कञ्चनपुर । जलवायु परिवर्तनका असर र विपद् जोखिम न्यूनीकरणका लागि कञ्चनपुरका स्थानीय तहहरूले साझा प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार वेदकोट नगरपालिकामा आयोजित छैटौँ कञ्चनपुर सम्मेलनमा जिल्लाका स्थानीय तहहरूले १३ बुँदे वेदकोट घोषणापत्र जारी गर्दै साझा प्रतिबद्धता जनाएका हुन् ।
‘उत्थानशीलता घरबाटै सुरु हुन्छ’ भन्ने नारासहित आयोजित सम्मेलनमा जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधि, गैरसरकारी संस्था, सुरक्षा निकाय, विकास साझेदार तथा सरोकारवालाको सहभागिता रहेको थियो । सम्मेलनमा जलवायु परिवर्तनका असर, विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी र दिगो विकासका विषयमा छलफल गरिएको थियो ।
सम्मेलनको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विपद् जोखिम न्यूनीकरण र उत्थानशील समुदाय निर्माणको अभियान घरपरिवारबाटै सुरु हुनुपर्ने बताउनुभयो । उहाँले विकास निर्माणका योजना वातावरणमैत्री र विपद् प्रतिरोधी बनाउनुपर्नेमा जोड दिँदै विपद् व्यवस्थापनमा स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो । प्रदेश सरकारले नीति, बजेट तथा प्राविधिक सहयोगमार्फत स्थानीय तहलाई साथ दिने उहाँको भनाइ छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले विपद्सम्बन्धी सचेतना र पूर्वतयारीलाई विद्यालयदेखि समुदायस्तरसम्म विस्तार गर्न नसकिएको बताउनुभयो । पूर्वसूचना प्रणालीबाट पठाइने एसएमएसलाई नागरिकले बेवास्ता गर्ने प्रवृत्ति चुनौतीपूर्ण रहेको उहाँको भनाइ छ । उहाँले मोबाइलमा ठूलो आवाज र कम्पनसहित सूचना दिने सेल ब्रोडकास्टिङ प्रणालीको परीक्षण सफल भएको जानकारीसमेत दिनुभयो ।
सम्मेलनको व्यवस्थापकीय साझेदार नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लूए) का कार्यकारी निर्देशक अशोक विक्रम जैरुले विपद् जोखिम न्यूनीकरण र जलवायु अनुकूलनका क्षेत्रमा स्थानीय तहबीचको सहकार्यलाई थप प्रभावकारी बनाउन सम्मेलन महत्त्वपूर्ण मञ्च भएको बताउनुभयो । विपद् व्यवस्थापनका असल अभ्यास, अनुभव र सिकाइ आदानप्रदान गर्दै साझा योजना तथा कार्यदिशा निर्माण गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको उहाँको भनाइ छ ।
वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय तहहरूबीचको सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो । उहाँले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा विपद् पूर्वतयारीका लागि साझा योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । सम्मेलनले जिल्लाका सबै स्थानीय तहलाई साझा कार्यदिशामा अघि बढ्न सहयोग पुग्ने उहाँको भनाइ छ।
कञ्चनपुर बाढी, डुबान, नदी कटान तथा जलवायु परिवर्तनका असरको उच्च जोखिममा रहेको जिल्ला हो । महाकाली, जोगबुढा, दोदा, चौधर, बनरा, सुनबरा र स्यालीलगायतका नदीले बर्सेनि पुर्याउने क्षति न्यूनीकरणका लागि पूर्वतयारी र सामूहिक प्रयास आवश्यक रहेको सम्मेलनले निष्कर्ष निकालेको छ ।
विगत केही वर्षदेखि मेयर्स फोरमको स्वरूपमा आयोजना हुँदै आएको कञ्चनपुर सम्मेलन विपद् व्यवस्थापन र दिगो विकासबारे नीतिगत संवाद तथा अनुभव आदानप्रदान गर्ने साझा मञ्चका रूपमा स्थापित हुँदै आएको छ । यसअघिका सम्मेलन भीमदत्त, पुनर्वास, दोधारा चाँदनी, लालझाडी र बेलौरीमा आयोजना भइसकेका छन् ।
स्थानीय सरकारको नेतृत्वमा आयोजित सम्मेलनलाई नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए), डिसीए नेपाल, प्रोस्पर ग्लोबल, सेभ द चिल्ड्रेन, वर्ल्ड भिजन इन्टरनेशनल, आईएचआरआर, नक्सा प्रा.लि., नबिल बैङ्क र शिखर इन्स्योरेन्सलगायत विकास साझेदार तथा निजी क्षेत्रका संस्थाले सहकार्य गरेका थिए ।