हरिश्चन्द्र बाग / प्रकाश भट्ट, कञ्चनपुर, १६ भदौ । सुदूरपश्चिमका गाउँ बस्तीमा मंगलबार बिहानैदेखि चहलपहल बढेको देखियो । घर आँगन सफा गरिए, तामाका भाँडा निकालिए र पूजाका सामग्री जुटाइए । महिलाहरू माङ्गलिक गीत गाउँदै पर्वको स्वागतमा जुटे । कतै बिरुडा तयार पारिँदै थियो भने कतै गौरा पर्वका लागि आवश्यक सामग्रीको जोहो हुँदै थियो ।
-1788286880.jpg)
यही धार्मिक र सांस्कृतिक उल्लासबीच सुदूरपश्चिममा सदियौँदेखि मनाइँदै आएको गौरा पर्व मंगलबारदेखि सुरु भएको छ । गौरा पर्वको पहिलो दिन अर्थात् पञ्चमीमा पाँच प्रकारका अन्नबाट पञ्चान्न बिरुडा तयार गरी तामाको भाँडामा पानी भरेर भिजाउने गरिन्छ । गहुँ, गहत, गुरुँस, मास र सानो प्रकारको केराउ मिसाएर बिरुडा तयार पारिन्छ । यद्यपि, सुदूरपश्चिमका सबै समुदायमा यसको विधि एउटै छैन । कतिपय समुदायमा पाँच प्रकारका अन्न तयार गरी राख्ने तर पानीमा नभिजाउने परम्परा पनि रहेको बैतडीको मेलौली नगरपालिका-३ बाग्काेट घर भई हाल कञ्चनपुरको बेलडाँडी गाउँपालिका-१ आनन्द टोल बस्ने संस्कृतिका जानकार भानुदेवी बाग बताउँछिन् ।
-1788286882.jpg)
गौरा पर्वका प्रत्येक दिनसँग आफ्नै धार्मिक विधि र सांस्कृतिक अर्थ जोडिएका छन् । कञ्चनपुरको बेलडाँडी गाउँपालिका-२, रौलेश्वर टोल बस्ने स्थानीय रमा बिष्टकाअनुसार बिरुडा भिजाउनेदेखि पूजा तथा आशीर्वाद ग्रहण गर्नेसम्म गौरा पर्वका आफ्नै मौलिक संस्कार छन् ।
"पञ्चमीका दिन भिजाइएका बिरुडालाई षष्ठी तिथिमा पानीको धारा, न्वाला वा कुवामा लगेर पखाल्ने तथा शुद्ध पार्ने गरिन्छ । त्यसपछि सप्तमीका दिन विवाहित व्रतालु महिलाहरू गौरादेवीको व्रत बस्ने र गौरा-महेश्वरको प्रतिमा तयार गर्ने परम्परा छ ।"
सानो डालोमा पञ्च वनस्पति राखेर रातो कपडा तथा शृङ्गारका सामग्रीले सजाई गौराको प्रतिमूर्ति बनाइन्छ । त्यसै गरी रेसमी कपडाले बेरेर महेश्वरको प्रतिमा तयार गरिन्छ । गौरा घर वा मन्दिरमा सबै जम्मा भएर पुरोहितद्वारा सामूहिक पूजापाठ गराई महिलाहरूले कुम्भ स्नान गर्ने परम्परा पनि छ । त्यस क्रममा आफूले लगाउने नयाँ कपडा र दुब्धागो समेत अभिशेख गर्ने गरिन्छ ।
गौरा पर्वको सबैभन्दा महत्त्वपूर्ण दिन मानिने अष्टमीमा यसको धार्मिक र सांस्कृतिक पक्ष झनै जीवन्त बन्छ । रङ्गीचङ्गी नयाँ कपडामा सजिएका व्रतालु महिलाहरूले अघिल्लो दिन पूजा गरिएका गौरा-महेश्वरलाई गौरा राख्ने आँगनमा ल्याएर आसनमा राख्छन् । त्यसपछि अठेवाली, फाग तथा गौराको गीति कथा गाउँदै पूजा गरिन्छ । अठेवाली गौरा पर्वको मौलिक सांस्कृतिक सम्पदामध्ये एक हो । आठ अध्याय र आठ खण्डमा आधारित अठेवालीमा धार्मिक आख्यान, सामाजिक अनुभव र लोक जीवनका विभिन्न पक्ष अभिव्यक्त हुन्छन् ।
-1788286888.jpg)
बेलडाँडी गाउँपालिका-१ भण्डारी टोल बस्ने अर्की स्थानीय माया भण्डारी पनि गौरा पर्वमा धार्मिक आस्थासँगै पुस्तौँदेखि चल्दै आएको पारिवारिक तथा सामुदायिक परम्परा जोडिएको बताउँछिन् । पूजापछि गौरा र महेश्वरलाई शिरमा राखेर नाच्ने परम्परा छ । व्रत बसेका महिलाको हातबाट बिरुडा र दुबोले पूजा गराउने, ठुलाबडालाई ढोग्ने र आशीर्वाद लिने चलन छ । यस क्रममा घरपरिवार, आफन्त तथा छरछिमेकका मानिसहरू एकै ठाउँमा जम्मा हुन्छन् र व्रतालु महिलाहरूद्वारा बिरुडा र दुबोको प्रसाद लिई साइनोअनुसार ढोग आशीर्वाद आदानप्रदान गरिन्छ । यसरी गौरा एउटा परिवार वा व्यक्तिको धार्मिक अनुष्ठानमा सीमित नरही समुदायलाई जोड्ने सामाजिक संस्कारका रूपमा समेत स्थापित भएको छ ।
शिव-पार्वतीको दाम्पत्य सम्बन्धसँग जोडिएको आस्था ।।
धार्मिक मान्यताअनुसार गौरा देवीलाई भगवान् शिवकी पत्नी पार्वतीको स्वरूपका रूपमा लिइन्छ । त्यसैले गौरा पर्वलाई शिव र पार्वतीको दाम्पत्य सम्बन्ध, पारिवारिक सुख र सौभाग्यसँग जोडेर हेर्ने गरिन्छ । विशेष गरी विवाहित महिलाहरूले अटल सौभाग्य, श्रीमान्को दीर्घायु, सन्तान प्राप्ति तथा परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्दै व्रत बस्ने तथा पूजाआजा गर्ने परम्परा छ । गौरा पूजाको धार्मिक विश्वास व्यक्तिगत सुखको कामनामा मात्र सीमित छैन । यसले दाम्पत्य जीवनको स्थायित्व, पारिवारिक एकता र सामाजिक सद्भावको समेत कामना गर्छ ।
-1788286888.jpg)
ज्योतिष तथा धार्मिक संस्कारका जानकार पण्डित यज्ञराज पन्तका अनुसार गौरा पर्वका विभिन्न तिथि र पूजा विधि धार्मिक मान्यतासँग गहिरोसँग जोडिएका छन् । श्रद्धालु महिलाहरूले पुत्रदा एकादशी, गौरा सप्तमी र अष्टमीका अवसरमा व्रत बस्ने तथा पूजाआजा गर्ने परम्परा रहेको उनी बताउँछन् । भाद्र कृष्ण पञ्चमीदेखि सुरु हुने गौरालाई ‘अँधेरी गौरा’ र भाद्र शुक्ल पञ्चमीदेखि सुरु हुने गौरालाई ‘उजेली गौरा’ भन्ने गरिन्छ । अगस्त्योदय हुनुअघि गौरा मनाउने परम्परा रहेकाले यस वर्ष गौरा पर्व भाद्र कृष्ण पक्षमा परेको हो ।
माङ्गलिक गीतदेखि देउडासम्म ।।
गौरा एउटा धार्मिक पर्व मात्रै होइन । यो त सुदूरपश्चिमेली समाजको जीवनपद्धति, लोक विश्वास र सांस्कृतिक पहिचानसँग गहिरोसँग गाँसिएको पर्व पनि हो । गौरा पर्वको धार्मिक विधिसँगै यसमा जोडिएका लोकगीत र लोकनृत्यले सुदूरपश्चिमको मौलिक संस्कृतिलाई जीवन्त बनाएका छन् । बेलडाँडी-१ भण्डारी टोलकै ७० वर्षीया जयन्ती भण्डारीकाअनुसार, गौरा सुरु भएसँगै सुदूरपश्चिमेली महिलाहरू माङ्गलिक गीत गाउँदै पर्वको स्वागत गर्छन् । गौरा पर्वका अवसरमा गाइने सगुन, फाग, अठेवाली र अन्य माङ्गलिक गीतमा धार्मिक आस्था मात्रै होइन, स्थानीय समाजको सुख-दुःख, पारिवारिक सम्बन्ध, प्रेम, पीडा, सामाजिक अवस्था र समसामयिक जीवनसमेत अभिव्यक्त हुन्छ ।
गौरा पर्वसँगै देउडा र ठाडो खेल पनि सुरु हुन्छन् । गाउँका खुला चौर, मन्दिर परिसर तथा सार्वजनिक स्थलमा महिला-पुरुष भेला भएर देउडा खेल्ने गर्छन् । एक अर्काको हात समातेर गोलाकार घेरामा खेलिने देउडामा तत्कालै सिर्जना गरिने प्रश्न-उत्तर शैलीका गीत, ठट्यौली, व्यङ्ग्य र सामाजिक विषयले सहभागी तथा दर्शकलाई लामो समयसम्म बाँधेर राख्छन् ।
-1788286889.jpg)
कञ्चनपुरको पुनर्वास नगरपालिका-२ मोतीबस्तीमा रहेको सिद्धनाथ मन्दिर समितिका अध्यक्ष ललित बहादुर चन्दकाअनुसार, गौरा सुरु भएदेखि करिब एक सातासम्म विभिन्न ठाउँमा देउडा खेल्ने गरिन्छ । कतिपय स्थानमा गौरा विसर्जनपछि पनि मन्दिर तथा सार्वजनिक स्थलमा मध्यरातसम्म देउडा खेल्ने र रमाइलो गर्ने चलन छ । त्यसैले गौरा सुदूरपश्चिममा पूजा र व्रतको पर्व मात्र होइन, भेटघाट, मनोरञ्जन, सामाजिक संवाद र सांस्कृतिक पुनर्मिलनको अवसर पनि हो ।
पुस्तौँदेखिको संस्कृति, नयाँ पुस्तामा हस्तान्तरणको चुनौती ।।
गौरा पर्वको सबैभन्दा ठूलो शक्ति यसको पुस्तान्तरण हो । हजुरआमा र आमाले सिकाएको पूजा विधि छोरी र बुहारीले सिक्ने, घरमा गाइने माङ्गलिक गीत नयाँ पुस्ताले सुन्दै हुर्किने र गाउँको चौरमा देउडा हेर्दै तथा खेल्दै बालबालिकाले संस्कृति बुझ्ने क्रम पुस्तौँदेखि चल्दै आएको छ । तर बदलिँदो सामाजिक परिवेशसँगै यही पुस्तान्तरण अहिले चुनौतीमा पर्न थालेको छ । आधुनिक जीवनशैली, वैदेशिक रोजगारी तथा बसाइसराइ, नयाँ पुस्तामा परम्परागत विधि र संस्कारप्रतिको घट्दो रुचि तथा गौरा पर्वका धार्मिक र सांस्कृतिक पक्षबारे पर्याप्त जानकारी नहुनुले यसको मौलिकता संरक्षणमा प्रश्न उठ्न थालेको स्थानीय बताउँछन् ।
-1788286890.jpg)
बैतडीको दशरथचन्द नगरपालिका-१, पाली बस्ने संस्कृतिका जानकार सरस्वती भट्ट गौरा पर्वको धार्मिक विधिसँगै यसको सांस्कृतिक अर्थ बुझ्नुपर्ने आवश्यकता रहेको बताउँछिन् । उनका अनुसार पर्व मनाउने क्रम निरन्तर रहे पनि यसको मौलिक विधि, गीत र परम्पराको ज्ञान नयाँ पुस्तामा पुग्न सकेन भने केही वर्षपछि बाहिरी उत्सव मात्र बाँकी रहने जोखिम छ । त्यसैले संस्कृति पुस्तान्तरणमा उनको जोड छ ।
"दश-बाह्र वर्ष अगाडिसम्म देश विदेशमा रहेका आफन्तहरू गौरा पर्वलाई लक्षित गरी घर फर्कने र गाउँघरमा जमघट भई सुख दुःख साटासाट गरी निक्कै रमाइलो गरिन्थ्यो । अचेल गाउँघरमा त्यति धेरै रमाइलो भएको देखिँदैन ।" उनले भनिन्, "यसले कहीँ नयाँ पुस्तामा हाम्रो संस्कार र संस्कृति लोप हुने पो हो कि भन्ने चिन्ता लाग्छ ।"
कञ्चनपुरको बेलडाँडी गाउँपालिका-१ की बिस्ना भण्डारीले पनि नयाँ पुस्तालाई गौरा पर्वका संस्कार र मौलिक परम्परासँग जोड्नुपर्नेमा जोड दिएकी छन् । युवापुस्तालाई सहभागी गराउँदै गौरा पर्वका गीत, पूजा विधि, देउडा, अठेवाली र सामाजिक संस्कारबारे सिकाउन सके मात्र यसको मौलिकता जोगाउन सकिने उनको भनाइ छ । "सासूको पुस्ताबाट हामीहरू सिक्दै छौँ । भोलिका दिनमा छोराछोरी र बुहारीलाई पनि सिकाउने छौँ ।" उनले भनिन्, "हामीले नसिके, हामीले नसिकाए त नयाँ पुस्तालाई कसले सिकाउला ?"
पर्व मात्रै होइन; सुदूरपश्चिमको सांस्कृतिक दस्ताबेज पनि हो, गौरा पर्व ।।
गौरा पर्वमा धार्मिक विश्वास छ, पारिवारिक सुख र समृद्धिको कामना छ, महिला जीवनसँग जोडिएको आस्था छ । त्यसभन्दा माथि सामुदायिक एकता, सामाजिक सम्बन्ध, लोकगीत, लोकनृत्य, मौखिक इतिहास र स्थानीय जीवनशैलीको लामो परम्परा पनि छ । बिरुडामा प्रयोग हुने अन्नदेखि गौरा सजाउने सामग्रीसम्म, पूजापाठदेखि अठेवालीसम्म र माङ्गलिक गीतदेखि देउडासम्मका गतिविधिले सुदूरपश्चिमको मौलिक जीवनशैलीको चित्र प्रस्तुत गर्छन् ।
गौरा पर्वका धार्मिक विधिमा महिलाको सक्रिय सहभागिता देखिन्छ भने देउडा, ठाडो खेल र सामूहिक सांस्कृतिक गतिविधिले महिला-पुरुष सबैलाई एउटै सामाजिक वृत्तमा जोड्छन् । यही सामूहिकता गौरा पर्वको विशिष्ट सामाजिक पक्ष पनि हो । पर्वका अवसरमा टाढाटाढाबाट आफन्त घर फर्कने, पुराना साथीभाइसँग भेटघाट गर्ने, नयाँ सम्बन्ध गाँस्ने र समुदायबीच शुभकामना तथा आशीर्वाद आदानप्रदान गर्ने परम्पराले सामाजिक सम्बन्धलाई थप बलियो बनाउँछ ।
-1788286886.jpg)
यही कारण गौरा पर्वलाई संरक्षण गर्नु भनेको एउटा पर्वको निरन्तरता मात्रै होइन, सुदूरपश्चिमको सांस्कृतिक स्मृति र पहिचान जोगाउनु पनि हो । गौरा सुरु भएसँगै गाउँ बस्तीमा बढेको चहलपहलले यस क्षेत्रको सामाजिक जीवनमा यसको प्रभाव अझै गहिरो रहेको देखाउँछ । घर आँगनमा पूजा भइरहेको छ । महिलाहरू माङ्गलिक गीत गाइरहेका छन् । युवापुस्ता देउडाको तयारीमा जुटेको छ । पुरानो पुस्ता आफ्ना संस्कार नयाँ पुस्तालाई सिकाउने प्रयासमा छ । सदियौँदेखि पुस्तान्तरण हुँदै आएको गौरा त्यसैले आज पनि सुदूरपश्चिमको आस्था र पहिचानको जीवन्त प्रतीक बनेर उभिएको छ ।
तर यसको भविष्य पर्व मनाइरहनुमा मात्रै निर्भर छैन । गौराका विधि, विश्वास, गीत, कथा, नृत्य र सामाजिक संस्कारलाई नयाँ पुस्ताले बुझ्ने र अपनाउने वातावरण निर्माण गर्न सकिए मात्र यसको मौलिकता आगामी पुस्तासम्म सुरक्षित रूपमा पुग्नेछ । गौरा एउटा पर्व मात्रै होइन । यो सुदूरपश्चिमको आस्था, पहिचान, सामुदायिक सम्बन्ध र पुस्तौँदेखिको मौलिक जीवनशैलीको जीवित दस्ताबेज पनि हो ।
प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३ २३:१५