हरिश्चन्द्र बाग, कञ्चनपुर, ०५ मंसिर । कञ्चनपुरको बेलौरी नगरपालिकामा लामो समयदेखि अलपत्र रहेको सीमा विवादित सडक निर्माण, छोटी भन्सारको स्तरोन्नति तथा किसानलाई आवश्यक रासायनिक मलखादको सहज आपूर्तिको व्यवस्था मिलाउन नेपाली कांग्रेस बेलौरी नगर कार्यसमितिले सरकारसँग माग गरेको छ । नगर कार्यसमितिले यी तीनवटै विषयलाई समेटेर प्रधानमन्त्री तथा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य जनक सिंह धामीसमक्ष छुट्टाछुट्टै ज्ञापनपत्र बुझाउँदै समस्या समाधानका लागि पहल गर्न आग्रह गरेको हो ।
ज्ञापनपत्रमा बेलौरी नगरपालिका वडा नम्बर ७ को खप्टी नाला (कालो पुल) देखि वडा नम्बर ८ को पचुईसम्मको करिब एक हजार दुई सय मिटर सडक नेपाल-भारत सीमा विवादका कारण वर्षौंदेखि निर्माण हुन नसकेको उल्लेख छ । उक्त सडक निर्माणमा ढिलाइ हुँदा वडा नम्बर ८, ९ र १० का बासिन्दासहित बेलौरी तथा दक्षिणी क्षेत्रका नागरिकले आवागमनमा सास्ती व्यहोर्नुपरेको कांग्रेसको भनाइ छ ।
त्यस्तै, बेलौरी नगरपालिका वडा नम्बर ६ मा रहेको बेलौरी छोटी भन्सार कार्यालयको स्तरोन्नतिका लागि पटकपटक विभिन्न चरणमा पहल गरिए पनि हालसम्म प्रक्रिया अघि बढ्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराइएको छ । छोटी भन्सारको स्तरोन्नति हुन सके स्थानीय व्यापार, व्यवसाय र समग्र क्षेत्रको आर्थिक गतिविधिमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
कांग्रेसले किसानले खेतीपातीका लागि आवश्यक मलखाद समयमै र पर्याप्त मात्रामा नपाउँदा कृषि उत्पादन प्रभावित भएको विषयलाई पनि प्रमुखताका साथ उठाएको छ । किसानको माग र आवश्यकताअनुसार मलखादको सहज तथा पर्याप्त आपूर्तिको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरिएको छ ।
प्रधानमन्त्रीको भारत भ्रमणको पूर्वसन्ध्यामा सीमा विवादका कारण रोकिएको सडक निर्माणको विषयलाई प्राथमिकताका साथ कूटनीतिक पहलमार्फत समाधान गर्न पनि कांग्रेसले आग्रह गरेको छ । नेपाली कांग्रेस बेलौरी नगर कार्यसमितिका नगर सभापति प्रकाश श्रेष्ठ र नगर सचिव कन्हैया रानाद्वारा हस्ताक्षरित ज्ञापनपत्रमार्फत सीमा विवादित सडक, छोटी भन्सार स्तरोन्नति र मलखाद आपूर्तिको समस्या समाधानका लागि आवश्यक पहल गर्न प्रतिनिधिसभा सदस्य धामी तथा प्रधानमन्त्रीसमक्ष अनुरोध गरिएको छ ।