हरिश्चन्द्र बाग, कञ्चनपुर, ३० साउन । कञ्चनपुर र कैलालीका आदिवासी रानाथारु समुदायका महिलाले शनिबार आफ्नै मौलिक परम्परा र संस्कृतिअनुसार तीज पर्व मनाएका छन् । श्रावण शुक्ल तृतीयाका दिन मनाइने रानाथारु तीज दिदीबहिनी र दाजुभाइबीचको आत्मीयता तथा सामाजिक एकताको पर्वका रूपमा लिइन्छ । तीजका दिन महिलाहरू आफ्ना दाजुभाइ र भतिजाको उन्नति, प्रगति तथा दीर्घायुको कामना गर्दै पानीसमेत नपिई निराहार व्रत बस्ने गर्छन् ।
कञ्चनपुरको लालझाडीकी सुनिता रानाले रानाथारु समुदायमा तीज महिलाको व्रत मात्रै नभएर मौलिक संस्कृति र पारिवारिक सम्बन्ध जोड्ने पर्व भएको बताइन् । ‘हाम्रो तीजमा दाजुभाइ र भतिजाको सुख, समृद्धि र दीर्घायुको कामना गरिन्छ । पुस्तौँदेखि चलिआएको यो परम्परा नयाँ पुस्तालाई पनि सिकाउँदै आएका छौँ,’ उनले भनिन् ।
तीजका अवसरमा सिमही, गुलगुला, पुरी, पपरा र कतरा लगायतका परम्परागत परिकार बनाइन्छन् । महिलाहरू नदी वा तलाउको किनारमा पुगेर कुश वा काँसको झुड्की बाँधी पूजा गर्छन् । विवाहित महिलाले सात र अविवाहितले पाँच झुड्की बाँध्ने परम्परा रहेको लालझाडीकै सपना रानाले बताइन् ।
पूजाआजापछि केही सामग्री नदीमा बगाउने चलनसमेत छ । बेलौरीकी वृन्दा रानाका अनुसार रानाथारु समुदायमा तीजको आफ्नै छुट्टै सांस्कृतिक महत्त्व छ । ‘गीत, नृत्य, पिङ र पूजाविधि सबैमा हाम्रो मौलिकता झल्किन्छ । आधुनिकता आए पनि परम्परा छाड्न हुँदैन भन्ने हाम्रो मान्यता हो,’ उनले भनिन् ।
असार शुक्ल पूर्णिमादेखि नै गाउँका सार्वजनिक स्थानमा ‘सावनको डोला’ नाम दिएर पिङ राख्ने र त्यसमा सबै जना रमाउने परम्परा छ । तीजका अवसरमा मौलिक गीत र नृत्यसँगै पिङ खेल्ने चलनले गाउँघरमा छुट्टै रौनक ल्याउने गरेको बेलडाँडीकी रेवती रानाले बताइन् ।
बदलिँदो समयसँगै जीवनशैली फेरिए पनि रानाथारु महिलाले आफ्नो मौलिक पर्व र परम्परालाई निरन्तरता दिइरहेका छन् । तीज धार्मिक आस्था र व्रतसँगै सांस्कृतिक पहिचान, महिला एकता र सामाजिक सद्भाव जोगाउने माध्यमसमेत बनेको रानाथारु अगुवा महिलाहरू बताउँछन् ।