सुदूरपश्चिम, २५ भदौ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकार वादी तथा दलित समुदायका अधिकार सुनिश्चित गर्न गम्भीर रहेको बताउनुभएको छ। सुदूरपश्चिम प्रदेश वादी उत्थान विकास समितिको सम्मेलनमा बोल्दै मुख्यमन्त्री भट्टले गरिब, असहाय र भुइँमान्छेका पक्षमा काम गर्ने गरी आगामी बजेट तथा कार्यक्रम निर्माणको तयारी भइरहेको बताउनुभयो।

महिला, गरिब, असहाय, बालबालिका, नवयुवा, वादी तथा सुकुम्बासी समुदायमैत्री सरकार निर्माणसँगै सुशासनयुक्त शासन व्यवस्थालाई प्राथमिकतामा राखेर बजेट निर्माणको तयारी भइरहेको उहाँले बताउनुभयो। उहाँले राज्यमा अझै पनि असमानता र विभेद कायम रहेको उल्लेख गर्दै त्यसको अन्त्यका लागि राज्यले गर्नुपर्ने धेरै काम बाँकी रहेको बताउनुभयो। दश वर्षे जनयुद्धले दलित तथा वादी समुदायमाथि हुने विभिन्न प्रकारका विभेद अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ थियो।

मुख्यमन्त्री भट्टले आगामी बजेटमा ‘दलित अधिकार दशक’ का रूपमा विशेष कार्यक्रम ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो। दलित समुदायमाथिको छुवाछुत पूर्ण रूपमा अन्त्य गर्दै उनीहरूको आर्थिक तथा सामाजिक जीवनमा परिवर्तन ल्याउने गरी कार्यक्रम तथा योजना अघि बढाइने उहाँले बताउनुभयो। प्रदेशको औचित्य पुष्टि हुने गरी बजेट निर्माण गरिने उल्लेख गर्दै मुख्यमन्त्री भट्टले वादी समुदायका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

राज्यले अझै धेरै प्रकारका विभेद अन्त्य गर्न बाँकी रहेको भन्दै उहाँले सबै समुदायको पहिचान, आत्मसम्मान र अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो। दलित समुदायभित्रै रहेको विभेद र छुवाछुतको समेत अन्त्य गर्न आवश्यक रहेको उहाँको भनाइ थियो। समानता, सामाजिक न्याय र सम्मानमा आधारित समाज निर्माणका लागि प्रदेश सरकारले आगामी बजेटमार्फत विशेष पहल गर्ने मुख्यमन्त्री भट्टले बताउनुभयो।