हरिश्चन्द्र बाग, कञ्चनपुर, २८ भदौ । थारु समुदायको दोस्रो ठूलो पर्व अटवारी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा आइतबार मनाइँदै छ । भाद्र शुक्ल पक्षको पहिलो आइतबार मनाइने यो पर्व व्रत र पूजामा मात्र सीमित छैन । थारु समुदायको इतिहास, धार्मिक आस्था, मौलिक संस्कृति तथा दाजुभाइ र दिदीबहिनीबीचको आत्मीय सम्बन्ध जोड्ने पर्वका रूपमा अटवारीलाई लिइन्छ । थारु समुदायमा अटवारीलाई माघीपछिको दोस्रो ठूलो पर्व मानिन्छ । पर्वका अवसरमा पुरुषहरू दिदीबहिनीको दीर्घायु, सुख, शान्ति र सौभाग्यको कामना गर्दै दिनभर निराहार व्रत बस्ने र साँझपख विशेष पूजा गर्ने चलन छ ।

अटवारीको धार्मिक मान्यता भने ठाउँ र समुदायअनुसार केही फरक पाइन्छ । थारु समुदायमा प्रचलित एक मान्यताअनुसार प्राचीन कालमा थारु राजा दङ्गीशरणमाथि आक्रमण हुँदा पाँच पाण्डवमध्येका भीमले सहयोग गरी उनको रक्षा गरेका थिए । भीमकै सहयोगमा राजा दङ्गीशरण बाँचेको र शत्रुलाई परास्त गरिएको विश्वासका आधारमा अटवारीमा भीमको पूजा गर्ने तथा आफू पनि भीमजस्तै बलियो हुने कामना गर्ने परम्परा रहेको थारु अगुवाहरू बताउँछन् ।

लालझाडी गाउँपालिका-३ का वडाध्यक्ष टिकाराम डगौरा अटवारीलाई थारु समुदायको इतिहास र धार्मिक आस्थासँग जोडिएको पर्वका रूपमा व्याख्या गर्छन् । उनका अनुसार राजा दङ्गीशरणको रक्षामा भीमले खेलेको भूमिकाको सम्झनामा अटवारीमा भीमको पूजा गर्ने परम्परा चलिआएको हो । “राजा दङ्गीशरणमाथि आक्रमण हुँदा भीमले सहयोग गरेर उनको रक्षा गरेको मान्यता छ । त्यसैले भीमलाई शक्तिको प्रतीकका रूपमा पूजा गर्दै आफू पनि भीमजस्तै बलियो होऔँ भन्ने कामनाका साथ अटवारीमा व्रत बस्ने र पूजा गर्ने चलन छ,” डगौराले भने ।

थारु संस्कृतिका अध्येता दाङका अशोक थारु भने अटवारीको धार्मिक मान्यताका विषयमा थारु समुदायभित्रै फरक-फरक व्याख्या रहेको बताउँछन् । उनका अनुसार एकथरीले अटवारीलाई भीमको पूजासँग जोड्छन् भने अर्काथरीले सूर्यको पूजासँग सम्बन्धित पर्वका रूपमा व्याख्या गर्छन् । “अटवारीको सम्बन्ध भीमको पूजासँग जोड्ने मान्यता पनि छ । तर सूर्यको पूजा गर्ने परम्परासँग जोडेर व्याख्या गर्नेहरू पनि छन् । थारु भाषामा आइतबारलाई ‘अटवार’ भनिन्छ र त्यही अटवारबाट अटवारी नाम रहन गएको मानिन्छ,” थारुले भने, “आइतबारलाई रविबार पनि भनिन्छ । रवि भनेको सूर्य हो । त्यसैले अटवारी सूर्य पूजासँग सम्बन्धित पर्व हो भन्ने तर्क पनि थारु समुदायमा पाइन्छ ।”

धार्मिक मान्यता जे भए पनि अटवारी मनाउने विधि भने विशिष्ट छ । व्रत बसेका पुरुषहरूले साँझपख गन्यारी नामक काठबाट निकालिएको चोखो आगोमा रोटी तथा विभिन्न परिकार पकाउँछन् । पूजा तथा परिकार पकाउने स्थानलाई गाईको गोबरले लिपपोत गरी शुद्ध बनाउने चलन छ । तयार गरिएका रोटी, अन्य परिकार तथा फलफूल अग्निदेवलाई अर्पण गरेपछि व्रतालुले प्रसादका रूपमा ग्रहण गर्छन् । तर आफूले खानुअघि दिदीबहिनीका लागि एक भाग छुट्टाएर राख्ने गरिन्छ । यही छुट्टाइएको भागलाई थारु समुदायमा ‘अग्रासन’ भनिन्छ ।

लालझाडी-३ छोटिपर्सियाका भगत सिंह चौधरीका अनुसार अग्रासन अटवारीको महत्त्वपूर्ण सांस्कृतिक पक्ष हो । आफूले खाने परिकारबाट दिदीबहिनीका लागि भाग छुट्टाउने परम्पराले चेलीबेटीप्रतिको सम्मान र दाजुभाइको जिम्मेवारीलाई समेत झल्काउने उनी बताउँछन् । “अटवारीमा व्रत बसेर पूजा गरेपछि पकाइएको रोटी तथा परिकारमध्ये दिदीबहिनीका लागि छुट्टै भाग राखिन्छ । त्यसलाई अग्रासन भनिन्छ । आफ्नो भाग खानुभन्दा पहिले चेलीबेटीका लागि भाग छुट्टाउनु नै यस पर्वको एउटा महत्त्वपूर्ण संस्कार हो,” चौधरीले भने, “अग्रासन अर्को दिन दिदीबहिनीलाई दिएर उनीहरूको सुख, शान्ति र दीर्घायुको कामना गर्ने परम्परा छ ।”

अग्रासन अर्को दिन अर्थात् सोमबार विवाहित छोरीचेली तथा दिदीबहिनीलाई दिने चलन छ । दाजुभाइ अग्रासन लिएर दिदीबहिनीको घर पुग्छन् । दिदीबहिनीले पनि दाजुभाइलाई उपहार दिने गर्छन् । दाङका थारु अगुवा लक्ष्मीमान चौधरीका अनुसार वर्षभरि माइतीघर आउन नपाएका विवाहित छोरीचेली तथा दिदीबहिनीलाई अटवारीले माइतीसँग भेटघाट गर्ने अवसरसमेत प्रदान गर्छ । “विवाहपछि टाढा गएका छोरीचेली वर्षभरि माइती आउन नपाएका हुन सक्छन् । अटवारीमा अग्रासन लिएर दाजुभाइ उनीहरूकहाँ पुग्छन् । त्यस क्रममा दाजुभाइ र दिदीबहिनीबीच भेटघाट, भलाकुसारी र उपहार आदानप्रदान हुन्छ,” चौधरीले भने, “त्यसैले अटवारी धार्मिक पर्व मात्र होइन, दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने सामाजिक पर्व पनि हो ।”

अटवारीको दोस्रो दिन विभिन्न परिकार खाने चलनसमेत छ । फुलौरी, केराउ, पटौला, ठच्चालगायतका परिकारसँगै माछाको सिद्रा खाने परम्परा रहेको थारु समुदायका अगुवाहरू बताउँछन् । अटवारी पर्वमा थारु पुरुषले व्रत बस्ने चलन डगौरा थारु समुदायमा बढी देखिन्छ । साँझपख गन्यारी काठबाट निकालिएको चोखो आगोमा परिकार पकाउने, पूजा गर्ने र प्रसाद ग्रहण गर्ने विधिले पर्वको मौलिकता झल्काउँछ ।

यता, कञ्चनपुर र कैलालीका राना थारु समुदायले भाद्र शुक्ल पक्षको पहिलो आइतबारलाई ‘दिन इतबार’ का रूपमा मनाउने गर्छन् । राना थारु समुदायमा महिला र पुरुष दुवैले व्रत बस्ने चलन छ । साँझपख पूजाआजा गरी विभिन्न परिकार बनाएर सामूहिक रूपमा भोजन गर्ने गरिन्छ । लालझाडी-३ छोटिपर्सियाका मनीराम रानाका अनुसार दिन इतबार राना थारु समुदायको धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको पर्व हो । “हाम्रो समुदायमा भाद्र शुक्ल पक्षको पहिलो आइतबारलाई दिन इतबार भनेर मनाउने चलन छ । महिला र पुरुष दुवै व्रत बस्छौँ । साँझपख पूजा गरेर विभिन्न परिकार बनाइन्छ र परिवार तथा समुदायका सदस्य मिलेर भोजन गर्छौँ,” रानाले भने, “यसले हाम्रो परम्परा र संस्कृतिलाई पुस्तादेखि पुस्तासम्म जोड्ने काम गरेको छ ।”

डगौरा थारुको अटवारी र राना थारुको दिन इतबार मनाउने विधि र धार्मिक व्याख्यामा केही फरक भए पनि दुवै पर्वमा परिवार, समुदाय, आस्था र मौलिक संस्कृतिको निरन्तरता जोडिएको छ । नयाँ पुस्तालाई आफ्नो संस्कृति र परम्परासँग जोड्ने माध्यमका रूपमा पनि यी पर्वलाई लिइन्छ । अटवारी पर्वको अवसरमा सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारले पछिल्ला केही वर्षयता सार्वजनिक बिदा दिँदै आएका छन् । थारु बाहुल्य क्षेत्रका केही स्थानीय तहले भने पर्वका अवसरमा भोलिपल्ट सोमबार पनि थप स्थानीय बिदासमेत दिने गरेका छन् ।
अटवारीमा चोखो आगोमा पकाइने परिकार, भीम वा सूर्य पूजासँग जोडिएका धार्मिक विश्वास र दिदीबहिनीका लागि छुट्टाइने अग्रासनले थारु समुदायको मौलिक संस्कृति र सामाजिक मूल्यलाई प्रतिबिम्बित गर्छ । त्यसैले अटवारी थारु समुदायका लागि एउटा पर्व मात्र नभई इतिहास, आस्था, संस्कृति र पारिवारिक सम्बन्धलाई एकै ठाउँमा जोड्ने अवसरसमेत बनेको छ ।

बदलिँदो जीवनशैली, वैदेशिक रोजगारी र बसाइसराइका कारण परम्परागत पर्व मनाउने तौरतरिकामा केही परिवर्तन आए पनि अटवारीको सांस्कृतिक महत्त्व भने घटेको छैन । दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्ध, चेलीबेटीप्रतिको सम्मान तथा समुदायको मौलिक पहिचानलाई जोड्ने पर्वका रूपमा यसको महत्त्व अझै कायम रहेको थारु समुदायका अगुवाहरू बताउँछन् ।


