हरिश्चन्द्र बाग, कञ्चनपुर । सुदूरपश्चिममा अहिले गौरा पर्वको रौनक छ । पञ्चमीमा बिरुडा भिजाएर सुरु भएको पर्व सप्तमीमा गौरा भित्र्याउँदै अष्टमीमा पुग्दा धार्मिकसँगै सांस्कृतिक उत्सवमा परिणत हुन्छ । बिरुडा, गौरा-महेश्वर पूजा, दुबधागो, अठेवाली, फाग, सगुन र देउडा यी सबै गौराका विशेषता हुन् ।
यस वर्ष भाद्र कृष्ण पक्षमा परेको गौरा पर्व सुदूरपश्चिमेलीहरुले आफ्नै मौलिक परम्परा अनुसार मनाएका छन् । पञ्चमीमा बिरुडा भिजाएर सुरु भएको पर्वका धार्मिक विधि अष्टमीसम्म आइपुग्दा थप जीवन्त बन्छन् । गहुँ, गहत, गुरुँस, मास र केराउ मिसाएर तयार गरिने बिरुडा गौराको सुरुवाती संस्कार हो । समुदायअनुसार बिरुडा तयार गर्ने विधिमा केही फरकसमेत पाइन्छ । षष्ठी तिथिमा नजिकैका जलाशयमा लगेर बिरुडा पखालिन्छ । सप्तमीमा धानको बोट, साउँ, दुबो, तिल, कुश र अपामार्गजस्ता पवित्र वनस्पतिबाट गौरा देवीको प्रतिमूर्ति तयार गरी गौरा घर वा मन्दिरमा भित्र्याइन्छ ।
पञ्चमीदेखि सुरु भएको धार्मिक यात्रा अष्टमीमा उत्कर्षमा पुग्छ । गौरा–महेश्वरको पूजा, बिरुडा र दुबोले पूजा गर्ने तथा परिवार र आफन्तहरू जम्मा भई ढोग आशीर्वाद आदानप्रदान गर्ने परम्परा अष्टमीका मुख्य आकर्षण हुन् । यही दिन अठेवाली गाउने चलन पनि छ । गौरा पर्वको धार्मिक पक्षमा महिलाको व्रत र पूजा विशेष मानिन्छ । गौरा देवीलाई पार्वतीको स्वरूप मान्दै परिवारको सुख–शान्ति, सन्तान र दाम्पत्य जीवनको मङ्गल कामना गरिन्छ । सात गाँठो पारिएको दुबधागो पनि यही धार्मिक संस्कारको महत्त्वपूर्ण हिस्सा हो ।
गौरा पूजा र व्रतको पर्व मात्रै होइन । यससँग जोडिएका गीत, संस्कार, संस्कृति, भेटघाट र देउडा सुदूरपश्चिमका मौलिक पहिचान हुन् । गौरा लोक पर्व पनि हो । फाग, सगुन र अठेवालीमा धार्मिक कथासँगै परिवार, समाज र सुदूरपश्चिमको लोक जीवनका कथा भेटिन्छन् । गौरा धार्मिक पर्वसँगै सामाजिक पुनर्मिलनको अवसर पनि हो । टाढा रहेका आफन्त भेटिन्छन् । पुराना सम्बन्ध नवीकरण हुन्छन् । गाउँघरमा सामूहिक उत्सवको वातावरण बन्छ ।
पूजा सकिएपछि खुला चौरमा देउडाको रौनक सुरु हुन्छ । गोलाकार घेरामा पैताला मिलाएर खेलिने देउडामा गीतमार्फत समाजका कुरा उठ्छन्, ठट्यौलीदेखि व्यङ्ग्यसम्म पनि ।
गौराका यी हरेक विधिले सुदूरपश्चिमको धर्म, संस्कृति र सामाजिक जीवन बोकेका छन् । त्यसैले गौरा पर्व सुदूरपश्चिमको मौलिक सांस्कृतिक पहिचान हो । तर आधुनिक जीवनशैली, बसाइसराइ र वैदेशिक रोजगारीसँगै मौलिक संस्कार नयाँ पुस्तामा हस्तान्तरण गर्ने चुनौती पनि छ । पर्व मनाउने परम्परा मात्रै जोगाएर पुग्दैन, यसको विधि, गीत र अर्थ पनि पुस्तान्तरण गर्न जरुरी छ । किनकि गौरा एउटा पर्व मात्रै होइन, सुदूरपश्चिमको पुस्तौँ पुरानो सांस्कृतिक पहिचान पनि हो ।