श्रीमान् माननीय मुख्यमन्त्रीज्यू,
सुदूरपश्चिम प्रदेश सरकार, धनगढी, कैलाली।
विषय: कटौती गरिएका विद्यालय योजनामा पुनर्विचार गरिदिनुहुन।
महोदय,
उपर्युक्त विषयमा सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लास्थित भीमदत्त नगरपालिका–३, नौलाखेतमा रहेको श्री गौरीशंकर आधारभूत विद्यालयका तर्फबाट यहाँसमक्ष यो खुला पत्रमार्फत आफ्ना धारणा तथा मागहरू प्रस्तुत गर्न चाहन्छु।
माननीय कमलबहादुर शाहज्यूको नेतृत्वमा रहेको तत्कालीन सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३/०८४ को बजेटमा यस विद्यालयका लागि दुईकोठे भवन निर्माण योजना समावेश गरेको थियो। तर, तपाईंको नेतृत्वमा बनेको वर्तमान सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा उक्त योजना कटौती गरिएको छ।
सैद्धान्तिक रूपमा पुरानो सरकारका निर्णय, स्वामित्व र दायित्व नयाँ सरकारमा हस्तान्तरण हुँदै जान्छन्। तर, तपाईंको नेतृत्वमा रहेको सरकारले गरिब, विपन्न, असहाय तथा पछाडि पारिएका वर्गका छोराछोरी अध्ययन गर्ने विद्यालयको योजना कटौती गरेर हामीमाथि अन्याय गरेको अनुभूति भएको छ। यस निर्णयले विद्यालय परिवार, अभिभावक तथा स्थानीय समुदायमा निराशा उत्पन्न गरेको छ।
यस विद्यालयको भवन चर्किएको, पानी चुहिने तथा भत्किन सक्ने जोखिम रहेको छ। भवनको प्राविधिक जाँचबाट समेत भौतिक अवस्थाको वास्तविकता पहिचान गरी आवश्यकताका आधारमा दुईकोठे भवन निर्माण योजना माग गरिएको थियो। उक्त योजना प्राप्त गर्न विद्यालयले लामो समयदेखि विभिन्न प्रयास र संघर्ष गर्दै आएको थियो। जनप्रतिनिधिहरूसँगको समन्वय तथा तत्कालीन आर्थिक मामिला र सामाजिक विकासमन्त्रीज्यूसँगको भेटघाट र पहलपछि मात्रै उक्त योजना प्राप्त भएको थियो।
विद्यालयको आवश्यकता पहिचान गरी विद्यालय व्यवस्थापन समितिको निर्णय, वडा कार्यालय तथा नगरपालिकाको सिफारिससहित सम्बन्धित मन्त्रालयमा विधिवत् रूपमा दर्ता गराई प्राप्त गरिएको योजना पर्याप्त आधार र औचित्यबिना कटौती गरिनु न्यायसङ्गत देखिँदैन। विद्यालयको भौतिक पूर्वाधार विकाससँग प्रत्यक्ष सम्बन्ध राख्ने यस्ता अत्यावश्यक योजनाको कटौतीले विद्यार्थीको सुरक्षित र सहज पठनपाठनको अधिकारमाथि समेत प्रश्न खडा गरेको छ।
माननीय मुख्यमन्त्रीज्यू,
तपाईं लामो राजनीतिक पृष्ठभूमि, जनयुद्धको अनुभव तथा समाजवादको विचारधारालाई आत्मसात् गर्दै नेतृत्वमा पुग्नुभएको व्यक्ति हुनुहुन्छ। तपाईं जस्तो अनुभवी र परिपक्व नेतृत्वबाट गरिब, विपन्न र पछाडि पारिएका समुदायका बालबालिका अध्ययन गर्ने विद्यालयका अत्यावश्यक योजनाप्रति संवेदनशीलता देखाइने अपेक्षा हामीले गरेका थियौँ। तपाईंको नेतृत्वको ओज र गरिमामाथि आँच आउने गरी सम्बन्धित निकायबाट यस्ता निर्णय हुनुले हामीलाई दुःखी र निराश बनाएको छ।
विद्यालयको शैक्षिक, भौतिक तथा समग्र विकासका लागि प्रधानाध्यापकले राजनीतिक नेतृत्वसमक्ष पटक–पटक हारगुहार गर्नुपर्ने, हात जोडेर योजना माग्नुपर्ने बाध्यता हाम्रो देशमा कहिलेसम्म रहिरहने हो? विद्यालयको वास्तविक आवश्यकता, प्राविधिक अवस्था र औचित्यका आधारमा योजना स्वीकृत हुने प्रणालीको विकास कहिले हुन्छ? शिक्षाजस्तो संवेदनशील क्षेत्रमा राजनीतिक पहुँच र प्रभावभन्दा आवश्यकतालाई प्राथमिकता दिनुपर्ने होइन र?
यसैबीच प्रदेश सरकारले पूरक बजेट ल्याउने विषयमा चर्चा भइरहेको छ। यस अवसरमा हचुवाका भरमा वा पर्याप्त आधारबिना कटौती गरिएका विद्यालयका योजनाहरूको आवश्यकता, औचित्य र प्राथमिकता पुनः मूल्याङ्कन गर्न म माननीय मुख्यमन्त्रीज्यूसमक्ष हार्दिक अनुरोध गर्दछु।
विशेषगरी, प्राविधिक रूपमा आवश्यक देखिएका, विधिवत् प्रक्रिया पूरा गरी स्वीकृतिका लागि पेस गरिएका तथा गरिब, विपन्न र पछाडि पारिएका समुदायका बालबालिकाको शैक्षिक भविष्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने विद्यालयका योजनाहरूलाई कुनै पनि प्रकारको भेदभाव नगरी पुनः समावेश गरियोस्। श्री गौरीशंकर आधारभूत विद्यालयको दुईकोठे भवन निर्माण योजनालाई समेत पूरक बजेटमार्फत सम्बोधन गरी कार्यान्वयनको सुनिश्चितता गरिदिनुहुन हार्दिक अपिल गर्दछु।
विद्यालयको भौतिक पूर्वाधार सुरक्षित र व्यवस्थित बनाउनु केवल एउटा विद्यालयको माग मात्र होइन; यो विद्यार्थीको सुरक्षित वातावरणमा अध्ययन गर्न पाउने अधिकार, अभिभावकको अपेक्षा र राज्यको शैक्षिक दायित्वसँग जोडिएको विषय हो। त्यसैले यस मागलाई कुनै राजनीतिक आग्रहका रूपमा नभई विद्यार्थीको भविष्य र शिक्षाको गुणस्तरसँग जोडिएको जायज आवश्यकताका रूपमा ग्रहण गरिदिनुहुनेछ भन्ने विश्वास लिएको छु।
अन्त्यमा, कटौतीमा परेका विद्यालय योजनाहरूको निष्पक्ष पुनरावलोकन गरी आवश्यकताका आधारमा पुनः समावेश गर्ने व्यवस्था मिलाइदिनुहुन तथा श्री गौरीशंकर आधारभूत विद्यालयको दुईकोठे भवन निर्माण योजनालाई पूरक बजेटमार्फत सुनिश्चित गरिदिनुहुन पीडित विद्यालयहरूको तर्फबाट माननीय मुख्यमन्त्रीज्यूसमक्ष सामाजिक सञ्जालमार्फत हार्दिक अपिल गर्दछु।
न्यायपूर्ण निर्णय, सुरक्षित विद्यालय भवन र सबै बालबालिकाका लागि समान शैक्षिक अवसरको अपेक्षासहित।
सादर,
जगदीशप्रसाद जोशी
प्रधानाध्यापक
श्री गौरीशंकर आधारभूत विद्यालय, नौलाखेत, भीमदत्त नगरपालिका–३, कञ्चनपुर।
मिति: २०८३/०७/०६