हरिश्चन्द्र बाग / प्रकाश भट्ट, कञ्चनपुर, २६ असार । मनसुन सक्रिय भएसँगै बाढी, डुबान, भूक्षय तथा अत्यधिक वर्षाजस्ता प्राकृतिक विपद्को जोखिम बढिरहेका बेला कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले सम्भावित विपद्को प्रभावकारी व्यवस्थापनका लागि ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना : २०८३’ कार्यान्वयनलाई व्यवहारमा उतार्ने उद्देश्यले ‘टेबलटप’ कृत्रिम नमुना घटना अभ्यास गरेको छ ।

दोधारा चाँदनी नगरपालिकाको आयोजना तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए), मर्सीकोर नेपाल, डिसिए नेपाल र युनिसेफको साझेदारीमा आयोजित उक्त अभ्यासले विपद् आउनुअघि गरिनुपर्ने तयारी, विपद्को समयमा विभिन्न निकायबीच हुने समन्वय, निर्णय प्रक्रिया तथा उद्धार र राहत व्यवस्थापनलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ ।

अभ्यासका क्रममा मनसुनका समयमा आउन सक्ने बाढी, डुबान, भूक्षय, अत्यधिक वर्षा तथा जलवायु परिवर्तनका कारण बढ्दै गएको तातो हावाको लहर (लू) लाई आधार मानेर कृत्रिम विपद् परिदृश्य तयार गरिएको छ । सोही परिदृश्यअनुसार स्थानीय सरकार, सुरक्षा निकाय, विषयगत शाखा, साझेदार संस्था तथा मानवीय सेवा प्रदायकहरूले आआफ्नो भूमिका, जिम्मेवारी र समन्वय प्रणालीबारे छलफल तथा अभ्यास गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोरकुमार लिम्बूले दोधारा चाँदनी भौगोलिक रूपमा बाढी र अन्य प्राकृतिक विपद्को उच्च जोखिममा रहेको क्षेत्र भएकाले विपद् व्यवस्थापनमा पूर्वतयारी नै सबैभन्दा प्रभावकारी उपाय भएको बताउनुभयो । उहाँले विपद् व्यवस्थापन योजना कागजमा सीमित रहेर मात्र प्रभावकारी नहुने उल्लेख गर्दै यस्ता व्यावहारिक अभ्यासले जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवाला निकायलाई वास्तविक संकटका बेला छिटो र सही निर्णय लिन सक्षम बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले विपद् व्यवस्थापनलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै समुदायस्तरसम्म तयारी, जनचेतना र समन्वय प्रणालीलाई मजबुत बनाउने कार्यलाई निरन्तरता दिइने बताउनुभयो ।

नगर उपप्रमुख गंगादेवी जोशीले विपद्को समयमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य संवेदनशील समूह सबैभन्दा बढी प्रभावित हुने भएकाले प्रतिकार्य योजना तयार गर्दा उनीहरूको आवश्यकता र सुरक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले विपद् व्यवस्थापन उद्धारमा मात्रै सीमित नभई जोखिममा रहेका समुदायको सुरक्षा, राहत तथा पुनःस्थापनासम्म जोडिएको विषय भएकाले सबै निकायबीचको समन्वय अपरिहार्य रहेको बताउनुभयो ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र मर्सीकोर नेपालको साझेदारीमा सञ्चालित ‘जलवायु उत्थानशील समुदाय (सीआरसी) परियोजना’ का संयोजक महेश घिमिरेले टेबलटप अभ्यासले विपद् व्यवस्थापनमा संलग्न सबै निकायलाई एउटै मञ्चमा ल्याएर साझा योजना निर्माण गर्ने, जिम्मेवारी स्पष्ट गर्ने र समन्वय प्रणालीलाई परीक्षण गर्ने अवसर प्रदान गरेको बताउनुभयो । उहाँका अनुसार जलवायु परिवर्तनका कारण मनसुनी विपद्सँगै तातो हावाको लहर (लू) जस्ता नयाँ चुनौतीहरू पनि बढ्दै गएका छन् । यस्ता जोखिमको सामना गर्न स्थानीय तह, सुरक्षा निकाय, मानवीय संस्था र समुदायबीच समयमै समन्वय हुन सके सम्भावित जनधनको क्षति उल्लेखनीय रूपमा घटाउन सकिने उहाँको भनाइ छ ।

अभ्यासका क्रममा विपद्को सूचना प्राप्त भएदेखि उद्धार टोली परिचालन, प्रभावित क्षेत्रको अवस्था मूल्याङ्कन, सुरक्षित स्थानमा स्थानान्तरण, राहत वितरण, स्वास्थ्य सेवा, सञ्चार व्यवस्थापन तथा सम्बन्धित निकायबीच सूचना आदानप्रदान कसरी प्रभावकारी बनाउने भन्ने विषयमा विस्तृत छलफल गरिएको छ । कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृतसहित विभिन्न शाखाका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य, शिक्षा, खानेपानी तथा अन्य विषयगत कार्यालयका प्रतिनिधि, विभिन्न गैरसरकारी संस्था तथा मानवीय सहायता क्षेत्रमा कार्यरत संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रह्यो ।

सहभागीहरूले आआफ्ना अनुभव र सुझाव प्रस्तुत गर्दै प्रतिकार्य योजनालाई अझ व्यवहारमुखी बनाउने विषयमा समेत धारणा राख्नु भएको छ । उहाँहरूले विपद् व्यवस्थापनमा योजना बनाउनु मात्र पर्याप्त नहुने, त्यसको नियमित अभ्यास र समीक्षा आवश्यक रहने धारणा व्यक्त गर्नुभयो । उहाँहरूका अनुसार यस्ता अभ्यासले संकटका बेला अन्योल कम गर्ने, निर्णय प्रक्रिया छिटो बनाउने तथा सबै निकायबीच प्रभावकारी समन्वय कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्छ ।

दोधारा चाँदनी नगरपालिका विगतदेखि नै महाकाली नदी, जगबुडा नदी, वर्षायामको डुबान तथा अन्य मनसुनी विपद्को जोखिममा पर्ने क्षेत्रका रूपमा परिचित छ । त्यसैले समयमै पूर्वतयारी, स्रोतसाधनको व्यवस्थापन र संस्थागत समन्वयलाई प्रभावकारी बनाउन यस्ता अभ्यासले नगरपालिकाको विपद् प्रतिकार्य क्षमतालाई थप सुदृढ बनाउने विश्वास गरिएको छ । नगरपालिकाले आगामी दिनमा पनि समुदायस्तरसम्म यस्ता अभ्यास, जनचेतनामूलक कार्यक्रम तथा विपद् पूर्वतयारीका गतिविधिलाई निरन्तरता दिँदै सुरक्षित, उत्थानशील र विपद्सँग जुध्न सक्षम समुदाय निर्माणमा जोड दिने जनाएको छ ।