कञ्चनपुर। सुदूरपश्चिम विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङका कम्प्युटर इन्जिनियरिङका विद्यार्थीले राष्ट्रियस्तरको ह्याकाथन आयोजना गर्ने भएका छन् । स्कुल अफ इन्जिनियरिङअन्तर्गत इन्नोभेटिभ कम्प्युटर इन्जिनियरिङ क्लब (आईसीईसी) ले आगामी मंसिर ५ देखि ७ गतेसम्म ह्याकाथन आयोजना गर्न लागेको हो ।
‘इन्नेक्स २०२६’ नाम दिइएको प्रतियोगिता स्कुल अफ इन्जिनियरिङमा सञ्चालन हुनेछ । क्लबले आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो ।
क्लबकी अध्यक्ष जेलिना भट्टले दुई वर्षअघि क्लब गठन भएदेखि नै ह्याकाथन आयोजना गर्ने सपना देखेको र अहिले त्यो पूरा हुन लागेको बताइन् । दुई वर्षअघि गठन भएको क्लबले सूचना प्रविधि, नवप्रवर्तन र प्राविधिक विकाससँग सम्बन्धित गतिविधि अघि बढाउँदै आएको छ । यिनै विषयमा छलफल गर्ने क्रममा ह्याकाथन आयोजना गर्ने अवधारणा अघि सारिएको अध्यक्ष भट्टले जानकारी दिइन् ।
प्रतियोगितामा सहभागीले स्वास्थ्य, शिक्षा, वातावरण, कृषि, साइबर सुरक्षा, फिनटेक, कृत्रिम बुद्धिमत्ता (एआई), मेसिन लर्निङ (एमएल) र ओपन इनोभेसन गरी आठ विधामा रहेका समस्या पहिचान गरी प्राविधिक समाधान विकास गर्नेछन् । ४८ घण्टाको अवधिमा सहभागी टोलीले आफ्नो अवधारणालाई परियोजनाका रूपमा विकास गरी प्रस्तुत गर्ने आयोजकको योजना छ ।
प्रतियोगितामा विभिन्न संकाय तथा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थी सहभागी हुन सक्नेछन् । सूचना प्रविधिसँग सम्बन्धित नयाँ सोच, सिर्जनशीलता र व्यावहारिक समाधानलाई प्रोत्साहन गर्ने उद्देश्यले ह्याकाथन आयोजना गर्न लागिएको क्लबले जनाएको छ । प्रतियोगिता सञ्चालनका लागि स्कुल अफ इन्जिनियरिङ तथा विभिन्न संघसंस्थासँग सहकार्य र सहयोग जुटाउने काम भइरहेको क्लबले जनाएको छ ।