हरिश्चन्द्र बाग / प्रकाश भट्ट, बैतडी, ०१ कार्तिक । बैतडीको प्रसिद्ध शक्तिपीठ निङ्गलाशैनी भगवती मन्दिरमा महाअष्टमीका अवसरमा भव्य जात्रा लागेको छ । स्थानीय भाषिकामा निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रालाई देहीमाडौँकी जाँत भनिन्छ । दशरथचन्द नगरपालिका-२, देहीमाडौँस्थित मन्दिरमा पूजाआजा र दर्शनका लागि सुदूरपश्चिमका विभिन्न जिल्लाका साथै छिमेकी राष्ट्र भारतबाट समेत भक्तजन पुगेका छन् ।

निङ्गलाशैनी भगवतीलाई सुदूरपश्चिमका सात बहिनी भगवतीमध्ये एकका रूपमा पूजाआजा गर्ने धार्मिक परम्परा छ । दसैँको नवरात्राअन्तर्गत मन्दिरमा घटस्थापनादेखि नै नियमित पूजापाठ हुने भएपनि सप्तमी र महाअष्टमीमा निङ्गलाशैनी भगवती मन्दिरमा विशेष जात्रा लाग्ने गरेको पण्डित देवदत्त भट्टले बताए । उनका अनुसार नवरात्रको यस अवसरमा देवीको पूजाआजा र दर्शनका लागि टाढाटाढाबाट भक्तजन आउने गर्छन् ।

धार्मिक आस्था, परम्परा र सांस्कृतिक महत्त्व बोकेको यस शक्तिपीठमा लाग्ने जात्राले बैतडीसहित सुदूरपश्चिमको धार्मिक तथा सांस्कृतिक पहिचानलाई जीवन्त राख्दै आएको दर्शनार्थी जनकबहादुर चन्दको बुझाइ छ । जात्रामा देवीको दर्शन र पूजाआजासँगै देउडा खेलले समेत विशेष रौनक थप्ने गरेको उनले बताए ।

“निङ्गलाशैनी भगवतीको जात्रा धार्मिक आस्थाको केन्द्र मात्र होइन, हाम्रो मौलिक संस्कृति र परम्परा जोगाउने महत्त्वपूर्ण अवसर पनि हो,” दर्शनार्थी चन्दले भने, “जात्रामा देउडा खेलमार्फत स्थानीय कला, संस्कृति र आपसी सद्भावसमेत झल्किने गरेको छ ।”

यसैबीच, सुदूरपश्चिमका विभिन्न प्रसिद्ध भगवती शक्तिपीठमा पनि महाअष्टमीका अवसरमा विशेष पूजाआजा, दर्शन र धार्मिक अनुष्ठान भइरहेका छन् । बडीमालिका (बाजुरा), शैलेश्वरी (डोटी), उग्रतारा (डडेलधुरा), निङ्गलाशैनी (बैतडी), त्रिपुरासुन्दरी (बैतडी), डिलाशैनी (बैतडी) र मेलौली भगवती (बैतडी) लाई सुदूरपश्चिमका सात बहिनी भगवतीका रूपमा लिइने र स्थानीय धार्मिक परम्पराअनुसार देवीको आराधना गरिँदै आएको ज्योतिष पण्डित यज्ञराज पन्तले जानकारी दिए ।

महाअष्टमीका दिन भगवतीको दर्शन, पूजापाठ र धार्मिक अनुष्ठानबाट सुख, शान्ति, समृद्धि तथा परिवारको कल्याण हुने धार्मिक विश्वास छ । ज्योतिष पण्डित पन्तका अनुसार यी शक्तिपीठमा मनाइने जात्रा र पूजा परम्पराले सुदूरपश्चिमको मौलिक धार्मिक आस्था, सांस्कृतिक सम्पदा र पुस्तौँदेखि चलिआएको परम्परालाई निरन्तरता दिँदै आएका छन् ।




