कञ्चनपुर । कञ्चनपुरकी युवा हेमन्ती महर डेनमार्कको सिल्केबोर्ग फोक हाइ स्कुलमा पाँचमहिने अध्ययन तथा सिकाइ कार्यक्रमका लागि पूर्ण छात्रवृत्तिमा छनोट भएकी छन् । डीसीए नेपालको ‘गो ग्लोबल’ परियोजनाअन्तर्गत नेपालभरिबाट छनोट हुने एकमात्र स्वयंसेवकका रूपमा महरले यो अवसर प्राप्त गरेकी हुन् ।
२०५९ साल असार २७ गते बैतडीमा जन्मिएकी महर हाल भीमदत्त नगरपालिका–१२ मा बस्दै आएकी छन् । सामान्य परिवारमा हुर्किएकी उनले कञ्चन विद्या मन्दिरबाट स्नातक तहको अध्ययन पूरा गरेकी छन् । अध्ययनसँगै सामाजिक तथा युवा केन्द्रित गतिविधिमा सक्रिय महर उत्थानशील युवा सञ्जाल, भीमदत्त नगरपालिकाकी सदस्य समेत हुन् ।
विपद् जोखिम न्यूनीकरण, युवा सहभागिता, वातावरण संरक्षण तथा सामाजिक अभियानमा सक्रिय रहँदै आएकी महरले सीए इन्टरनेसनल हेडक्वार्टरबाट लिइएको प्रतिस्पर्धात्मक अन्तर्वार्ता पार गर्दै छात्रवृत्ति हात पारेकी हुन् ।
सुदूरपश्चिमबाट पहिलोपटक
महरको छनोटलाई सुदूरपश्चिमका युवाका लागि अन्तर्राष्ट्रिय अवसरको ढोका खोल्ने महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । उनी यस कार्यक्रमका लागि सुदूरपश्चिमबाट पहिलोपटक छनोट हुने उम्मेदवारसमेत भएको जनाइएको छ ।
नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक विक्रम जैरूले हेमन्तीको सफलता युवा क्षमता र नेतृत्व विकासका लागि महत्वपूर्ण अवसर भएको बताए ।
“डेनमार्कमा हासिल हुने ज्ञान, सीप र अनुभवलाई नेपालमा युवा सशक्तीकरणका क्षेत्रमा उपयोग गर्न सकिन्छ,” उनले भने ।
सुदृढ परियोजनाका संयोजक राजकुमार सुनारले महरको छनोटले कञ्चनपुरसहित सुदूरपश्चिमका युवालाई अन्तर्राष्ट्रिय अवसरका लागि अघि बढ्न प्रेरणा दिने बताए । डेनमार्कमा प्राप्त सिकाइ र अनुभवलाई समुदाय तथा युवा पुस्तासँग जोड्न सकिने उनको भनाइ छ ।
पाँच महिनाको सिकाइ, फर्केर समुदायमा उपयोग
डेनमार्कमा पाँच महिना रहँदा महरले नेतृत्व विकास, अतिरिक्त क्रियाकलाप, अन्तर्राष्ट्रिय स्वयंसेवा तथा सामाजिक र सांस्कृतिक गतिविधिमा सहभागी हुने अवसर पाउनेछिन् ।
अध्ययनका क्रममा प्राप्त ज्ञान र अनुभवलाई नेपाल फर्किएपछि युवा सशक्तीकरण, नेतृत्व विकास तथा सामाजिक रूपान्तरणका क्षेत्रमा प्रयोग गर्ने उनको लक्ष्य छ ।
सामान्य पारिवारिक पृष्ठभूमिबाट सामाजिक अभियान हुँदै अन्तर्राष्ट्रिय अध्ययनको अवसरसम्म पुगेकी महरको यो यात्रा सुदूरपश्चिमका युवाका लागि ‘स्थानीय सहभागिताबाट अन्तर्राष्ट्रिय अवसरसम्म’ भन्ने प्रेरणादायी उदाहरणसमेत बनेको छ ।