजगार, उद्यमशीलता र रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले गाउँपालिकाले सञ्चालन गरेको १५ दिवसीय निःशुल्क डिजिटल मार्केटिङ तालिम सम्पन्न भएको हो । तालिममा सहभागी युवाहरूले डिजिटल बजारको सम्भावना पहिचान गर्नेदेखि व्यवसाय तथा स्थानीय उत्पादनको प्रचारप्रसार र बजारीकरणसम्मका विषयमा ज्ञान तथा सीप हासिल गरेका छन् ।
गाउँपालिकाको चालुआर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत काठमाडौं स्कुल अफ इन्टरनेट मार्केटिङ प्रालिको सहकार्यमा असोज २५ गतेदेखि कात्तिक १५ गतेसम्म तालिम सञ्चालन गरिएको थियो । तालिमको आइतबार आयोजित समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्रसमेत प्रदान गरिएको छ ।
समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष हरिश्चन्द्र रानाले युवाहरूको सीप र क्षमता अभिवृद्धिका लागि गरिएको लगानी खेर नजाने विश्वास व्यक्त गरे । प्रविधिको तीव्र विकाससँगै रोजगारी र व्यवसायका स्वरूप बदलिँदै गएको उल्लेख गर्दै उनले युवाहरूले समयअनुसार नयाँ सीप सिकेर प्रतिस्पर्धामा उत्रिनुपर्ने बताए ।
डिजिटल मार्केटिङमार्फत स्थानीय उत्पादन, व्यापार तथा व्यवसायलाई सहजै ठूलो बजारसम्म पुर्याउन सकिने सम्भावना रहेको उनको भनाइ थियो । तालिममा सिकेको ज्ञान प्रमाणपत्रमा मात्र सीमित नराखी त्यसलाई व्यवहारमा उतार्न आग्रह गर्दै अध्यक्ष रानाले डिजिटल माध्यमको प्रयोगबाट आफ्नै व्यवसाय सञ्चालन गर्न, स्वरोजगार बन्न र अरूलाई समेत रोजगारी दिने दिशामा अघि बढ्न सहभागीहरूलाई सुझाव दिए ।
गाउँपालिका उपाध्यक्ष शान्ति नाथले बेलडाँडीमा कृषि, पर्यटन, स्थानीय उत्पादन तथा साना व्यवसायका प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै तिनको डिजिटल माध्यमबाट प्रचारप्रसार र बजारीकरण गर्न सके स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक परिवर्तन ल्याउन सकिने बताइन् । युवालाई समयअनुसार दक्ष र आत्मनिर्भर बनाउने उद्देश्यले आगामी दिनमा पनि यस्ता सीपमूलक तथा व्यावहारिक तालिमलाई निरन्तरता दिने उनको प्रतिबद्धता थियो ।
त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण बि.क.ले डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै डिजिटल मार्केटिङको महत्त्व र आवश्यकता पनि बढ्दै गएको बताए । तालिमबाट प्राप्त सीपलाई व्यावसायिक क्षेत्रमा प्रयोग गर्न सके सहभागी युवाहरूले रोजगारी तथा स्वरोजगारका नयाँ अवसर सिर्जना गर्न सक्ने उनको विश्वास थियो ।
तालिममा सहजीकरण गरेको काठमाडौं स्कुल अफ इन्टरनेट मार्केटिङ प्रालिकी प्रबन्ध निर्देशक मेनुका भट्टले प्रशिक्षार्थीहरूलाई तालिमपछि पनि आवश्यकताअनुसार प्राविधिक तथा व्यावहारिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन् । तालिममा सहभागी युवाहरूले सिकेको ज्ञान र सीपलाई व्यवहारमा उतार्दै डिजिटल प्रविधिको अधिकतम प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरूले आफ्नै व्यवसाय सञ्चालन गर्ने, स्थानीय उत्पादनको डिजिटल माध्यमबाट प्रचारप्रसार तथा बजारीकरण गर्ने र प्राप्त सीपलाई आयआर्जनसँग जोड्ने लक्ष्य राखेका छन् ।
डिजिटल बजारको विस्तारसँगै साना व्यवसायी तथा स्थानीय उत्पादकका लागि समेत आफ्नो उत्पादन र सेवा धेरै मानिससम्म पुर्याउने अवसर बढिरहेको छ । यस्तो अवस्थामा स्थानीय स्तरमै डिजिटल मार्केटिङसम्बन्धी सीप भएका जनशक्ति उत्पादन गर्न गाउँपालिकाले गरेको प्रयासले युवाको उद्यमशीलता विकास र स्थानीय उत्पादनको बजार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।