हरिश्चन्द्र बाग, कञ्चनपुर । घरआँगन, खेतबारी वा बस्ती आसपास सर्प देखिनेबित्तिकै मारिहाल्ने प्रवृत्ति अझै पनि ग्रामीण समुदायमा विद्यमान छ । अर्कोतर्फ, सर्पको टोकाइबाट हुने जोखिम र जनधनको क्षति न्यूनीकरण गर्न समयमै सुरक्षित उद्धार तथा उचित व्यवस्थापन गर्न सक्ने दक्ष जनशक्तिको अभाव पनि उत्तिकै चुनौतीपूर्ण छ । यही चुनौतीलाई सम्बोधन गर्ने उद्देश्यले कञ्चनपुरका तीन स्थानीय तहमा सर्प उद्धार तथा व्यवस्थापनसम्बन्धी स्थानीय क्षमता विकासको पहल गरिएको छ ।

सर्प दंशको जोखिम न्यूनीकरण, सुरक्षित उद्धार र मानव-सर्प द्वन्द्व व्यवस्थापनमा स्थानीयस्तरमै दक्ष जनशक्ति तयार गर्ने उद्देश्यसहित धनगढीमा सञ्चालित तीन दिवसीय सर्प उद्धार तथा व्यवस्थापन तालिम शनिबार सम्पन्न भएको छ । PESWAN र Prosper Global को समन्वयमा M-RED परियोजनाअन्तर्गत मंसिर ३ गतेदेखि सुरु भएको तालिममा पुनर्वास र शुक्लाफाँटा नगरपालिकाका नगर प्रहरी, लालझाडी गाउँपालिकाका सक्रिय सर्प उद्धार स्वयंसेवक, स्वास्थ्य संस्थाका कर्मचारी, सुरक्षा गार्ड तथा विपद् जोखिम न्यूनीकरण (DRR) फोकल व्यक्तिसहित २४ जनाको सहभागिता रहेको थियो ।

तालिममा सहभागीहरूलाई सर्पको प्रजाति पहिचान, विषालु तथा अविषालु सर्प छुट्याउने आधार, सुरक्षित उद्धार तथा नियन्त्रणका विधि, उद्धार उपकरणको प्रयोग, सर्पलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने र प्राकृतिक वासस्थानमा छोड्ने प्रक्रियाबारे सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो । त्यसैगरी, सर्पले टोकेको अवस्थामा अपनाउनुपर्ने प्राथमिक उपचार, बिरामीलाई सुरक्षित रूपमा स्वास्थ्य संस्थासम्म पुर्याउने प्रक्रिया तथा सर्पदंशसम्बन्धी भ्रम र गलत अभ्यासबाट बच्ने उपायबारे समेत प्रशिक्षण दिइएको थियो ।

तालिमको मुख्य उपलब्धि स्थानीयस्तरमा सर्प उद्धारसम्बन्धी आधारभूत तथा व्यावहारिक सीप भएका जनशक्ति तयार हुनु हो । अब सर्प देखिँदा अनावश्यक रूपमा मार्ने वा जोखिम मोलेर आफैँ समात्ने प्रवृत्तिको सट्टा प्रशिक्षित जनशक्तिमार्फत सुरक्षित उद्धार र व्यवस्थापन गर्ने अभ्यासलाई समुदायस्तरसम्म विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । विशेषगरी सर्पको प्राकृतिक पारिस्थितिकीय महत्त्वबारे समुदायमा सचेतना अभिवृद्धि गर्नु, मानव र सर्पबीचको द्वन्द्व घटाउनु तथा उद्धार गरिएका सर्पलाई सुरक्षित रूपमा प्राकृतिक वासस्थानमा फर्काउनु तालिमका महत्त्वपूर्ण पक्ष हुन् ।

स्थानीय तहका नगर प्रहरी, स्वयंसेवक र स्वास्थ्यकर्मीसमेत सहभागी भएकाले उद्धार, सुरक्षा र स्वास्थ्य उपचारबीच समन्वय स्थापित गर्न पनि तालिमले आधार तयार गरेको छ । सर्पदंशका घटना हुन सक्ने जोखिमयुक्त बस्तीमा तत्काल प्रतिकार्य गर्न सक्ने स्थानीय संयन्त्र विकासका लागि यसलाई महत्त्वपूर्ण प्रयासका रूपमा हेरिएको छ ।

तालिमको योजना, व्यवस्थापन तथा सञ्चालन PESWAN/M-RED परियोजनाका वरिष्ठ अधिकृत अभिषेक ओझाको संयोजनमा गरिएको थियो । उद्घाटनसत्र शुक्लाफाँटा नगरपालिकाका उपप्रमुख कल्पना कुमारी जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो । तालिममा PESWAN का उपाध्यक्ष मञ्जु नेगी, कार्यकारी निर्देशक योगेन्द्र शाही, एकराज भट्ट तथा प्रशिक्षक लक्ष्मण तिमिल्सिनालगायतको सहभागिता रहेको थियो ।

स्थानीयस्तरमा सर्प उद्धार गर्ने जनशक्ति उत्पादनसँगै समुदायमा जनचेतना विस्तार, उद्धार उपकरणको उपलब्धता र प्रशिक्षित जनशक्तिको नियमित परिचालन गर्न सके यसले सर्पदंशको जोखिम न्यूनीकरण र जैविक विविधता संरक्षणमा दीर्घकालीन योगदान पुर्याउने विश्वास गरिएको छ ।

