राष्ट्रिय तथ्याङ्क कार्यालयको पछिल्लो आधिकारिक जनगणना प्रतिवेदन र सुदूरपश्चिम प्रदेशको जनसङ्ख्या व्यवस्थापन सम्बन्धी अध्ययनहरूले प्रदेशभित्र जनसांख्यिकीय सङ्कट गहिरिँदै गएको देखाइरहेका छन्। सुदूरपश्चिम प्रदेशको कुल जनसङ्ख्या करिब २७ लाख पुग्दा यसको वितरणमा भयानक असन्तुलन छ। प्रदेशका ९ जिल्लामध्ये दार्चुलाको जनसङ्ख्या वृद्धिदर लगभग शून्यको विन्दुमा रोकिएको छ भने बाँकी ५ वटा पहाडी जिल्लाहरू (अछाम, बैतडी, डोटी, बझाङ र डडेलधुरा) मा जनसङ्ख्या वृद्धिदर ऋणात्मक (Negative) देखिएको छ। पहाड यसरी तीव्र गतिमा खाली हुँदै जाँदा प्रदेशको ५० प्रतिशतभन्दा बढी जनसङ्ख्या केवल दुई वटा तराईका जिल्लाहरू, कैलाली (३३%) र कञ्चनपुर (२०%) मा मात्रै केन्द्रित हुन पुगेको छ।
भौगोलिक विकटता र बसाइसराइको यो मार दार्चुलामा सबैभन्दा बढी प्रत्यक्ष देखिएको छ। हालसालै दार्चुलाको अपि हिमाल गाउँपालिका–२ भट्टारमा गएको भीषण पहिरोका कारण १० भन्दा बढी परिवारहरू तत्काल विस्थापित हुनुपर्यो र चौलानी नदी नै थुनिएर बाढीको ठूलो जोखिम निम्तियो। यस्ता निरन्तरका प्राकृतिक प्रकोप, सडक पूर्वाधारको इन्जिनियरिङविहीन जग र व्यास गाउँपालिकाका छाङ्गरु र तिङ्कर जस्ता हिमाली क्षेत्रमा महिनौँसम्म रहने सञ्चार विच्छेदका कारण पहाडी नागरिकहरू आफ्नो थातथलो सधैँका लागि छोडेर तराई झर्न बाध्य भइरहेका छन्।
सुदूरपश्चिमका पहाडी क्षेत्रबाट तराई वा सहरी भेगमा हुने यो तीव्र बसाइसराइको पछाडि कुनै रहर नभएर ठोस आर्थिक र सामाजिक बाध्यताहरू जोडिएका छन्। प्रादेशिक नीति तथा योजना आयोगको प्रतिवेदन अनुसार पहाडको परम्परागत कृषि प्रणाली हिजोआज बाँदर, बँदेल र दुम्सी जस्ता वन्यजन्तुको बढ्दो आतङ्कका कारण पूर्णतः धराशायी बनेको छ, जसले गर्दा किसानहरू महिनौँ दुःख गरेर रोपेको बाली जोगाउन नसकी खेतबारी बाँझो राखेर हिँड्न बाध्य छन्। कृषि क्षेत्रको यो सङ्कटसँगै विकास र पूर्वाधारका नाममा पहाडका भीरहरूमा बिना इन्जिनियरिङ जथाभाबी चलाइएका डोजरहरूले प्राकृतिक पानीका मुहानहरू पुरेका छन्, जसका कारण गाउँ गाउँमा खानेपानीको हाहाकार चुलिएको छ र ती हचुवा सडकहरू रोजगारी ल्याउने माध्यम नभई गाउँलेलाई बस चढाएर तराई झार्ने सजिलो बाटो मात्र बनेका छन्। यसका साथै, आजको प्रविधिमैत्री युगमा पनि सुदूरका पहाडी जिल्लाहरूमा गुणस्तरीय आवासीय विद्यालय र सुविधा सम्पन्न स्वास्थ्य संस्थाहरूको चरम अभाव छ। सामान्य बिरामी पर्दा वा सुत्केरी हुँदा समेत हेलिकप्टर चार्टर गर्नुपर्ने वा तराईकै अस्पताल दगुर्नुपर्ने दयनीय अवस्था अझै कायम रहेकाले आफ्नो र बालबच्चाको भविष्य सुरक्षित गर्नका लागि नागरिकहरू पहाडको जायजेथा बेचेर तराई झर्न विवश भइरहेका छन्।
पहाडबाट तीव्र गतिमा कैलाली र कञ्चनपुरका समथर मैदानतिर झर्ने यो जनसागरले तराईका जिल्लाहरूमा पनि नयाँ र जटिल सङ्कट निम्त्याइरहेको छ। सुदूरपश्चिमको अन्न भण्डार मानिने तराईको उर्वर र कृषियोग्य भूमि हिजोआज अव्यवस्थित जग्गा प्लटिङ र तीव्र रूपमा बढिरहेको कङ्क्रिटको जङ्गलमा परिणत हुँदै छ। धनगढी, भीमदत्त, अत्तरिया र लम्की जस्ता मुख्य सहरी केन्द्रहरू वरपरका खेतहरू धमाधम बस्तीमा बदलिँदा कृषि उत्पादन ह्वात्तै घटेको छ, जसले गर्दा भोलिका दिनमा सिङ्गो प्रदेश नै खाद्य सामग्रीका लागि पूर्ण रूपमा परनिर्भर र आयातमुखी बन्ने भयानक खतरा बढेको छ। सीमित जमिन र असीमित जनसङ्ख्याको यो दबाबले तराईको वन विनाश र वातावरणीय सन्तुलनमा समेत गम्भीर धक्का पुर्याइरहेको छ।
जग्गा र आवासको यो सङ्कटसँगै तराईका सहरहरूले धान्नै नसक्ने गरी भौतिक पूर्वाधार र सार्वजनिक सेवामा चाप थपिएको छ। पहाडबाट जायजेथा बेचेर वा ऋण काढेर तराई झर्ने अधिकांश परिवारका युवाहरू स्थानीय स्तरमा औद्योगिक रोजगारी र कलकारखाना नहुँदा अन्ततः रोजगारीका लागि भारतका सहरहरू (दिल्ली, मुम्बई) वा खाडी मुलुकमै श्रम गर्न जान बाध्य छन्। यसले गर्दा बसाइसराइले तराईमा जनसङ्ख्याको घनत्व, फोहोर मैला व्यवस्थापनको चुनौती र बेरोजगारीको दर त बढाएको छ, तर स्थानीय अर्थतन्त्रलाई अपेक्षित रूपमा चलायमान बनाउन सकेको छैन; बरु तराईका बजारहरू केवल उपभोगवादी केन्द्र र श्रम पलायनको ट्रान्जिट प्वाइन्ट जस्ता मात्र देखिन थालेका छन्।
बसाइसराइको यो निरन्तर प्रक्रियाले केवल मानिसको भौगोलिक ठेगाना मात्र परिवर्तन गरिरहेको छैन, यसले सुदूरपश्चिमको मौलिक संस्कृति, पहिचान र हजारौँ वर्ष पुरानो सामाजिक जगलाई समेत भित्रभित्रै भत्काइरहेको छ। पहाडका ऐतिहासिक गाउँहरू खाली हुँदै जाँदा पुस्तौँदेखि कायम रहेको छिमेकीपन, अर्मपर्मको परम्परा र सामूहिक जीवनशैली ओझेलमा परेका छन्। सुदूरपश्चिमको मौलिक परिचय बोकेका र पुस्तौँदेखि मानसपटलमा सजिएका रैथाने महाकाव्य गाथा 'ढुस्को', महाभारतकालीन इतिहास जीवन्त पार्ने 'धुम्मारी' र दार्चुला–बैतडीको पहिचान बोकेको सांस्कृतिक सौन्दर्य 'ठाडो खेल' हिजोआज पहाडका रैथाने आँगन र मन्दिरका चौतारीहरूमा सुनसान हुन थालेका छन्। देउडाका गेडा हाल्ने, ढुस्को गुञ्जाउने र ठाडो खेलको पदचाप मिलाउने तन्नेरी पुस्ता तराईका कङ्क्रिटका सहरहरूमा विलीन भइसकेको छ। सबैभन्दा गम्भीर सङ्कट भाषा र मौलिक लवजमा देखिएको छ; तराईमा जन्मिएर हुर्कँदै गरेको सुदूरको दोस्रो पुस्ता आफ्नो रैथाने भाषा (डोटेली, काली कुमाउनी वा बैतडेली) बोल्न हिचकिचाउँछ वा पूर्ण रूपमा बिर्सिसकेको छ। सञ्चार र आधुनिक सहरिया संस्कृतिको प्रभावका कारण नयाँ पुस्ता गाउँको माटोको सुगन्ध, पुराना लोककथा, बुढापाकाका उखान टुक्का र रैथाने स्वादबाट पूर्णतः विमुख हुँदै छ। पुर्खाको थातथलो केवल एउटा घुम्ने ठाउँ जस्तो मात्र बन्न पुगेको छ। यसरी भूगोलसँगै मन पनि सरेपछि, एकातिर पहाडका मन्दिर, देवस्थल र संस्कृतिहरू सुनसान बन्दै छन् भने अर्कोतिर तराईको मिश्रित समाजमा सुदूरको यो विशिष्ट अमूर्त सांस्कृतिक पहिचान बिस्तारै पग्लिँदै र आफ्नो अस्तित्व गुमाउँदै गइरहेको छ।
सुदूरपश्चिमको समग्र अस्तित्व र सन्तुलित विकासलाई अक्षुण्ण राख्ने हो भने 'पहाड रित्तिने र तराई भरिने' यो आत्मघाती जनसांख्यिकीय चक्रलाई तत्काल रोक्नै पर्छ। यसका लागि केवल नीतिगत भाषण र चुनावी एजेन्डामा मात्र सीमित नभएर प्रदेश र स्थानीय सरकारले एकीकृत र व्यावहारिक योजनाहरूलाई धरातलमा उतार्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ। प्रादेशिक नीति तथा योजना आयोगले अघि सारेका योजनाहरू कागजको पानाबाट बाहिर निकालेर पहाडका छरिएका र जोखिमयुक्त बस्तीहरूलाई सुरक्षित स्थानमा एकीकृत गर्ने, र त्यहाँका बाँझो जमिनहरूलाई समेटेर फलफूल, चिया, कफी तथा बहुमूल्य जडीबुटी खेतीको 'मोडेल एग्रिकल्चर जोन' का रूपमा व्यावसायिक विकास गर्न ढिला भइसकेको छ। तराईको भूमि बजारमुखी प्लटिङबाट जोगाउन कडा भू उपयोग नीति लागू गरिनुपर्छ भने पहाडमा युवाहरूलाई रोक्न कृषि अनुदान, वन्यजन्तु नियन्त्रणका आधुनिक प्रविधि र स्थानीय जडीबुटी प्रशोधन केन्द्रहरूको स्थापना गरिनु आवश्यक छ। जबसम्म दार्चुला, बैतडी र बझाङका पहाडी गाउँहरूमै गुणस्तरीय आवासीय शिक्षाको सुनिश्चितता हुँदैन, जबसम्म चौबीसै घण्टा विशेषज्ञ डाक्टरसहितको भरपर्दो अस्पताल गाउँमै उपलब्ध हुँदैन, र जबसम्म पहाडी युवाले आफ्नै माटोमा थोरै भए पनि स्वरोजगार र उद्यमशीलताको अवसर पाउँदैन, तबसम्म यी रित्ता घरका तालाहरू खुल्ने छैनन्। सुदूरपश्चिमको पहाडलाई ब्युँताउन र तराईको चापलाई व्यवस्थापन गर्न अबको लगानी र राजनीतिक इच्छाशक्ति सिधै पहाडका गाउँहरूतिर केन्द्रित हुनुपर्छ, अन्यथा सुदूरको आधा भूगोल सधैँका लागि उदास र इतिहासमा मात्र सीमित हुनेछ।
- ईश्वर दत्त भट्ट
कानुनका विद्यार्थी, BALLB 6th सेमेस्टर, केन्द्रीय कानुन विभाग, सुदूरपश्चिम विश्वविद्यालय (FWU), कञ्चनपुर
माेबाइल नम्बर : ९७४६३१९३९१
Email : [email protected]