धनसिंह धामी, कञ्चनपुर, २६ साउन ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कञ्चनपुरले जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहणसँगै राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
मंगलबार महेन्द्रनगरमा आयोजित कार्यक्रममा जिल्ला कमिटीका नवमनोनित सदस्यहरूलाई शपथ ग्रहण गराउँदै पार्टीको आगामी राजनीतिक तथा सांगठनिक कार्यदिशाबारे प्रशिक्षण दिइएको हो । गत पुस ७ गते जिल्ला एकता सन्देश सभा गरेको नेकपा कञ्चनपुरले साउन २६ गते जिल्ला एकता घोषणा गर्दै जिल्ला कमिटीलाई पूर्णता दिएको जनाएको छ ।
नेकपा कञ्चनपुरका जिल्ला संयोजक खेमराज पाण्डेयले पार्टी एकतापछि जिल्लामा पार्टी समायोजन, शपथ ग्रहण तथा जिम्मेवारी बाँडफाँटको काम अघि बढाइएको बताए । अब नेता–कार्यकर्तालाई जिम्मेवारी दिएर जनताको घरदैलोमा पुग्ने र जनताका समस्या तथा आवश्यकता बुझेर काम गर्ने उनले बताए ।
पाण्डेयका अनुसार जिल्ला कमिटी गठनसँगै अब पालिका कमिटी गठनलगायतका सांगठनिक गतिविधिलाई पनि तीव्रता दिइनेछ ।
कार्यक्रममा नेकपाका नेताहरूले संघीय लोकतान्त्रिक गणतन्त्रबाट प्राप्त उपलब्धिको रक्षा गर्दै जनताको अधिकारका लागि वाम तथा कम्युनिस्ट शक्तिहरूबीच एकता आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा सुदूरपश्चिम प्रदेश इन्चार्ज भानुभक्त जोशीले मुलुकमा राजनीतिक तथा आर्थिक संकट बढ्दै गएको भन्दै जनताको हक–अधिकारका लागि संघर्ष गर्दै आएका शक्तिहरूबीच एकता र ध्रुवीकरण आवश्यक रहेको बताए ।
प्रदेश संयोजक हरिराम चौधरी ‘उत्सव’, प्रदेश सहसंयोजक लालबहादुर खड्का, नेताहरू देवीलाल चौधरी, लोकेन्द्र लम्साल, जयराज पाण्डेय, जिल्ला इन्चार्ज प्रकाश रावल तथा नेतृ माया नेगीलगायतले पनि देश र जनताको हितमा कम्युनिस्ट शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
नेताहरूले अब भाषणमा मात्र सीमित नभई जनताको जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याउने कार्यक्रम सञ्चालन गर्न नेता–कार्यकर्तालाई आग्रह गरे । तीनै तहका सरकारमा नेकपाबाट निर्वाचित जनप्रतिनिधि तथा पार्टीका नेता–कार्यकर्ताले जनताका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने उनीहरूको भनाइ थियो ।
कार्यक्रममा वर्तमान सरकारका कामकारबाहीप्रति समेत नेताहरूले आलोचना गरे । पुराना राजनीतिक दललाई आलोचना गर्दै सत्तामा पुगेको सरकारले जनतासामु गरेका प्रतिबद्धता पूरा गर्न नसकेको आरोप लगाउँदै सरकारका जनविरोधी गतिविधिको खबरदारी गर्नुपर्ने उनीहरूले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले विगतमा पुराना दल र तत्कालीन सरकारविरुद्ध विभिन्न आरोप लगाएको तर अहिले सत्तामा पुगेपछि जनतालाई अपेक्षित सेवा–सुविधा दिन नसकेको नेकपाका नेताहरूको आरोप थियो । उनीहरूले सरकारका गलत कामको भण्डाफोर गर्दै जनताका आधारभूत आवश्यकता र जनजीविकाका सवालमा पार्टी केन्द्रित हुनुपर्ने बताएका छन् ।
नेकपा कञ्चनपुरका सहसंयोजक प्रताप तिरुवाले सञ्चालन गरेको कार्यक्रममा जिल्लाभरका नेता–कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी नेता–कार्यकर्ताले दिगो विकास, समृद्धि तथा नागरिकको हकहितका लागि पार्टीको सांगठनिक उपस्थिति बलियो बनाउनुपर्नेमा जोड दिएका थिए ।