कञ्चनपुर । सुदूरपश्चिमका रैथाने खानाका परिकारलाई एउटै थालीमा समेटेर भीमदत्त नगरपालिका -३ ऐठपुरस्थित ममताज काजबारले ‘सुप थाली’ सुरु गरेको छ । बिहीबारदेखि सुरु गरिएको थालीमा बटुक, माडा, फापर तथा कोदोको रोटी, गतानी, भाङको चट्नी, भट्टकी चकानी, मेथी पलेउ, फाडोलगायतका परिकार समावेश छन् ।
थालीमा थारू समुदायका कुल्चा मुला र आलु कुल्चालगायतका परिकारसमेत राखिएको छ । स्थानीय स्तरमा उत्पादन हुने सामग्री प्रयोग गर्दै परम्परागत स्वाद र मौलिकता कायम राख्ने प्रयास गरिएको रेस्टुरेन्टका सञ्चालक धिरज चन्दले बताउनुभयो । उहाँका अनुसार खानालाई स्वादिष्टसँगै स्वस्थकर बनाउन फलाम तथा काँसका भाँडामा परम्परागत विधिबाट खाना पकाउने र जिम्बु, टिम्मुर, भाङको छोप तथा पहाडी तोरीको तेलजस्ता सामग्री प्रयोग गरिनेछ ।
चन्दले सुदूरपश्चिमका मौलिक खानालाई व्यवसायसँग जोडेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले ‘सुप थाली’ सुरु गरिएको बताउनुभयो । “खाना पेट भर्ने माध्यम मात्र होइन, यो संस्कृति, परम्परा र पहिचानसँग जोडिएको हुन्छ,” उहाँले भन्नुभयो, “ओझेलमा परेका हाम्रा मौलिक परिकारलाई खानाका पारखीमाझ पुर्याउन चाहन्छौँ ।”
सुदूरपश्चिमेली भाषामा चाडपर्वलाई ‘काजबार’ भन्ने गरिएकाले रेस्टुरेन्टको नामसमेत काजबार राखिएको चन्दले बताउनुभयो । रैथाने परिकारका लागि आवश्यक सामग्री जुटाउन पहाड तथा तराईका किसानसँग सम्पर्क विस्तार गरिएको उहाँको भनाइ छ । काठमाडौंमा उच्च शिक्षा अध्ययनपछि दूरसञ्चारसम्बन्धी कम्पनीमा १४ वर्ष जागिर गरेका चन्द सात वर्षअघि गृह नगर फर्किनुभएको थियो । आफ्नै व्यवसाय गर्ने सोचले ममताज पार्टी प्यालेस सुरु गरेका उहाँले करिब दुई महिनाअघि काजबार रेस्टुरेन्ट सञ्चालनमा ल्याउनुभएको हो ।