अम्बादत्त जोशी, कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२, बङ्ककी असहाय एकल महिला परू चन्द र उनका तीन साना सन्तानलाई स्थानीय समाजसेवी युवाहरूले खाद्यान्न, सरसफाइ सामग्री तथा पङ्खा सहयोग गरेका छन् । समाजसेवी युवा भीमबहादुर बुढा, अनिल देउवा र ईशान रानाले व्यक्तिगत रूपमा रकम सङ्कलन गरी करिब ८ हजार रुपैयाँभन्दा बढी मूल्य बराबरको राहत सामग्री उपलब्ध गराएका हुन् ।
शुक्रबार वडा नं. २ का अध्यक्ष अर्जुन सिंह साउदको उपस्थितिमा परू चन्दकै निवासमा सहयोग सामग्री हस्तान्तरण गरिएको हो । सहयोग स्वरूप चामल, दाल, तेल, नुन, साबुन, ब्रस, कलगेटलगायत दैनिक उपभोग्य सामग्री तथा एक थान पङ्खा प्रदान गरिएको थियो ।

श्रीमान्को निधनपछि तीन सन्तानको पालनपोषणका लागि दैनिक ज्यालादारी मजदुरी गर्दै आएकी परू चन्द आर्थिक अभावसँग सङ्घर्ष गर्दै आइरहेकी छन् । उनको कठिन जीवनयापनलाई केही सहज बनाउने उद्देश्यले व्यक्तिगत पहलमा सहयोग गरिएको समाजसेवी युवाहरूले बताएका छन् । उनीहरूले सानो सहयोगले पनि विपन्न परिवारको दुःखमा साथ दिन सकिने विश्वासका साथ सामाजिक उत्तरदायित्व निर्वाह गर्ने प्रयास गरिएको उल्लेख गरे ।
वडा अध्यक्ष अर्जुन सिंह साउदले यस्ता मानवीय कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै अन्यलाई पनि सहयोगका लागि प्रेरित गर्ने विश्वास व्यक्त गर्दै सहयोगी युवाहरूको प्रशंसा गरे । सहयोग प्राप्त गरेपछि परू चन्दले अप्ठ्यारो परिस्थितिमा प्राप्त सहयोगले आफू र आफ्ना बालबालिकालाई ठूलो राहत तथा हौसला मिलेको बताउँदै सहयोगीप्रति आभार व्यक्त गरिन् ।