हरिश्चन्द्र बाग / प्रकाश भट्ट, कञ्चनपुर, ०१ भदौ । सुदूरपश्चिमका पहाडी तथा तराईका जिल्लामा सोमबार ओल्के पर्व मनाइँदै छ । सुदूरपश्चिमको मौलिक तथा ऐतिहासिक लोकपर्वका रूपमा रहेको ओल्के हरेक वर्ष भदौ १ गते सिंह सङ्क्रान्तिका दिन मनाउने गरिन्छ । साउन महिनामा फैलिने महामारी, बाढीपहिरो, सर्पदंश लगायतका विपत्तिबाट सकुशल बाँचिएको खुसीमा ओल्के मनाउने परम्परा रहेको मानिन्छ । त्यसैले ओल्केलाई जीवनप्रतिको कृतज्ञता, प्रकृतिप्रतिको सम्मान र सामूहिक खुसीको पर्वका रूपमा लिइन्छ ।
ओल्के पर्वको मुख्य विशेषता ‘ओल्को’ दिने चलन हो । ओल्को अर्थात् उपहार दिने वा लिने पर्वका रूपमा समेत यसलाई लिइन्छ । कुलदेवता तथा इष्टदेवताको पूजा गरेपछि मकै, पिँडालु, काँक्रा, दूध, दही, घिउलगायत स्थानीय उत्पादन मान्यजन, आफन्त तथा छिमेकीलाई उपहार दिने परम्परा छ । यसले आपसी सम्मान, सद्भाव र पारिवारिक सम्बन्धलाई बलियो बनाउने विश्वास गरिन्छ ।
संस्कृतिका जानकार हेमबाबु लेखकका अनुसार ओल्के सुदूरपश्चिमको सामाजिक जीवन, कृषि र लोकसंस्कृतिसँग गहिरो रूपमा जोडिएको पर्व हो । वर्षायामको कठिन समयपछि नयाँ उत्पादन आउन थालेको खुसीसमेत यस पर्वमा जोडिएको उनको भनाइ छ । “ओल्के उपहार आदानप्रदान गर्ने पर्व मात्र होइन, यसले सुदूरपश्चिमको सामाजिक सम्बन्ध, कृषि जीवन र मौलिक संस्कृतिलाई एकै ठाउँमा जोडेको छ । नयाँ पुस्तालाई यसको ऐतिहासिक र सांस्कृतिक महत्त्व बुझाउन आवश्यक छ,” लेखकले भने ।
ओल्केका अवसरमा पिङ खेल्ने, डेउडा, चैत, धमारी, ठाडो खेल, झोडा, चाँचरी तथा न्यौलीजस्ता लोकसंस्कृतिका गतिविधि गर्ने चलनसमेत छ । विवाहित छोरी बहिनीलाई माइतीघर बोलाउने, आफन्त तथा छिमेकीसँग भेटघाट गर्ने परम्पराले पर्वलाई पारिवारिक सम्बन्ध नवीकरण गर्ने अवसरका रूपमा समेत स्थापित गरेको छ ।
ओल्के पर्वसँग ‘बूढी हाल्ने’ र ‘बूढी पोल्ने’ परम्परा पनि जोडिएको छ । ओल्केका दिन गाउँ नजिकको डाँडामा जम्मा भएर रूखबिरुवाका हाँगा तथा झ्याङ काटेर एक ठाउँमा थुपार्ने गरिन्छ । यसलाई स्थानीय भाषामा ‘बूढी हाल्ने’ भनिन्छ । त्यसरी बनाइएको थुप्रोलाई असोज सङ्क्रान्तिको साँझ गाउँका सबै जना भेला भएर जलाउने चलन छ, जसलाई ‘बूढी पोल्ने’ भनिन्छ ।
संस्कृतिका जानकार रमेश पन्तका अनुसार बूढी हाल्ने र बूढी पोल्ने परम्परालाई स्थानीय जनविश्वास र धार्मिक कथासँग जोडेर हेर्ने गरिएको छ । यो परम्परालाई द्वापरकालीन मथुराकी पूतनाको कथासँग समेत जोड्ने गरिएको उनले बताए । “बूढी हाल्ने र बूढी पोल्ने परम्परा ओल्केसँग जोडिएको महत्त्वपूर्ण सांस्कृतिक पक्ष हो । यसलाई गाउँको सामूहिकता र अनिष्ट तथा रोगव्याधि हटाउने जनविश्वाससँग जोडेर हेर्ने गरिन्छ,” पन्तले भने ।
ओल्केमा विवाहित छोरीबहिनीलाई माइतीघर बोलाउने र आफन्तसँग भेटघाट गर्ने परम्परा रहेकाले महिलाहरूका लागि पनि यो पर्व विशेष मानिन्छ । पछिल्लो समय रोजगारी, बसाइसराइ र आधुनिक जीवनशैलीका कारण यस्ता मौलिक परम्परामा सहभागी हुने क्रम घट्दै गएको स्थानीयको भनाइ छ । स्थानीय जानकी पन्तका अनुसार ओल्के परिवार र आफन्तबीच भेटघाट गर्ने अवसरका रूपमा समेत महत्त्वपूर्ण छ । “माइती र छोरी बहिनी भेटघाट, ओल्को दिने चलन र नयाँ पुस्ताको सहभागिताले सम्बन्ध झन् बलियो बनाउँछ,” उनले भनिन् ।
त्यस्तै स्थानीय शारदा जोशीले नयाँ पुस्तालाई ओल्के तथा यससँग जोडिएका परम्परा सिकाउनुपर्नेमा जोड दिइन् । “ओल्के संस्कृतिको संरक्षण, नयाँ पुस्ताको सहभागिता वा परम्परा हराउँदै गएको छ, त्यसैले नयाँ पुस्तालाई यो मौलिक परम्पराबारे जानकारी गराउनु आवश्यक छ,” उनले भनिन् ।
स्थानीय प्रजापति नेगीका अनुसार पछिल्ला वर्षमा ओल्केसँग जोडिएका कतिपय मौलिक परम्परा हराउँदै जान थालेका छन् । आधुनिक जीवनशैली, बसाइसराइ र नयाँ पुस्तामा मौलिक संस्कृतिप्रतिको रुचि घट्दै जाँदा परम्परागत गतिविधि कमजोर बन्दै गएको उनले बताए । “हामीले पुस्तौँदेखि मनाउँदै आएको ओल्केमा पछिल्लो पुस्ताको सहभागिता कम हुँदै गएको छ । आधुनिक जीवनशैली र बसाइसराइका कारण बूढी हाल्ने, बूढी पोल्ने तथा अन्य मौलिक परम्परा क्रमशः हराउने जोखिम छ,” नेगीले भने ।
यसैबीच, सुदूरपश्चिम प्रदेश सरकारले ओल्के पर्वको अवसरमा सोमबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले २०८२ चैत १० गते ओल्के पर्वका अवसरमा सरकारी तथा सार्वजनिक निकायमा बिदा दिने निर्णय गरेको थियो ।
ओल्के पर्व सुदूरपश्चिमसँगै भारतको कुमाउ र गढवाल क्षेत्रमा पनि मनाइँदै आएको छ । यसलाई सुदूरपश्चिम क्षेत्रको जेठो पर्वका रूपमा समेत लिइन्छ । ओल्केपछि गौरा, तीज, दसैँ र तिहारजस्ता महत्त्वपूर्ण पर्व आउने भएकाले अन्य पर्वलाई ‘ओल्क्याउने’ अर्थात् निम्त्याउने पर्वका रूपमा ओल्केलाई जेठो पर्व मान्ने गरिएको संस्कृतिविद्हरू बताउँछन् ।सुदूरपश्चिमको मौलिक पहिचानसँग जोडिएको ओल्के पर्वका परम्परा पछिल्लो पुस्तामा हस्तान्तरण गर्न सके यसको सांस्कृतिक निरन्तरता कायम रहने उनीहरूको भनाइ छ ।