धनगढी । सुदूरपश्चिमका नदी किनारमा रहेका बस्तीहरू बाढी र अन्य प्राकृतिक विपद्को उच्च जोखिममा रहेको उल्लेख गर्दै मुख्यमन्त्री खगराज भट्टले जोखिम न्यूनीकरणका लागि तथ्य र अनुसन्धानमा आधारित पत्रकारिता गर्न आग्रह गरेका छन् । उनले जलवायु परिवर्तनका कारण प्राकृतिक वातावरणमा देखिन थालेका अस्वाभाविक परिवर्तनबारे खोजमूलक समाचार सामग्री तयार गरी विपद्का सम्भावित जोखिमबारे नागरिकलाई समयमै सचेत गराउन पत्रकारहरूलाई आग्रह गरेका हुन् ।
अग्रलेख मल्टिमिडियाले आयोजना गरेको जलवायु पैरवी, विपद् व्यवस्थापन तथा डिजिटल सञ्चार, एआई र डेटामा आधारित पत्रकारिता तालिमको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले विपद् आउनुअघि नै सम्भावित जोखिमबारे नागरिकलाई सचेत गराउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताए । ‘हाम्रा सहर र बस्तीहरू अहिले पनि नदी किनारमै छन् । चमेलिया, रङ्गुन, सेती, बुढीगङ्गा र कैलाश खोलाको आसपास ठूला बस्ती छन् । त्यहाँ ठूलो विपद् आयो भने के हुन्छ ?’ उनले भने, ‘जलवायु र विपद्बारे अनुसन्धान तथा तथ्याङ्कमा आधारित पत्रकारिता आजको आवश्यकता हो ।’
विपद्का घटनाबाट हुने मानवीय क्षति सशस्त्र द्वन्द्वको तुलनामा पनि बढी रहेको दाबी गर्दै उनले क्षति न्यूनीकरणका लागि पत्रकारिताले खबरदारी गर्नुपर्ने बताए । उनका अनुसार १० वर्षे सशस्त्र द्वन्द्वको तुलनामा विपद्का घटनाबाट ३३ प्रतिशत बढी मानिसको ज्यान गएको छ । जलवायु परिवर्तनका असर कृषि उत्पादन र प्राकृतिक स्रोतमा समेत देखिन थालेको उनले बताए । स्याउ उत्पादन हुने क्षेत्रमा सुन्तला र आँप फल्न थालेको, पानीका मुहान सुक्दै गएको तथा तराईमा बसाइँसराइ बढ्नुमा जलवायु परिवर्तनको प्रभावसमेत रहेको उनको भनाइ थियो ।
मुख्यमन्त्री भट्टले विपद् र जलवायु परिवर्तनका असर मात्रै नभई सुदूरपश्चिमका कृषि तथा आर्थिक समृद्धिका सम्भावनालाई पनि पत्रकारिताले प्राथमिकता दिनुपर्ने बताए । कमजोर राष्ट्रहरूले जलवायु परिवर्तनको बढी असर भोग्नुपरेको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय मञ्चमा उनीहरूको आवाज सुनिनुपर्ने धारणा राखे ।
तीन दिनसम्म सञ्चालन हुने तालिममा सुदूरपश्चिमका नौवटै जिल्लाका २४ जना पत्रकार सहभागी छन् । तालिममा प्रदेशका विपद् जोखिम, जलवायु परिवर्तनका प्रभाव तथा डिजिटल प्रविधिको प्रयोगबाट तथ्याङ्कमा आधारित समाचार तयार पार्ने सीप प्रदान गरिने अग्रलेखका निर्देशक योगेश रावलले बताए । प्रदेशमा ठूलो विपद्को जोखिम रहेकाले त्यसको प्रभावकारी रिपोर्टिङ गर्ने तरिका सिकाउने उद्देश्यले तालिम आयोजना गरिएको उनको भनाइ थियो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टले जलवायु परिवर्तनका विषयमा पत्रकारितामार्फत जनचेतना फैलाउनुपर्ने बताए । एआईको बढ्दो प्रयोगसँगै त्यसको दुरुपयोग रोक्न र सही सूचना सम्प्रेषण गर्न पत्रकारहरू जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो ।
नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका महासचिव शिवराज भट्टले तालिममा सिकेका सीपलाई समाचार उत्पादनमा प्रयोग गर्नुपर्ने बताए । उनले प्रदेश सरकारले बजेटमा पत्रकारिता क्षेत्रलाई उपेक्षा गरेको आरोप लगाउँदै यस्ता तालिमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक गहेन्द्र बमले तालिमको आवश्यकता औँल्याए भने अग्रलेखका कार्यकारी निर्देशक हरि जोशीले विपद्बाट हुने क्षति न्यूनीकरण र सामाजिक सचेतना अभिवृद्धिमा पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने बताए । तथ्य तथा तथ्याङ्कमा आधारित पत्रकारिता प्रवर्द्धन गर्ने उद्देश्यले तालिम आयोजना गरिएको उनको भनाइ थियो ।