कैलाली । लघुवित्तबाट लिएको कर्जालाई उत्पादनशील क्षेत्रमा उपयोग गर्दै नियमित बचत गर्ने संस्कार विकास गर्नुपर्नेमा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका सहायक कार्यकारी प्रमुख दिनेश कटुवालले जोड दिएका छन् ।

संस्थाको नारायणपुर शाखाले कैलालीको टीकापुरमा आयोजना गरेको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रममा उनले कर्जाको सही सदुपयोग र वित्तीय अनुशासनले सदस्यहरूको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । लघुवित्तबाट प्राप्त कर्जालाई अनुत्पादक क्षेत्रमा खर्च नगरी आयआर्जन र उद्यमशीलतासँग जोड्नुपर्ने उनको भनाइ थियो ।

मंसिर १२ गते शनिबार टीकापुर नगरपालिका-१ स्थित होटल ग्रीन एसियाको सभाहलमा आयोजित कार्यक्रममा कटुवालले संस्थाको परिचय, कर्जा तथा बचतसम्बन्धी सेवा, कर्जा सदुपयोगिता र नियमित बचतको महत्वबारे जानकारी गराएका थिए । उनले समसामयिक वित्तीय घटनाक्रमबारे समेत सहभागीहरूलाई सचेत गराएका थिए ।

कार्यक्रममा शाखाअन्तर्गत सञ्चालित विभिन्न केन्द्रका ६१ जना केन्द्र प्रमुख तथा उपप्रमुख सहभागी थिए । गोष्ठीमा केन्द्र प्रमुखहरूबीच कर्जा प्रवाह, बचत परिचालन, संस्थाका सेवासुविधा तथा सदस्यहरूले भोगिरहेका वित्तीय समस्याका विषयमा छलफल गरिएको थियो ।

संस्थाका सुदूरपश्चिम प्रदेश प्रमुख अर्जुन बरालले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै केन्द्र प्रमुखहरूलाई संस्थाका गतिविधि र सदस्यहरूबीचको सम्बन्धको महत्वपूर्ण सेतुका रूपमा व्याख्या गरेका थिए । शाखा प्रमुख खगेन्द्र भट्टले स्वागत मन्तव्य राख्दै केन्द्रस्तरमा वित्तीय सेवा प्रभावकारी बनाउन केन्द्र प्रमुखहरूको भूमिका महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा आर्थिक वर्ष २०८२/०८३ मा शाखाअन्तर्गत सञ्चालित केन्द्रहरूमध्ये विभिन्न विधामा उत्कृष्ट ठहरिएका तीनवटा केन्द्र र तीन जना केन्द्र प्रमुखलाई सम्मानपत्र प्रदान गरिएको थियो । संस्थाका गतिविधिमा सक्रिय सहभागिता र उत्कृष्ट कार्यसम्पादनको कदर गर्दै उनीहरूलाई सम्मान गरिएको हो ।

कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष बलिराम चौधरी, इलाका प्रहरी कार्यालयका प्रहरी हवल्दार सत्यराज शर्मा, अत्तरिया क्लस्टर प्रमुख भीमबहादुर साउद, बदालपुर शाखा प्रमुख विष्णु बोहरा र अमौरी शाखा प्रमुख लक्ष्मण खत्रीलगायतको सहभागिता रहेको थियो ।

केन्द्र नं. ००६ की केन्द्र प्रमुख रम्भादेवी कडायतको अध्यक्षतामा आयोजित कार्यक्रममा शाखाका कर्मचारी तथा विभिन्न केन्द्रका प्रतिनिधिहरूको सहभागिता थियो । कार्यक्रममा सहायक कार्यकारी प्रमुख दिनेश कटुवाल र शाखा प्रमुख खगेन्द्र भट्टले सहभागीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए । ‘लघुवित्त आजको आवश्यकता’ भन्ने सन्देशसहित अध्यक्ष कडायतले कार्यक्रम समापन गरेकी थिइन् ।
