कञ्चनपुर । सार्क एजुकेसन फाउन्डेसनको आयोजनामा असोज ३ र ४ गते आयोजित ‘सार्क राष्ट्रिय अनुसन्धान सम्मेलन २०८३’ सम्पन्न भएको छ । कक्षा ४ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको सम्मेलनमा विद्यार्थीले अनुसन्धान, नवप्रवर्तन, कार्यशील नमुना तथा समुदायमा देखिएका वास्तविक समस्याका व्यावहारिक समाधान प्रस्तुत गरेका थिए ।
दुई दिने सम्मेलनमा १६ वटा अनुसन्धान स्टल, दुई वटा प्यानल छलफल तथा १२ जना विद्यार्थी अनुसन्धानकर्ताले आफ्ना अनुसन्धान प्रस्तुत गरेका थिए । सम्मेलनमा विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता, शिक्षाविद्, विज्ञ तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्रोत व्यक्तिको सहभागिता रहेको आयोजकले जनाएको छ । फाउन्डेसनका कार्यकारी निर्देशक डा. लक्ष्मण बस्नेतले सम्मेलनले विद्यार्थीमा अनुसन्धानप्रतिको रुचि, जिज्ञासा र सृजनशीलता बढाउनुका साथै आफ्ना खोज तथा नयाँ विचार प्रस्तुत गर्ने अवसर प्रदान गरेको बताउनुभयो । उहाँका अनुसार अनुसन्धानलाई शैक्षिक अभ्यासमा मात्र सीमित नराखी समुदाय तथा समाजका वास्तविक समस्या पहिचान र समाधान गर्ने माध्यमका रूपमा पनि विकास गर्न सम्मेलनले विद्यार्थीलाई प्रेरित गरेको छ ।
फाउन्डेसनका प्लस टु संयोजक राजेश भण्डारीले विद्यार्थीले आफूले सिकेको ज्ञान र सीपलाई व्यवहारमा प्रयोग गर्दै समुदायमा देखिएका समस्याको समाधान खोज्न सम्मेलनले प्रोत्साहन गरेको बताउनुभयो । विद्यार्थीका अनुसन्धान तथा नवप्रवर्तनलाई राष्ट्रिय स्तरको मञ्च उपलब्ध गराउने उद्देश्यले सम्मेलन आयोजना गरिएको उहाँको भनाइ छ । सम्मेलनको पहिलो दिन सांसद ज्ञानेन्द्र सिंह महता प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने दोस्रो दिन सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको आयोजकले जनाएको छ ।
सम्मेलनमा सहभागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्रोत व्यक्तिले युवा अनुसन्धानकर्तासँग अनुसन्धानका व्यावहारिक पक्ष, अनुभव र सम्भावनाबारे अन्तरक्रिया गरेका थिए । स्रोत व्यक्तिको मार्गदर्शनले विद्यार्थीलाई अनुसन्धानलाई व्यवहारिक समस्या र समुदायका आवश्यकतासँग जोड्न सहयोग पुगेको आयोजकको भनाइ छ । युवा पुस्ताको जिज्ञासा, सृजनशीलता, अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन गर्दै अनुसन्धानमार्फत समुदाय तथा समाजका चुनौतीको समाधान खोज्न सक्षम बनाउने उद्देश्यले सम्मेलन आयोजना गरिएको फाउन्डेसनले जनाएको छ ।