कञ्चनपुर । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी ले ‘उज्यालो सङ्कल्प’ नामक देशव्यापी चुनावी अभियान कञ्चनपुरबाट सुरु गरेको छ । ऊर्जा क्षेत्रको सुधार र लोडसेडिङ अन्त्यबाट राष्ट्रिय पहिचान बनाएका घिसिङ अहिले राजनीतिक मोर्चामा उत्रिँदै सुदूरपश्चिमबाट अभियानको औपचारिक थालनी गरेका हुन् । चुनावी दौडाहाअन्तर्गत शुक्रबार सुदूरपश्चिम पुगेका घिसिङलाई धनगढी विमानस्थलमा समर्थक र कार्यकर्ताले भव्य स्वागत गरेका थिए । त्यसपछि कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ अन्तर्गत पुनर्वास नगरपालिकामा आयोजित आमसभालाई सम्बोधन गर्दै निर्वाचन क्षेत्र नं. २ र ३ मा मतदातासँग भेटघाट तथा आमसभालाई सम्बोधन गर्न त्यसतर्फ प्रस्थान गरेका छन् ।

पुनर्वासमा आयोजित आमसभालाई सम्बोधन गर्दै घिसिङले आफू नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक रहँदा घाटामा रहेको संस्थालाई नाफामा लैजान सफल भएको दाबी गरे । देशव्यापी लोडसेडिङ अन्त्य, विद्युत् चुहावट नियन्त्रण, प्रसारण लाइन विस्तार र वित्तीय अनुशासन कायम गर्नु आफ्नो नेतृत्वको उपलब्धि भएको उनले स्मरण गराए । “काम गरेर देखाएको अनुभव नै मेरो पुँजी हो,” उनले भने, “अब त्यही अनुभव देश निर्माणमा लगाउनेछु ।” पछिल्लो समयमा तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हालेर तीन महिनासम्म सेवा गर्ने अवसर पाउँदा अरूले तीन वर्षमा गर्न नसकेका काम आफूले तीन महिनामा गरेर देखाएको उनको दाबी छ । उनले कृषक लक्षित ठोस कार्यक्रम सार्वजनिक गर्दै कृषि सिँचाइका लागि निःशुल्क विद्युत् उपलब्ध गराउने घोषणा गरे । उत्पादन वृद्धि, आत्मनिर्भर कृषि र ग्रामीण अर्थतन्त्र सुदृढीकरणलाई प्राथमिकतामा राख्दै ऊर्जा पहुँचलाई आधार बनाएर समग्र आर्थिक रूपान्तरण गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । त्यसका लागि कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ बाट उज्यालो नेपाल पार्टीका उम्मेदवार माइकल तामाङलाई मतदान गरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित गराउन उनले अनुरोध गरेका छन् ।

पार्टीका अनुसार फागुन ०९ गते शनिबार ‘उज्यालो सङ्कल्प’ अभियानअन्तर्गत कञ्चनपुर, कैलाली, बर्दिया र बाँकेमा कार्यक्रम आयोजना गरिने छ । फागुन १० गते आइतबार भैरहवा, रुपन्देही र नवलपरासीमा सभा तय गरिएको छ भने त्यसपछि विराटनगर, धरान, इटहरी, फिदिम लगायत पूर्वी जिल्लाहरूमा आमसभा गरिने छ । फागुन १३ र १४ गते काभ्रे, मन्थली, मकवानपुर, रौतहट, सर्लाही, नुवाकोट र रसुवा हुँदै १६ फागुनमा काठमाडौँमा बृहत् आमसभा गरी अभियान समापन गर्ने कार्य तालिका सार्वजनिक गरिएको छ । ऊर्जा सुधारको छवि बोकेर राजनीतिमा प्रवेश गरेका घिसिङप्रति युवापुस्तामा आकर्षण देखिएको पार्टीको दाबी छ । सुशासन, पारदर्शिता र परिणाममुखी कार्यशैलीलाई आफ्नो मुख्य एजेन्डा बनाएको उज्यालो नेपाल पार्टीले परम्परागत राजनीतिक अभ्यासलाई चुनौती दिने सङ्केत गरेको छ । चुनावी माहौल तातिँदै जाँदा ऊर्जा क्षेत्रको सफल नेतृत्वलाई राजनीतिक विश्वासमा रूपान्तरण गर्न घिसिङ कति सफल हुन्छन् भन्ने चासो बढेको छ । सुदूरपश्चिमबाट सुरु भएको ‘उज्यालो सङ्कल्प’ अभियानले राष्ट्रिय राजनीतिक समीकरणमा कस्तो प्रभाव पार्छ, त्यो भने आगामी दिनमा स्पष्ट हुनेछ ।
