राजनीतिमा सबैभन्दा सजिलो काम जनतालाई तत्काल खुसी पार्नु हो। लोकप्रिय नारा दिनु, जनतालाई एकछिनको खुसी मिल्ने किसिमका लोकप्रिय कार्य गर्नु, भीडले रुचाएका निर्णय गर्नु, सामाजिक सञ्जालमा ताली पाउने काम गर्नु र तत्कालको जनभावनाअनुसार आफूलाई प्रस्तुत गर्नु। तर राजनीतिमा सबैभन्दा कठिन काम भनेको आज आलोचना सहेर पनि भोलिको पुस्ताका लागि आवश्यक निर्णय लिनु हो।
यहीँनेर सामान्य राजनीतिकर्मी र दूरदर्शी नेताबीचको भिन्नता देखिन्छ। सामान्य राजनीतिकर्मीले ताली रोज्छन् ताकी सत्तामा रहन सकियोस् वा चुनाव जित्न सकियोस् अनि राजनेताले भोलिको पुस्तालाई राम्रो हुने कार्य गर्छ चाहे ताली मिलोस् वा गाली। लोकप्रियता क्षणिक हुन्छ, केही वर्ष निर्वाचन जिताउला, केही समय राज्यसत्ताको पहुँच देला तर नीतिको प्रभाव पुस्तौँसम्म रहन सक्छ, इतिहासमा नाम लेखिन सक्छ।
आज जनतालाई अप्रिय लाग्ने कुनै निर्णय भोलि देशको हितमा प्रमाणित हुन सक्छ। त्यसै गरी, आज अत्यन्त लोकप्रिय देखिएको निर्णयले भोलि देशलाई ठूलो मूल्य चुकाउनुपर्ने अवस्थामा पनि पुर्याउन सक्छ। त्यसैले नेतृत्वको मूल्याङ्कन ताली र गालीको सङ्ख्याले होइन, उसले छोडेर जाने संस्थागत संरचना, आर्थिक अवस्था र भविष्यको सम्भावनाले गर्नुपर्छ।
सिंगापुरका संस्थापक प्रधानमन्त्री ली क्वान युको राजनीतिक जीवनलाई हेर्दा यो विषय अझ प्रस्ट हुन्छ।
सन् १९५९ देखि १९९० सम्म प्रधानमन्त्री रहेका ली क्वान युले प्राकृतिक स्रोतको अभाव, बेरोजगारी, जातीय तनाव र राजनीतिक अस्थिरताबीच सिंगापुरको नेतृत्व गरे। सन् १९६५ मा मलेसियाबाट अलग भएपछि सिंगापुरको अस्तित्व र भविष्य नै अनिश्चित थियो। तर उनले औद्योगिकीकरण, शिक्षा, आवास, वैदेशिक लगानी, प्रशासनिक अनुशासन र दीर्घकालीन आर्थिक योजनालाई प्राथमिकता दिए। आजको विकसित सिंगापुर निर्माणमा ती नीतिहरूको महत्त्वपूर्ण भूमिका रह्यो।
तर ली क्वान युको यात्रा अहिले जस्तो प्रशंसाले मात्र भरिएको थिएन। उनको शासनकालमा विपक्षी राजनीतिकर्मीहरूको गिरफ्तारी, Internal Security Act को प्रयोग, प्रेस स्वतन्त्रतामाथिको नियन्त्रण र आलोचकहरूमाथि मानहानिका मुद्दा चलाइएको विषयमा गम्भीर प्रश्न उठे। विपक्षी नेताहरू सङ्गको राजनीतिक तथा कानुनी सङ्घर्ष पनि उनको शासन शैलीमाथि उठेका आलोचनाको एउटा उदाहरण हो।
उनका समर्थकहरूले यी कदमलाई राष्ट्रिय सुरक्षा, राजनीतिक स्थिरता र सामाजिक एकतासँग जोडेर व्याख्या गरे। आलोचकहरूले भने राष्ट्रिय सुरक्षाको नाममा राजनीतिक असहमतिलाई सीमित गरिएको र लोकतान्त्रिक स्वतन्त्रता कमजोर बनाइएको तर्क गरे। अर्थात्, ली क्वान युको इतिहास केवल आर्थिक सफलताको कथा होइन; यो विकास, शक्ति, स्वतन्त्रता र जवाफदेहिताबीचको द्वन्द्वको इतिहास पनि हो।
उनको एउटा महत्त्वपूर्ण विशेषता भनेको आलोचनाका बीच पनि आफ्नो दीर्घकालीन राजनीतिक दृष्टिकोणबाट पछि नहट्नु थियो। तर यसलाई आलोचनाबाट मुक्त हुने अधिकारका रूपमा बुझ्नु हुँदैन। दृढ नेतृत्व र जवाफदेही नेतृत्व एक अर्काका विरोधी होइनन्। नेपालमा बालेन शाहको राजनीतिक उदयलाई हेर्दा केही समान प्रकृतिका बहसहरू देखिन्छन्।
अझै भन्ने हो भने नेपालको इतिहासमा शासन सत्ता सम्हालेका नेतृत्व मध्य राजा पृथ्वीनारायण शाह पछि, जङ्ग ब राणा, बिपी कोइराला , राजा महेन्द्र वीर विक्रम शाह पछि सम्भवतः परम्परागत राजनीतिक संस्कार भन्दा फरक शैलीको राजनीतिक अभ्यास गर्नेमा बालेन पर्छन्।
परम्परागत राजनीतिक दल र स्थापित नेतृत्वप्रति जनताको निराशाबीच बालेन शाहले फरक राजनीतिक शैली प्रस्तुत गरे। काठमाडौँ महानगरपालिकाको नेतृत्वमा आएपछि उनले सार्वजनिक जग्गा अतिक्रमण, अवैध संरचना, पार्किङ, सडक व्यवस्थापन, फुटपाथ व्यापार र प्रशासनिक बेथितिजस्ता विषयमा हस्तक्षेप गरे। यस्ता कदमले कतिपय अवस्थामा शक्तिशाली स्वार्थ समूहसँग उनको टकराब भयो भने अर्कोतर्फ प्रभावित नागरिक, व्यवसायी र सामाजिक समूहबाट आलोचना पनि भयो।
उनको कार्यशैलीमाथि पनि प्रश्न उठे। सञ्चारमाध्यमसँग पर्याप्त संवाद नगरेको, सामाजिक सञ्जालमा आक्रामक अभिव्यक्ति दिएको, महानगरका निर्वाचित प्रतिनिधि र कर्मचारीसँग संस्थागत समन्वय कमजोर बनाएको तथा सडक व्यवसायी र सुकुम्वासीमाथि गरिएका कारबाहीमा कठोरता देखाएको आरोप लाग्यो। विकास बजेटको प्रभावकारी उपयोग र महानगरका कतिपय प्रतिबद्धताको कार्यान्वयनमाथि समेत प्रश्न उठे।
जेन्जी आन्दोलन पछिको निर्वाचनमा उनलाई प्रमको रूपमा अघि सार्दै चुनावमा होमिएको रास्वपाले सदनमा करिब करिब २/३ को बहुमत पायो।
तर बालेनको शैली उस्तै रह्यो उनी पक्ष वा विपक्षका चर्चा भन्दा बाहिर रहेनन्, केही शीर्ष नेताको पक्राउ, सुकुम्बासी बस्ती हटाउने तथा लालपुर्जा वितरण गर्ने, सरकारी पोर्टलहरूमा कमजोरीहरू हटाउन साइबर सेक्युरिटी मजबुत पार्ने, प्रशासनिक कडाइ, VIP का नाममा गरी तडकभडक बन्द गर्ने जस्ता कार्य देखि लिएर IGP लाई हटाउने सम्मका कार्यमा उनका पक्ष-विपक्षमा अनेक चर्चा भए अनेक प्रश्न उठे।
यी प्रश्नलाई केवल विरोधीको प्रहार भनेर पन्छाउन मिल्दैन। जनताबाट निर्वाचित नेतृत्वले आफ्ना निर्णयको औचित्य प्रमाणित गर्नुपर्छ। अधिकार प्रयोग गर्दा कानुन, मानवीय संवेदना र नागरिकको सम्मानलाई पनि उत्तिकै महत्त्व दिनुपर्छ। तर यहाँ एउटा फरक प्रश्न पनि महत्त्वपूर्ण छ त्यो के भने : के कुनै नेताले लोकप्रियता गुम्ने डरले आवश्यक तर अप्रिय निर्णय लिनै छोड्ने?
फुटपाथ व्यवस्थापन गर्नुपर्छ भने त्यसको विकल्प पनि दिनुपर्छ। सार्वजनिक जग्गा संरक्षण गर्नुपर्छ भने कमजोर नागरिकको आवास र जीविकोपार्जनको प्रश्न पनि सम्बोधन गर्नुपर्छ। अवैध संरचना हटाउनुपर्छ भने कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्छ। प्रशासन सुधार गर्नुपर्छ भने संस्थागत प्रक्रिया र समन्वयलाई पनि बलियो बनाउनुपर्छ।
दूरदर्शी नेतृत्वको अर्थ जनताको आवाज नसुन्नु होइन; जनताको तत्कालीन असन्तुष्टिलाई मात्र आफ्नो निर्णयको अन्तिम आधार नबनाउनु हो।
ली क्वान यु र बालेन शाहको समय, देश, राजनीतिक व्यवस्था र अधिकारको दायरा फरक छन्। त्यसैले उनीहरूलाई एउटै तराजुमा राखेर समान ठहर गर्न मिल्दैन। तर परम्परागत राजनीतिक संस्कारलाई चुनौती दिने, स्थापित स्वार्थसँग टकराउने र लोकप्रियताभन्दा परिणामलाई महत्त्व दिने नेतृत्वको बहसमा यी दुई नामबीच केही हद सम्म तुलना गर्न सकिन्छ।
बालेनमाथि पनि कहिलेकाहीँ विदेशी शक्तिको प्रभाव वा बाह्य स्वार्थसँग जोडिएका आरोप र राजनीतिक भाष्यहरू सार्वजनिक भए। ली क्वान युको समयमा पनि कम्युनिस्ट प्रभाव, विदेशी हस्तक्षेप र राष्ट्रिय सुरक्षासँग जोडिएका गम्भीर राजनीतिक विवाद थिए। तर यस्ता आरोपलाई प्रमाणित तथ्य ठान्नु हुँदैन। आरोप लाग्नु र आरोप प्रमाणित हुनु फरक कुरा हुन्। यो कुरा लि क्वान यु र बालेनमा मात्र होइन विश्वकै शक्तिशाली नेता पुटिन, ट्रम्प, मोदी हुन वा नेपालमा प्रचण्ड , गगन , केपी, रवि सबैमा समान रूपले लागू हुन्छ। कुनै पनि नेताले आरोपको जवाफ तथ्य, पारदर्शिता र कामबाट दिनुपर्छ।
हामीले बुझ्नुपर्ने कुरा के हो भने दूरदर्शी नेतृत्वको परीक्षा प्रशंसा पाउँदा होइन, आलोचना खेप्दा हुन्छ। तर आलोचनालाई सहनु र आलोचनालाई बेवास्ता गर्नु फरक कुरा हो। प्रश्नबाट भाग्ने नेता दूरदर्शी हुन सक्दैन। आफ्नो निर्णयको कारण बताउने, गल्ती भए स्विकार्ने, प्रमाणका आधारमा आफूलाई सच्याउने र आवश्यक निर्णयबाट पछि नहट्ने नेतृत्व नै वास्तवमा बलियो हुन्छ।
नेपाललाई अहिले चाहिएको नेतृत्व लोकप्रियताको प्रतिस्पर्धामा रमाउने होइन, दीर्घकालीन राष्ट्रिय हितका लागि काम गर्ने हो। पाँच वर्षपछि चुनाव जित्ने हिसाबले होइन, पच्चीस वर्षपछि देश कस्तो हुनेछ भन्ने सोचेर निर्णय गर्ने नेतृत्व हो। नागरिकहरूले नेतासँग सधैँ खुसी बनाउने निर्णयको अपेक्षा गर्नु हुँदैन। बरु नेतृत्वले गरेका निर्णय सही छन् कि छैनन्, कानुनसम्मत छन् कि छैनन्, सबै नागरिकप्रति न्यायपूर्ण छन् कि छैनन् र तिनले देशलाई कुन दिशामा लैजाँदै छन् भनेर प्रश्न गर्नुपर्छ।
किनकि इतिहासमा धेरै नेता आफ्नो कार्यकालमा विवादित भए, आलोचित भए र विरोधको केन्द्र बने। तर इतिहासले अन्ततः उनीहरूको मूल्याङ्कन तत्कालीन लोकप्रियताका आधारमा मात्र गरेन; उनीहरूले निर्माण गरेका संस्था, नीतिहरू र त्यसका दीर्घकालीन परिणामका आधारमा पनि गर्यो।
नेतृत्वको वास्तविक उचाइ उसले आफ्नो कार्यकालमा कति ताली पायो भन्ने कुराले होइन, उसले पद छोड्दा देशलाई कस्तो अवस्थामा छोड्यो भन्ने कुराले निर्धारण गर्छ। आजको तालीका लागि भोलिको भविष्य बेच्न हुँदैन। र भोलिको भविष्य निर्माण गर्ने नाममा आजका नागरिकको अधिकार पनि छिन्नु हुँदैन। यही सन्तुलन नै दूरदर्शी र जिम्मेवार नेतृत्वको वास्तविक परीक्षा हो।
- ई विवेक पन्त
"रिफरेन्स : लि क्वान यु -आधुनिक सिङ्गापुरका निर्माता"