हरिश्चन्द्र बाग, कञ्चनपुर, १२ साउन । एनएमबी बैंक लिमिटेड, शाखा कार्यालय बेलडाँडीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत कञ्चनपुरका दुई सामुदायिक विद्यालयमा शैक्षिक तथा आधारभूत पूर्वाधार विकासका लागि सहयोग प्रदान गरेको छ । बैंकले एक विद्यालयमा शुद्ध पिउने पानी प्रणाली निर्माणका लागि आर्थिक सहयोग गर्दै उक्त प्रणाली हस्तान्तरण गरेको छ भने अर्को विद्यालयमा डिजिटल शिक्षण–सिकाइलाई प्रभावकारी बनाउन प्रोजेक्टर खरिदका लागि आर्थिक सहयोग उपलब्ध गराएको हो ।
बैंकले श्री सरस्वती माध्यमिक विद्यालय, झरना सागर मा विद्यार्थी, शिक्षक तथा कर्मचारीका लागि सुरक्षित शुद्ध पिउने पानीको व्यवस्था गर्न आर्थिक सहयोग प्रदान गरी शुद्ध पिउने पानी प्रणाली हस्तान्तरण गरेको छ । त्यस्तै, श्री सरस्वती जनता माध्यमिक विद्यालय, वैवाह मा आधुनिक तथा प्रविधिमैत्री शिक्षण प्रणालीलाई थप प्रभावकारी बनाउन प्रोजेक्टर खरिदका लागि आवश्यक आर्थिक सहयोग प्रदान गरिएको छ ।

सहयोग सामग्री हस्तान्तरणका लागि आयोजित कार्यक्रममा एनएमबी बैंकका प्रदेश प्रमुख बिरुराम जैसी, क्षेत्रीय प्रमुख सुशीलबहादुर सिंह, शाखा प्रबन्धक राजेन्द्र कार्की, विद्यालयका प्रधानाध्यापक जनकबहादुर थापा र दीपक बुढा, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, शिक्षक-शिक्षिका, विद्यार्थी, स्थानीय जनप्रतिनिधि तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
श्री सरस्वती माध्यमिक विद्यालय, झरना सागरका प्रधानाध्यापक जनकबहादुर थापाले बैंकको सहयोगबाट विद्यालयमा सुरक्षित शुद्ध पिउने पानीको व्यवस्था सुनिश्चित हुनुका साथै विद्यार्थी र शिक्षकका लागि स्वस्थ, सुरक्षित र सहज शैक्षिक वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । सामुदायिक विद्यालयको आवश्यकतालाई पहिचान गरी गरिएको सहयोगप्रति उहाँले बैंकप्रति आभारसमेत व्यक्त गर्नुभयो ।

त्यस्तै, श्री सरस्वती जनता माध्यमिक विद्यालय, वैवाहका प्रधानाध्यापक दीपक बुढाले प्रोजेक्टर सहयोगले विद्यालयमा डिजिटल शिक्षण-सिकाइलाई थप प्रभावकारी बनाउने बताउँदै आधुनिक प्रविधिको प्रयोगबाट विद्यार्थीहरूको सिकाइ क्षमता अभिवृद्धि हुने, कक्षाकोठामा पठनपाठन अझ आकर्षक तथा गुणस्तरीय बन्ने विश्वास व्यक्त गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्षले सामुदायिक विद्यालयको आवश्यकता अनुरूप निजी क्षेत्रबाट गरिएको सहयोगले शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण टेवा पुग्ने उल्लेख गर्दै यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गर्नुभयो । वडा सदस्यले स्थानीय तह, विद्यालय र निजी क्षेत्रबीचको सहकार्यले शिक्षाको विकासमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै एनएमबी बैंकले देखाएको सामाजिक उत्तरदायित्वको अभ्यास अनुकरणीय रहेको बताउनुभयो । यस्ता कार्यक्रमले समुदाय र विद्यालयबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने उहाँको भनाइ थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै एनएमबी बैंकका प्रदेश प्रमुख बिरुराम जैसीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएका यस्ता सहयोगले समुदायको दीर्घकालीन विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो । शिक्षा क्षेत्रमा गरिएको लगानीलाई भविष्य निर्माणको आधारका रूपमा लिँदै सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि, विद्यार्थीको सिकाइ वातावरण सुधार तथा आधुनिक प्रविधिमार्फत शिक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ बैंकले निरन्तर सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।
बैंकका शाखा प्रबन्धक राजेन्द्र कार्कीले झरना सागरस्थित विद्यालयमा शुद्ध पिउने पानी प्रणाली सञ्चालनमा आएपछि विद्यार्थी, शिक्षक तथा कर्मचारीले सुरक्षित खानेपानीको सुविधा सहज रूपमा प्राप्त गर्ने र वैवाहस्थित विद्यालयमा प्रोजेक्टरको प्रयोगबाट डिजिटल माध्यममार्फत पठनपाठन थप प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो । साथै, एनएमबी बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सहयोग वितरणमा मात्रै सीमित नराखी समुदायको दिगो विकाससँग जोडेर अघि बढाइरहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।

यस अवसरमा क्षेत्रीय प्रमुख सुशीलबहादुर सिंहले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामाजिक विकासका क्षेत्रमा बैंकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिँदै समुदायसँगको सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
एनएमबी बैंक लिमिटेड, शाखा कार्यालय बेलडाँडीले समुदायमा वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न समुदायमा समुदाय-आधारित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको छ । बैंकले विद्यालयहरूमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रमसमेत नियमित रूपमा सञ्चालन गर्दै बचतको महत्त्व, जिम्मेवार वित्तीय व्यवस्थापन, डिजिटल बैंकिङ सेवाको सुरक्षित प्रयोग, वित्तीय अनुशासन तथा आधुनिक बैंकिङ प्रणालीबारे जानकारी प्रदान गरिरहेको जनाएको छ ।
शाखा प्रबन्धक कार्कीले यस्ता कार्यक्रममार्फत बालबालिकादेखि समुदायसम्म वित्तीय चेतना विस्तार हुनुका साथै जिम्मेवार आर्थिक व्यवहारको विकासमा उल्लेखनीय योगदान पुगिरहेको बताउनुभयो । सामाजिक उत्तरदायित्व र वित्तीय साक्षरतालाई सँगसँगै अघि बढाउँदै समुदायको समग्र विकासमा योगदान पुर्याउने बैंकको अभियान आगामी दिनमा पनि निरन्तर रहने उहाँले बताउनुभयो ।