कञ्चनपुर । कञ्चनपुरको बेलौरीस्थित उग्रतारा बाल विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा स्वर्णीमा कँडेल संयुक्त राष्ट्र संघको ८१औँ महासभासँग सम्बन्धित कार्यक्रममा सहभागी हुन अमेरिकाको न्यूयोर्क जाने भएकी छन् । युनिसेफ नेपालकी युवा अधिवक्तासमेत रहेकी कँडेलले बाल अधिकार, किशोरी सशक्तीकरण तथा युवाका सवालमा अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना विचार प्रस्तुत गर्ने अवसर पाउने भएकी हुन् ।
संयुक्त राष्ट्र संघको ८१औँ महासभा सन् २०२६ सेप्टेम्बर २१ देखि २५ सम्म अमेरिकाको न्यूयोर्कमा आयोजना हुँदैछ । महासभासँग सम्बन्धित ‘युनाइटेड नेसन्स विक’ का विभिन्न कार्यक्रममा कँडेलले युनिसेफ नेपालको युवा अधिवक्ताका रूपमा सहभागिता जनाउनेछिन् ।
बाल अधिकारको प्रवर्द्धन, किशोरी सशक्तीकरण तथा युनिसेफका कार्यक्रम र पैरवीसम्बन्धी गतिविधिमा सक्रिय सहभागिता र प्रतिबद्धताका आधारमा कँडेललाई अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुने अवसर प्राप्त भएको हो ।

न्यूयोर्कमा रहँदा उनले विश्वका विभिन्न देशका युवासँग छलफल तथा अन्तरक्रियामा सहभागी हुनुका साथै विभिन्न साइड इभेन्टमा आफ्ना अनुभव, विचार र दृष्टिकोण प्रस्तुत गर्नेछिन् । बालबालिका तथा युवाका अधिकार, उनीहरूको कल्याण र किशोरी सशक्तीकरणका विषयमा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाज प्रस्तुत गर्ने अवसरसमेत उनले पाउनेछिन् ।
स्वर्णीमाको अन्तर्राष्ट्रिय सहभागितालाई लिएर उग्रतारा बाल विद्यालयले बिहीबार विशेष कार्यक्रम आयोजना गरी उनको सफल यात्रा तथा प्रभावकारी सहभागिताका लागि शुभकामना व्यक्त गरेको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक केशव सिंह बिष्टले स्वर्णीमाको अन्तर्राष्ट्रियस्तरको सहभागिता विद्यालयका लागि गौरवको विषय भएको बताए । उनले स्वर्णीमाले विद्यालयसँगै बेलौरी र कञ्चनपुरको नाम अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

बेलौरी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख तथा विद्यालय निरीक्षक अम्बादत्त भट्टले स्वर्णीमाको उपलब्धि बेलौरीका लागि मात्र नभई समग्र नेपालकै गौरवको विषय भएको बताए । कलिलो उमेरमै विश्वकै महत्वपूर्ण अन्तर्राष्ट्रिय संस्थासँग सम्बन्धित मञ्चमा विभिन्न देशका प्रतिनिधि तथा व्यक्तित्वहरूसमक्ष आफ्ना विचार राख्ने अवसर प्राप्त गर्नु महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ । उनले विद्यालय, अभिभावक र सम्बन्धित पक्षहरूको निरन्तर सहयोग तथा साझा प्रयासकै परिणामस्वरूप स्वर्णीमाले यस्तो अन्तर्राष्ट्रिय अवसर प्राप्त गरेको बताए ।
बेलौरी नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख बिमला बज्गाईँले संयुक्त राष्ट्र संघसँग सम्बन्धित कार्यक्रममा सहभागी हुने अवसर स्वर्णीमा, उनको परिवार, विद्यालय र बेलौरीका लागि गौरवको विषय भएको बताइन् । उनले स्वर्णीमाको सफल सहभागिता तथा उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गरिन् ।
त्यस्तै, महाकाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मराज जोशीले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मञ्चमा सहभागी हुने अवसर स्वर्णीमाका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । उनले स्वर्णीमालाई बधाई दिँदै सफल सहभागिताका लागि शुभकामना व्यक्त गरे ।

कार्यक्रममा बेलौरी नगर खेलकुद समितिका अध्यक्ष रामेश्वर न्यौपाने, विद्यालय व्यवस्थापन समितिका सदस्य गोविन्द सापकोटा र देबु सुवेदीलगायत अभिभावकहरूको सहभागिता रहेको थियो । सहभागीहरूले स्वर्णीमाले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचानसँगै बालबालिका तथा युवाका सवाललाई प्रभावकारी रूपमा प्रस्तुत गर्न सफल होऊन् भन्ने शुभकामना व्यक्त गरे ।
उग्रतारा बाल विद्यालयकी छात्रा स्वर्णीमाको यो अन्तर्राष्ट्रिय सहभागिताले विद्यालय, बेलौरी र सुदूरपश्चिमका विद्यार्थीलाई आफ्नो प्रतिभा, क्षमता र आवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउन प्रेरणा दिने अपेक्षा गरिएको छ ।
