कञ्चनपुर। युवाको नेतृत्व विकास, अर्थपूर्ण सहभागिता र विपद् तथा जलवायुजन्य जोखिम न्यूनीकरणमा सक्रिय भूमिका अभिवृद्धि गर्ने उद्देश्यसहित कञ्चनपुरमा उत्थानशील युवा सम्मेलन २०२६ सम्पन्न भएको छ । सम्मेलनले युवाको नेतृत्वमा उत्थानशील समाज निर्माणका लागि दशबुँदे घोषणापत्र जारी गरेको छ ।
नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीए नेपालको साझेदारीमा सञ्चालित सुदृढ परियोजनाको आयोजनामा रानाथारू होमस्टेमा सम्मेलन तथा शीतलहरसम्बन्धी प्रभावमा आधारित पूर्वानुमान (आईबीएफ) कार्यशाला आयोजना गरिएको हो ।
सम्मेलनबाट जारी घोषणापत्रमा सामाजिक सद्भाव र एकता प्रवर्द्धन, निर्णय प्रक्रियामा युवाको अर्थपूर्ण प्रतिनिधित्व, विपद् पूर्वसूचना तथा पूर्वकार्य सुदृढीकरण, गुणस्तरीय शिक्षा र सीप विकास, डिजिटल प्रविधि तथा नवप्रवर्तनको प्रवर्द्धनलगायतका विषय समेटिएका छन् । त्यसैगरी हरित रोजगारी र आर्थिक अवसर सिर्जना, प्राकृतिक तथा सांस्कृतिक सम्पदा संरक्षण, अन्तरपुस्ता सहकार्य र लागूऔषध दुर्व्यसनविरुद्ध अभियान सञ्चालन गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा उल्लेख छ ।
सुदृढ परियोजनाका संयोजक राजकुमार सुनारले युवाहरू विपद् व्यवस्थापनमा मात्रै नभई सामाजिक, आर्थिक, वातावरणीय तथा विकासका हरेक क्षेत्रमा सक्रिय हुनुपर्ने बताउनुभयो । समाजमा सकारात्मक परिवर्तन ल्याउन युवाको ऊर्जा, सीप र नेतृत्व क्षमता महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले विपद्को पूर्वतयारी, प्रतिकार्य र पुनःस्थापनादेखि समुदायको विकाससम्म युवाले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक विक्रम जैरुले उत्थानशील समाज निर्माण र दिगो विकासका लागि युवाको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । समाजमा सकारात्मक परिवर्तन ल्याउन युवाको सक्रिय सहभागिता, नेतृत्व र नवीन सोच आवश्यक रहेको उहाँको भनाइ रहेको छ । उहाँले युवाको क्षमता र ऊर्जालाई सामाजिक विकास तथा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
दोधारा चाँदनी नगरपालिका उत्थानशील युवा सञ्जालकी संयोजक दुर्गा बडुवाल र भीमदत्त उत्थानशील युवा सञ्जालका संयोजक उत्तम सुनारले पनि युवा सञ्जालका गतिविधि, समुदायमा युवाको भूमिका र आगामी योजनाबारे धारणा राख्नुभएको थियो ।
सम्मेलनमा स्थानीय तहमा युवाको सहभागिता र उत्थानशील समाज निर्माणका विषयमा प्यानल छलफलसमेत गरिएको थियो । छलफलमा भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक जोशी र वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशी सहभागी हुनुभएको थियो । उहाँहरूले स्थानीय तहको योजना तथा निर्णय प्रक्रियामा युवाको सहभागिता र युवामैत्री कार्यक्रमको आवश्यकताबारे धारणा राख्नुभएको थियो ।
घोषणापत्रमा युवा सम्मेलनलाई नियमित र प्रभावकारी बनाउँदै संस्थागत विकास तथा निरन्तरताका लागि जिल्लास्तरीय युवा सञ्जालमार्फत पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ ।
सम्मेलनसँगै आयोजित शीतलहरसम्बन्धी आईबीएफ कार्यशालामा प्रभावमा आधारित पूर्वानुमान, जोखिम पहिचान, सम्भावित प्रभावको विश्लेषण तथा पूर्वतयारी र पूर्वकार्यका विषयमा छलफल गरिएको थियो । जलवायुजन्य जोखिम तथा शीतलहरबाट प्रभावित हुन सक्ने समुदायको समयमै पहिचान गरी मानवीय तथा आर्थिक क्षति न्यूनीकरणका लागि पूर्वसूचना र पूर्वकार्यलाई प्रभावकारी बनाउने विषयमा कार्यशाला केन्द्रित रहेको थियो ।
सम्मेलनले युवालाई सामाजिक सद्भाव, विपद् जोखिम न्यूनीकरण, जलवायु उत्थानशीलता र दिगो विकासका अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रेरित गर्नुका साथै स्थानीय तहदेखि नीतिगत तहसम्म युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सामूहिक प्रतिबद्धता व्यक्त गरेको छ ।